Logo

समाचार

पत्रकार स्व. इन्द्र लोहनीकी बहिनी विजयालाई क्यान्सर, सहयोगका लागि अपिल



काठमाडौँ, वैशाख ९ गते । झापा घर भइ हाल काठमाडौँको पेप्सीकोलामा बस्दै आउनुभएकी विजया लोहनीले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । पत्रकार स्व. इन्द्र लोहनीकी कान्छी बहिनी विजयाले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देशविदेशमा रहनुभएका नेपालीहरूसँग आर्थिक सहयोगका लागि अनुरोध गर्नुभएको हो ।

उहाँ तीन वर्षयता क्यान्सर रोगसँग लडिरहनु भएको छ । उहाँले भन्नुभयो, “उपचार प्रक्रिया महँगो छ । तर, उपचार गर्दा रोग निको हुनसक्छ भन्ने डाक्टरको सल्लाह छ । त्यसैले मैले सबैलाई आर्थिक सहायताका लागि आग्रह गरेकी हुँ ।”

उहाँलाई तीन वर्ष अगाडि पाठेघरको क्यान्सर देखियो । त्यसको १० महिनापछि फोक्सोमा पनि क्यान्सर देखिएको थियो । त्यसलगत्तै क्यान्सर ठुलो आन्द्रामा सर्‍यो । ललितपुरको हरिसिद्धि अस्पतालमा उपचार गरेपछि स्वास्थ्यमा सुधार नआएको उहाँले बताउनुभयो ।

क्यान्सरपीडित विजया एकवर्षयता भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँका अनुसार अढाई महिनाको अन्तरालमा एकपटक दिल्ली जानुपर्छ । उहाँले भन्नुभयो, “तीन वटा किमो गरेर ७५ दिनमा एकपटक दिल्ली जानुपर्छ । त्यहाँ स्वास्थ्य परिक्षण हुन्छ । औषधि दिल्लीबाटै ल्याएर बी एन्ड बी अस्पतालमा किमो लिने गरेकी छु ।”

मध्यम् वर्गीय किसान परिवारमा हुर्किनुभएकी लोहनी उपचारकै क्रममा एक करोड ५० लाख रुपियाँ ऋणमा हुनुहुन्छ । देश र विदेशमा बस्ने उहाँका साथीहरूले सहयोग गरिरहनुभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुवै छोरा पढ्दैछन् । म बिरामी भएपछि ठुलो छोराको पढाइ छुट्यो । तर साथीहरूले निर्ब्याजी आर्थिक सहयोग गरिरहनुभएको छ ।”

उहाँले एकपटक दिल्ली जाँदा सम्पूर्ण परिक्षणको तीन लाखदेखि पाँच लाख रुपियाँ लाग्ने बताउनुभयो । उहाँका अनुसार औषधिसहित अन्य मासिक खर्च एक लाख रुपैयाँ छ । उहाँले भन्नुभयो, “५३ वटा किमो लिइसकेकी छु । अब ठुलो आन्द्राको शल्यक्रिया गर्नुपर्ने छ, त्यसका लागि चार लाख रुपैयाँ लाग्छ । सबैमा मेरो अनुरोध छ, सकेको सहयोग गरिदिनुहोला ।”

क्यान्सरले स्वास्थ्यमा गम्भीर समस्या आएपछि लोहनीले अहिले आफ्नो दाजुलाई सम्झिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “रोग त लाग्थ्यो होला, तर दाजु हुनुभएको भए रोग लागे पनि मेरो उपचार सहजै हुन्थ्यो होला ।”

क्यान्सरपीडित विजया लोहनीलाई सहयोग गर्नका लागि उहाँको प्रस्तुत बैङ्क खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।

विजया लोहनी

सनराइज बैङ्क लिमिटेड

खाता नं. ०३२०६४८४७८२०२००१

फोन नं. ९८४२०६६२५४

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल