Logo

राजनीति

मिसन मंसिर ४ : एमाले अध्यक्ष ओली निर्वाचन लक्षित अभियानमा, सुदूरपश्चिमबाट फर्किएलगत्तै पूर्वमा



काठमाडौं, भदौ १६ गते । नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओली आज अपरान्ह झापा जाँदैछन् । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेताहरूलाई पार्टी प्रवेश गराएको एकदिनपछि ओली झापा जाने भएका हुन् ।

अपरान्ह तीन बजे भद्रपुर विमानस्थल हुँदै अध्यक्ष ओली झापा जाने उनको सचिवालयले जनाएको छ । एमाले प्रदेश कमिटी सदस्य एवं अध्यक्ष ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाका अनुसार आजै साँझ आफ्नो निर्वाचन क्षेत्र झापा ५ का बुद्धिजीवी तथा शिक्षकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यसैगरी, विपक्षी पार्टीमा रहेका विभिन्न समूहलाई एमालेमा प्रवेश गराउने कार्यक्रम पनि छ । खासगरी कार्यकर्ता र मतदाताहरूसँग व्यक्तिगत भेटघाटलाई प्राथमिकता दिइने पनि सचिवालयले जनाएको छ । अध्यक्ष ओली साँझ दमकस्थित निजी निवास दमक ९ मा बस्नेछन् ।

शुक्रबार मोरङको सुन्दर हरैंचामा हुने नेपाल जेसिजको कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रको सीमावर्ती गाउँ गौरीगञ्ज पुग्नेछन् । त्यहाँ विभिन्न पार्टी त्यागेर एमाले प्रवेश गर्नेलाई स्वागत र सम्बोधन गर्ने कार्यक्रम छ ।

उक्त दिन साँझ पनि मतदाता र कार्यकर्ता भेटघाटलाई निरन्तरता दिनेछन् । केही विपक्षी दलका नेता तथा कार्यकर्ताहरुले पनि अध्यक्ष ओलीसँग भेटका लागि समय मागेका छन् । त्यसका लागि समय व्यवस्थापन गरिने सचिवालयले जनाएको छ ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल