Logo

राजनीति

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ‘हिन्दु राष्ट्र अभियान’ घोषणा, पहिलो दिन दुई करोडको प्रतिबद्धता



काठमाडौं, भदौ ३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग संकलन अभियान थालेको छ । काठमाडौंमा आज आयोजित एक समारोहबीच अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन् ।

वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आह्वान सहित आजदेखि कोष वृद्धि अभियान सुरु गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका हुन् ।

अकारण र जनतालाई गुमराहमा राखेर जनअनुमोदन बिना नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने दुष्कार्य भएकाले सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको प्रवक्ता श्रेष्ठले बताए ।

राप्रपाले पार्टीका महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा अभियान अघि बढाउनेछ । यो अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ ।

युवा नेतृ खुश्बु ओलीका अनुसार पहिलो दिन दुई करोड रुपैयाँको प्रतिवद्धता आएको छ । कोषमा रकम पठाउनका लागि दाताले बैंक खातामा नगद, चेक जम्मा गर्न वा डिजिटल पेमेन्ट सिस्टम अन्तर्गत ई–सेवा, खल्तीसहितका एप्सको प्रयोग गर्न सकिने छ ।

अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा खाता खोलेको छ । बैंकको खाता नम्बर ०४७००१०१०२९०९१०००००१ मा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पे बाट रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अन्तरवार्ता (भिडियो)

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल