Logo

आर्थिक

साझाका बिजुली बसले सेवा थाल्दै, यस्ता छन् विशेषता



काठमाडौं, आषाढ २२ गते । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस भोलि विहीबारदेखि काठमाडौंंमा सञ्चालन हुने भएको छ । पहिलो चरणमा ल्याइएका बिजुली बस परीक्षण गरेर नम्बर प्लेट र रुट समेत लिएर सञ्चालनमा ल्याउन लागिएको हो ।

विहीबार विहान ११ बजे साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गर्नेछन् । यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ ।

चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा यी बस तयार भएका हुन् । चीन मै ‘ग्रेडबिलिटी टेस्ट’ उकालो तान्न सक्ने क्षमता परीक्षण गरेपछि नेपालमा ल्याइएको थियो ।

अब बाँकी ३७ वटा पनि आउने साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिए । उनका अनुसार सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएकाले यी बसले काठमाडौंमा भरपर्दो सेवा दिने विश्वास व्यक्त गरे ।

सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो । साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ । अहिले ९ मिटर लामो बस किनिएको हो ।

यसपछि १२ मिटर लामा र अन्तर प्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ । अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आएका छन् । यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन् । अपांगहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ ।

क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्ने जाने साझाले जनाएको छ । बस बिक्रेता कम्पनीले चार्जसहित ५ वर्षको सबैखालको मर्मतको सुविधा पनि दिनुपर्ने गरी खरिद सम्झौता भएको छ ।

सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले साझालाई बसहरु किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । साउन २०७६ मा यातायात मन्त्रालयले हतार(हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो ।

स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ असोज २०७६ मा ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीं रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि माघ २०७६ मा साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो ।

तर, माघ २०७७ मा सरकारले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो । सरकारले रकम फिर्ता लगेपछि बाग्मती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए ।

सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिएको थियो । पछि सरकारले साझालाई नै पैसा फिर्ता गरिदिएको थियो । सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७४ वटा ठूला बस छन् ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल