Logo

आर्थिक

फोहोरबाट मोहर बनाउन वालिङबाट सिकौं



काठमाडौं, जेष्ठ ३१ गते । अधिकांश स्थानीय सरकारको टाउको दुःखाइको मुख्य विषय हो, ‘फोहोर व्यवस्थापन।’ किन त ‘आइडिया’ को कमी। नपत्याए, स्याङजाको वालिङ नगरपालिका हेरौं। जहाँ फोहोर समस्या होइन, मोहर बनिरहेको छ। नगर पनि सफा, मोहर पनि कमाई। भएन त काइदा सिक्ने होइन त वालिङबाट ।

वालिङले फोहोरमैलाको उपयोग गर्ने र त्यसबाट आयआर्जन पनि कसरी गर्ने भनेर फरक कोणबाट सोच्यो। उसले जुक्ति निकाल्यो, सबैभन्दा पहिले फोहोरमैला वर्गीकरण गर्ने। त्यसैकारण, उसले संकलित फोहोरमैला कुहिने र नकुहिने वर्गमा छुट्टयायो। नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिनमा संकलन गर्छ। दैनिक ५ टन फोहोर उठ्ने गरेको नगरपालिकाका कर्मचारी बताउँछन्।

कुहिने वस्तुलाई कम्पोष्ट मल बनाउन उपयोग गर्‍यो। कम्पोष्ट मल केन्द्रबाटै बिक्री हुन्छ। नकुहिने सामग्री शिशाजन्य, फलाम, प्लास्टिक, कपाल जस्ता वस्तुलाई पनि वर्गीकरण गर्दै बजारीकरण गर्‍यो। नकुहिने वस्तुहरू उद्योगका कच्चा पदार्थ बन्न थाले। यसबाट वालिङ नगरपालिकाले ‘मोहर’ कमाउन थाल्यो। बर्सेनि लाखौं रुपैयाँ नगरपालिकालाई आम्दानी हुन्छ।

त्यसकै कमाइबाट एक दर्जन कर्मचारीलाइ पारिश्रमिक र अरू सेवा दिन पुग्छ। नगरपालिकाका अनुसार गतवर्ष मात्रै फोहोरमैला बिक्रीबाट २५ लाख रुपैयाँ आम्दानी भएको थियो। देशभरका २ सय १७ नगरपालिकामध्ये वालिङ सर्वोत्कृष्ट नगरका रूपमा पुरस्कृत पनि भइसकेको छ। संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा सर्वोत्कृष्ट सफा नगरका रूपमा वालिङलाई पुरस्कृत गरेको छ। नगरपालिकाको ‘सरसफाइ केन्द्र’ अरूका लागि सिकाइ केन्द्र बनेको छ।

वालिङ नगरपालिका १ अर्मादी पुछार पौवामा नगरपालिकाको सरसफाइ केन्द्र छ। जुन आँधीखोलाको किनारको बगरमा छ। नगरपालिकाले पूर्णामृत भवानी माध्यमिक विद्यालयको ३२ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर केन्द्र निर्माण गरेको हो। केन्द्रमा दैनिक ४ जना कुचिकार र ५ जना कर्मचारीले फोहोर वर्गीकरण गर्छन्।

नगरले मेसिनबाट फोहोरमैला वर्गीकरण गर्ने गरी तयारी थालेको छ। फोहोरमैला व्यवस्थापनमा नगरपालिका र विभिन्न दातृ निकायको सहयोग छ। सरसफाइका लागि आवश्यक भौतिक संरचना पनि बनाइएका छन्। केन्द्रमा एकातिर कुहिने वस्तु र कम्पोष्ट मल राखिन्छ। अर्कातर्फ फलाम, सिसा, प्लास्टिक लगायतका नकुहिने वस्तु छुट्ट्याएर राखिन्छ। केन्द्र वरिपरि फलफूल र अरू रूख बिरुवा लगाइएका छन्। जहाँको प्राकृतिक वातावरण पनि सुन्दर छ। एकद्धार प्रणालीबाट फोहोरमैला व्यवस्थापन हुँदै आएको छ। एकीकृत फोहोरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिका तहमा सञ्चालनमा आएको यो प्लान्ट नेपालकै पहिलो हो।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल