Logo

समाचार

अमेरिकामा तालिम, सुडानमा काम, प्रहरीमा सधैं नम्बर ‘वान’ : २९औं महानिरीक्षक धीरजप्रताप सिंह



काठमाडौँ, वैशाख १८ गते । नेपाल सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको खानेपानीमन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो।

सिंह नेपाल प्रहरीको सेवामा ११ चैत २०४९ मा प्रवेश गर्नुभएको हो।  सेवा प्रवेश गर्दा नै नम्बर एक बन्न सफल सिंह हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख हुनुहुन्छ।

महानिरीक्षक पदमा नियुक्त भएसँगै गृह मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाणले सिंहको कार्यकाल सफल भएको चर्चा गर्नुभयो। यसबाट पनि सिंहको कार्यसफलता कस्तो रह्यो भन्ने झल्किन्छ।

गृहमन्त्रीले भन्नुभयो, ‘हाम्रो कारणले कहिलेकाहीँ विवादमा आउनुभयो होला तर आफ्नो कार्यक्षेत्र र जिम्मेवारीका कारण कुनै पनि विवादमा आउनुभएन।’

बढुवा हुने क्रममा सिंहले प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवासम्म अग्रता कायम राख्न सफल हुनुभयो। २०६१ मा डीएसपी हुँदा पनि उहाँ नम्बर एक नै बनेर बढुवा हुनुभएको थियो। २०६९ मा एसपी हुँदा पनि सिंह पहिलो नम्बर नै बन्न सफल हुनुभयो।

उहाँको बढुवा हुने क्रममा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बढुवा हुँदा दोस्रो नम्बरमा पर्नुभयो। तत्कालीन सरकारले सिंहभन्दा दुई ब्याचपछिका विश्वराज पोखरेललाई अगाडि बढाएकाले सिंह पछि पर्नुभयो। अहिलेको सरकारले विगतको सरकारले गरेको गल्तीलाई सच्चाएर सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।

सिंह नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा रहँदा उहाँको नेतृत्व अब्बल मानिएको छ। जोखिमयुक्त ठाउँको कमाण्ड सम्हालेर अगाडि बढ्न उहाँ सफल हुनुभएको छ। सिंह प्रहरीमा व्यावसायिक र निडर प्रहरी अधिकृतको रुपमा चिनिनु हुन्छ।

महानगरीय अपराध महाशाखामा रहँदा ठूला अपराध घटनाको सफल अनुसन्धान गरेर कतिपय हत्या योजनालाई विफल पार्न सफल सिंहले उपत्यकामा हुने अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

प्रदेश प्रहरी कार्यालय जनकपुरमा रहँदा तस्करी रोक्न सफल सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा रहँदा ललिता निवास प्रकरण, सिभिल सहकारी हिनामिनालगायत दर्जनौँ बैङ्किङ कसुर तथा अपराधको अनुसन्धानमा संलग्न हुनुभयो।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा गर्दा राजनीतिक प्रभावका कारण सिंहलाई पछाडि पारिए पनि सफल अनुसन्धानबाट सिंहले आफ्नो कार्य सम्पादनलाई प्रहरीमा दोस्रो स्थानमा झर्न दिनुभएन।

शिक्षा र तालिम

सिंहले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ। सुरक्षा र व्यवस्थापन सम्बन्धी उहाँले विभिन्न तालिम लिनुभएको छ। अपराध अनुसन्धान, व्यवस्थापन, विशेष व्यक्तिको सुरक्षा, मानवस्रोत व्यवस्थापन सम्बन्धी तालिम लिएको अनुभव उहाँसँग छ।

एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी र अमेरिकाबाट अपराध तालिम लिनुका साथै उहाँसँग शान्ति सुरक्षाका लागि पूर्वी टिमोर र सुडानमा गएर काम गर्नुभएको अनुभव छ।

विभागीय जिम्मेवारीका क्रममा उहाँले गोरखा, नुवाकोट, दोलखा, पर्सा र दाङ जिल्लामा प्रहरी प्रमुख भएर काम गर्नुभयो। सिंहले संघीय प्रहरी इकाई कार्यालय बागमती, महानगर अपराध महाशाखा, टेकु, लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरसँगै डीआईजी बनेपछि प्रदेश प्रहरी कार्यालय, जनकपुर, अपराध अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा काम गर्नुभएको छ।

दैलेख जिल्लाको बिजौरामा स्थायी घर हुनुभएका सिंह प्रहरीभित्र तल्लो तहका कर्मचारीमा विशेष ध्यान दिने स्वभावका हुनुहुन्छ। सिंह प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै नेपाल प्रहरीमा नयाँ उत्साह छाएको छ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल