Logo

समाचार

७७ जनाको ‘ज्यान जोगाउने’ क्याप्टेन शेर्पासहित ४ जनालाई किन ‘ड्यूटी अफ’मा राख्यो बुद्ध एयरले ?



काठमाडौं– विराटनगर उडान भर्ने क्रममा ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुद्ध एयरकाे जहाजले मंगलबार बिहानबाटै उडान शुरु गरेको छ ।

बुद्ध एयरका अनुसार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इण्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन शुरु गरेको हो ।

बुद्धका सिनियर क्वालिटी एसुरेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठले उडानका क्रममा ल्यान्डिङ गियरको प्राइमरी इन्डिकेटरमा समस्या देखिएको बताए । तर, इन्जिनियरहरूले जाँच गर्दा कुनै त्रुटि नभेटिएको उनले बताए ।

सोमबार समस्या देखिएको भनिएको जहाजको पूरै परीक्षण गरेको बताउँदै श्रेष्ठले केही खराबी नदेखिएपछि ह्यांगरबाट उडानमा फर्काएको जानकारी दिएका हुन् ।

जहाजलाई ह्यांगरमा ज्याक राखेर उठाएको र १०–१२ पटक अन एयरमा जस्तै ल्यान्डिङ गियर (पाङग्रा) झारेर बन्द गर्दा पनि समस्या नदेखिएको उनले बताए । ‘केही समस्या देखिएन, नर्मल नै देखियो,’ श्रेष्ठले भने ।

इन्जिनियरले जहाज ठीक भएको रिपोर्टिङ नियमनकारी संस्था हवाई सुरक्षा विभागलाई गरेपछि जहाज उडानको अनुमति पाएको हो । मंगलबार बिहान साढे १० बजेसम्म उक्त एटिआरले काठमाडौं–सिमरा दुईपटक उडान गरेर फेरि काठमाडौंबाट पोखरातर्फ लागिसकेको छ ।

बुद्ध एयरले मंगलबार त्यो जहाजबाट नेपालगञ्ज, पोखरा, जनकपुर र भैरहवा गरी ७ वटा उडान तालिका बनाएको छ । सोमबारको विराटनगरको उडानमा संलग्न क्याप्टेन आङ गेलु शेर्पा, को–पाइलट अमन अन्सारी र दुई जना एयरहोस्टेसलाई ‘डियुटी अफ’मा राखिएको छ ।

यसैबीच, सोमबार पोखरातर्फ उडेको बुद्धको ‘अल्फा जुलियट अक्सर’ एटिआर पनि उडानमा फर्काइएको छ । उक्त विमानमा कार्गो राखिने कम्पार्टमेन्टमा धुँवा देखिएको संकेत ककपिटमा देखिएको थियो । श्रेष्ठका अनुसार इन्जिनियरहरूले जाँच्दा केही समस्या देखिएको थियो ।

त्यो जहाजको स्मोक डिटेक्टर फल्ट देखाउने कम्पोनेन्ट फेरेको उनले बताए । त्यहाँ जहाजमा पनि अहिले कुनै समस्या नरहेको उनले बताए ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल