Logo

समाचार

उपत्यकाबाट ‘हराएका’ ६३ मूर्ति कहाँ छन् ?



ललितपुर, १ असोज – पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले नेपालबाट हराएका ६३ मूर्ति स्वदेश फर्काइएको बताएका छन् । नेपाल सम्पदा पुनर्जागरण अभियानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा गैरकानुनी रुपमा बाहिर पुगेका २१ मूर्ति फर्कने क्रममा रहेको बताएका हुन् ।

यस कार्यका लागि प्रक्रिया अघि बढिरहेको पनि गौतमले जानकारी गराएका छन् । चोरी भएर अन्य मुलुकमा पुगेका मूर्ति सरकारले त्यहाँकै खर्चमा नेपाल ल्याउने नियम बनाउन जरुरी रहेको पनि उहाँले औँल्याएका छन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वडा नम्बर–१६ पटकोबाट २०४२ सालमा चोरिएको कमलाज विष्णु अर्थात लक्ष्मीनारायणको मूर्ति यही वैशाख १६ गते आफूहरुले पाटन दरबार सङ्ग्रहालयमा फर्काउन सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।

‘यस मूर्ति पुनःस्थापना गरिसकेपछि फेरि हराउन सक्ने भन्दै सिसिटिभी, सडकबत्ती राख्ने खर्च महानगरपालिकाले गर्नेछ,’ महर्जनले भने ।

यसैगरी, पाटनबाट हराइरहेको उमामहेश्वरको मूर्ति फिर्ता गराउन समेत महानगरपालिकाले खर्च व्यवस्था गर्ने महर्जनले विश्वास दिलाएका छन् ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भेटिएका मूर्ति वास्तविक हुन् कि होइनन् भन्ने विचार गरेर मात्र ल्याउन सुझाव दिएका छन् । उनले भने, ‘मूर्ति मानव सभ्यताको चिनो भएकाले अभियानकर्ताले जेनेभा सम्झौता बमोजिम काम गर्नुपर्ने हुन्छ ।’

अभियानका सञ्चालक रोशन मिश्रले आफूहरुले धेरै सङ्ग्रहालयलाई पत्राचार गरी चोरीएका मूर्ति फर्काउन अनुरोध गरेको बताएका छन्।

महानिर्देशक गौतम र प्रमुख महर्जनले संयुक्त रुपमा ललितपुरमा आज सो अभियानको शुभारम्भ गरेका छन् ।

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल