Logo

आर्थिक

अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउँछु : अर्थमन्त्री



काठमाडौं, ११ साउन – अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतङ्क सिर्जना भएको बताएका छन्।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूसहित अर्थविद्हरुसँग आज आयोजित छलफलमा मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको स्पष्ट पारेका हुन्।

‘श्वेतपत्र सार्वजनिक गर्दा कसैलाई आरोपित गर्ने पुरानो चलन तोड्न चाहन्छु। मैले यसो गर्छु र उसो गर्छु भनेर घमण्ड देखाउने पनि हैन। जिम्मेवारी लिँदाको वास्तविक चित्रमात्र देखाउन खोजेको हुँ,’ उनले भने, ‘यसैलाई लिएर बजारमा आतङ्क सिर्जना भएको देखियो। आतङ्कित नहुन अनुरोध गर्छु।’

मन्त्री शर्माले पूँजीगत खर्च बढाउन अर्थविद्हरूको सुझावबमोजिम नै तालिका बनाएर अघि बढ्ने योजना रहेको जानकारी दिए। शर्माले विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरीद ऐनका परम्परागत प्रावधानहरू बाधक रहेको टिप्पणी गर्दै त्यसलाई समयानुकूल बनाउन प्रयत्न गर्ने बताएका छन्।

उनले विकास निर्माणको काममा जनपरिचालनको मोडालिटी अपनाउनुपर्ने आवश्यकता रहेको बताए। जनसहभागिता र समुदायमा आधारित विकास निर्माणको मोडालिटीले विकासको परम्परागत ढंगमा परिवर्तन आउने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले भने, ‘जनताले स्वामित्व स्वीकार नगरेसम्म विकास निर्माणको कामले गति लिन सक्दैन, त्यसैले जनपरिचालनको मोडालिटी बनाउन आवश्यक देखेको छु।’

छलफल कार्यक्रममा अर्थविद्हरूले दिएका सुझावहरूमध्येबाट केही न केही परिणाममुखी काम गरिने शर्माले बताए। पारदर्शिताको मामिलामा कसैसँग सम्झौता नगर्ने अठोट व्यक्त गर्दै उनले जिम्मेवारीमा रहँदासम्म दृढ इच्छाशक्तिका साथ काम गर्ने बताए।

कार्यक्रमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रस्तुति गरे। उनले गत आर्थिक वर्षका लागि ४ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर अनुमान गरिएको तर कोभिडको दोस्रो लहरका कारण त्यो लक्ष्य प्राप्त हुन नसक्ने अवस्था रहेको बताएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ११ श्रावण २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल