Logo

आर्थिक

विश्व बैंक अन्तर्गतको बिजनेस अक्सिजन प्रालिले जेनिस सोलुसनमा गर्‍याे करोडौंको लगानी



काठमाडौं – विश्व बैंकको आइएफसी अन्तर्गत बिजनेस अक्सिजन प्रालिले नेपालकै पहिलो क्लाउड कन्सलटेन्सी कम्पनी, जेनिस सोलुसन प्रालिमा झन्डै साढे पाँच करोड रुपियाँ बराबरको लगानी गर्ने भएको छ।

सन् २०१९ मा स्थापना गरिएको जेनिस सोलुसन प्रालि ब्रिटेनमा मुख्यालय भएको जेनिस सोलुसन लिमिटेडको पूर्ण स्वामित्व रहेको वैदेशिक लगानी अन्तर्गत गठित नेपाली कम्पनी हो।

बिजनेस अक्सिजन प्रालि विश्व बैक अन्तर्गत रहेको आइएफसीको लगानी रहेको नेपालकै पहिलो निजी इक्विटी फण्ड हो। उक्त कम्पनीको व्यवस्थापन ह्वाइट लोटस सेन्टर प्रालि अन्तर्गतको डब्लुएलसी भेन्चर्स प्रालिले गरिरहेको छ। जेनिस सोलुसनले उक्त लगानी नेपालमा ‘हाइब्रिड क्लाउड’ शुरु गर्न र कम्पनीद्वारा प्रदान गरिने सेवाहरुमा उल्लेख्य वृद्धि गर्न चालु पूँजीको रुपमा उपयोग गर्ने छ।

‘बिजनेस अक्सिजन प्रालि जस्तो प्रतिष्ठित कम्पनीसंग सहकार्य गर्दै लगानी भित्र्याउन पाउँदा हामीलाई निकै खुसी लागेको छ। यो लगानीले विश्वकै अत्याधुनिक प्रविधि भित्र्याएर नेपालको डिजिटल रुपान्तरणमा योगदान पुराउने तथा दक्ष जनशक्ति तयार गर्ने हाम्रो लक्ष प्राप्त गर्न बलियो मदत पुग्ने मैले विश्वास लिएको छु,’ जेनिस सोलुसन लिमिटेडका संस्थापक अन्जनी फुयालले भने।

जेनिस सोलुशन लिमिटेडले अस्ट्रेलिया, भारत, नेपाल, पाकिस्तान र बांगलादेशमा रहेका आफ्ना कार्यालयहरुद्वारा क्लाउड कन्सल्टिंग, मनिटरिंग टुल्स, प्रडक्टिभिटी सुइट्स, भिडियो कन्फरेंसिंग, डिजिटल पेमेन्ट्स लगायतका सेवाहरु प्रदान गर्दै आएको छ। नेपालमा अमेजन वेब सर्भिसेस, गुगल, फेसबुक, माइक्रोसफ्ट, अलि बाबा क्लाउड, जुम र नागियोस लगायतका विश्वचर्चित ब्रान्डहरुलाई नेपालमा ल्याएकोले पनि सो कम्पनी चर्चित छ।

‘नर्डिक मुलुकहरुमा सेवा विस्तार गर्ने योजना अनुरुप हामीले फिनल्याण्ड र संयुक्त राज्य अमेरिकामा पनि छिट्टै हाम्रो कार्यालय हरु खोल्दै छौँ। यी नयां कार्यालयहरुले हामीलाई हाम्रो विश्वव्यापी सम्पर्क संजाल विस्तार गर्न र हाम्रा ग्राहकहरुलाई अरु भरपर्दो सेवा पुर्याउन मदत पुग्ने छ भन्ने हामीले विश्वास लिएका छौं,’ फुयालले भने, ‘हाम्रो कम्पनीलाई अरु अगाडि बढाउन हामीले गैरआवासीय नेपालीहरुका साथै सूचना प्रविधि क्षेत्रप्रति चासो भएका अन्य व्यक्ति वा कम्पनीहरुको लगानी स्वागत गर्ने छौं।’

त्यस्तै बिजनेस अक्सिजनका अध्यक्ष तथा प्रमुख कार्यकारी सद्धान्त राज पाण्डेले भने, ‘सूचना प्रविधि उद्योग वर्तमान विश्वमा सबैभन्दा छिटो विकास भै रहेको उद्योग हो र हामी विश्वस्तरीय प्रविधि तथा विश्वचर्चित ब्रान्डहरु नेपाल भित्र्याउन सफल कम्पनी जेनिस सोलुसनमा लगानी गर्न पाउँदा निकै उत्साहित छौं। यो कम्पनीले आफ्नो स्थापनादेखि नै र लकडाउनको स्थितिमा पनि सराहनीय काम गर्दै आएको छ। यो लगानीबाट जेनिस सलुसनले आफ्नो सेवाप्रवाहमा वृद्धि गरी कम्पनीको पनि उल्लेख्य मूल्यवृद्धि हुनेछ भन्नेमा हामी विश्वस्त छौं।’

पोखरेल प्रमुख कार्यकारीमा नियुक्त

यसैबीच जेनिस सलुसनले श्री प्रसन्न पोखरेललाई नेपालस्थित आफ्नो कार्यालयको प्रमुख कार्यकारीमा नियुक्त गरेको छ। सूचना प्रविधि तथा सूचना प्रविधिमा आधारित सेवा क्षेत्रमा बीस वर्ष भन्दा लामो अनुभव भएका पोखरेल कर्पोरेट क्षेत्रका एकजना स्थापित व्यक्तित्व हुन्। नेपालमा भाएनेटको सिइओको रुपमा उक्त कम्पनीको चमत्कारिक वृद्धिमा उहाँको उल्लेख्य भूमिका रहेको थियो। संगठनको रुपान्तरण, सर्वोत्कष्ट सञ्चालन, प्रोसेस रिइञ्जिनियरिङ लगायतका क्षेत्रमा उनको बलियो ट्रयाक रेकर्ड छ।

जेनिस युके अब प्लेमथ साइन्स पार्कमा

जेनिस युकेले हालै आफ्नो विश्व मुख्यालय दक्षिण पश्चिम इंगल्याण्डको प्लेमथ साइन्स पार्कमा सारेको छ। प्लेमथ साइन्स पार्क अनुसन्धान, व्यापार तथा प्रयोगशालामा आधारित नवप्रवर्तनका लागि विश्व भरि नै नाम कहलिएको केन्द्र हो।

त्यहाँ थुप्रै अन्तरराष्ट्रिय व्यापारिक कम्पनीका साथै स्टार्ट अप कम्पनीका कार्यालयहरु पनि रहेका छन्। प्लेमथ साइन्स पार्कमा सरे पछि जेनिस युकेलाई आफ्नो महत्वाकांक्षी वृद्धि योजनालाई सफल पार्न त्यस क्षेत्रमा रहेका कम्पनीहरुसंग सम्पर्क विस्तार गर्न मदत पुग्ने छ।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल