Logo

समाचार

लकडाउन पनि ६१ जनाको परिवारलाई कसरी सम्हाल्दैछिन् समाजसेवी दीक्षा चापागाई?



काठमाडौं, २२ जेठ – ‘सेवा हि परमो धर्मः’ अर्थात् सेवा नै परम धर्म हो।

पूर्वीय संस्कृति र सभ्यतामा सेवाकर्मलाई सर्वश्रेष्ठ धर्मको रुपमा मानिएको छ।

संस्कृतमा लेखिएको एक वाक्यले सेवाको महानतालाई लाखौं शब्द बराबरको शक्ति र महत्त्वका रुपमा दर्शाएको छ।

काठमाडौं, बुढानिलकण्ठ–४ स्थित पवित्र समाज सेवा नेपाल संस्था पनि ‘सेवा हि परमो धर्मः’ मूलमन्त्रलाई आत्मसात गर्दै अघि बढिरहेको छ।

पवित्र समाजको पवित्र उद्देश्य

६१ जनाको परिवार। एक्ली ‘आमा’ दीक्षा चापागाई। यी ‘आमा’का आफूभन्दा दुई गुणा बढी उमेरका ‘सन्तान’ छन्।

अर्थात् कलिला बालबालिकादेखि पाको उमेरका जेष्ठ नागरिकसम्मकी अभिभावक बनेकी छिन् दीक्षा।

‘यही मेरो कर्म हो, सेवाभाव नै धर्म हो, मानव उद्धार र सेवाभन्दा ठूलो अर्को कुनै कार्य छ र!,’ उनले भनिन्।

दीक्षाकै पहल र नेतृत्वमा सन् २००२ मा शुरु भयो पवित्र समाज सेवा नेपाल। उनी नै हुन् संस्थापक।

समाजमा भोकभोकै भौतारिएका सर्वसाधारणलाई सडकबाट उठाएर छानो प्रदान गरिन् दीक्षा चापागाईले।

त्योभन्दा ठूलो त उनले अभिभावकत्व प्रदान गरिन्। अभिभावक बनेर यति धेरै बालबालिकाको लालनपालन र उच्च शिक्षाको प्रबन्ध गरिदिइन्।

‘अन्तरआत्माबाट यही आवाज आयो, मलाई लाग्यो– सहाराविहीनलाई सहारा दिनुपर्छ, राम्रो बाटोमा हिँडाउन सकेमा मेरो जीवन सार्थक हुन्छ,’ दीक्षाले भनिन्, ‘अनि मेरो प्रयासलाई हजारौं नेपाली दाजुभाइ दिदीबहिनीले साथ दिनुभयो।’

लकडाउनपछिको संघर्ष

कोरोना प्रकोपको प्रभावले देशको अर्थतन्त्र तहसनहस भएको छ।

धेरैले रोजगारी गुमाएका छन्। धेरैको रोजीरोटी खोसिएको छ।

यही परिप्रेक्ष्यमा पवित्र समाज सेवा नेपालका परिवारका सदस्य पनि आर्थिक संकटसँग जुधिरहेका छन्।

सन् २००२ देखि संघर्ष नै संघर्षको बीचबाट कोरिएको आंशिक सफलताको बाटोबाट दीक्षा हिँडिरहेकी छिन्।

दाताहरूको सहयोगले ६१ जनाको परिवार धान्नुपर्ने बाध्यता छ। यो परिवारलाई आवश्यक पर्ने बिहान–बेलुकाको छाक, जुटाउन निकै संघर्ष गरिरहनु परेको छ दीक्षालाई।

‘कहिले कसले–कहिले कसले सहयोग गर्नुहुन्छ, चिउरा, चामल, दाल, नूनतेल उपलब्ध गराउनुहुन्छ, अहिले यसरी नै चलिरहेको छ,’ दीक्षाले भनिन्।

‘कसैकसैले आफन्तमार्फत् पठाइदिने गरेका छन्। कसैले पसलमा भनिदिनु भएको छ, अनि हाम्रो बिहान–बेलुका टारिरहेका छौं,’ उनले भनिन्।

पवित्र सेवा समाजको परिवार ठूलो छ। एक बोरा चामलले ३ छाक पनि पुग्दैन। तर, दीक्षाले जसरी पनि सहयोग जुटाएर परिवारका सदस्यलाई सम्हालिरहेकी छिन्।

‘देश र विदेशमा रहनु भएका आमाबुवा, दिदीबहिनी, दाजुभाइहरूले सहयोग गरिरहनु भएको छ, उहाँहरूले आफ्नो गाँस काटेर हामीलाई पठाउनु भएको छ,’ दीक्षाले भनिन्, ‘यो महानतम सहयोगका लागि म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।’

कोरोना प्रकोपले देशविदेश आक्रान्त छ। सबैको छाक टरोस् भन्ने कामना सबैले गरिरहँदा पवित्र समाज सेवा परिवारका सदस्य पनि सबैको सहयोगको प्रतिक्षामा छन्।

बुढानिलकण्ठस्थित पवित्र समाज सेवा नेपालका सदस्यलाई सहयोग गर्न संस्थापक दीक्षा चापागाईको मोबाइल नम्बार ९८५१०६००८६ मा सम्पर्क गर्न सकिने छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल