Logo

राजनीति

रहेनन् विवेकशील साझा पार्टीका वरिष्ठ नेता उज्वल थापा



सुधारका सेतु, नेपाली नागरिकमा परिवर्तनकाे सन्देश प्रवाह गर्ने अभियन्ता उज्वल थापा बिदा भएका छन्।

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको हाे। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको हो ।

कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।

थापाको मेडिसिटी अस्पतालमा एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन (एक्मो) मार्फत उपचार थालिएको थियो। तर, थापामा कोभिड सिभियर निमोनिया भइसकेकाले स्वास्थ्य अवस्थामा सुधार भएको थियो।

‘हामीले सकेजति कोसिस गरेका थियौ। तर, उहाँको आज उपचारको क्रममा निधन भयो,’ ती चिकित्सकले भने। उनको केही दिनदेखि मुटु र फोक्सोले काम गर्न छोडिसकेको थियो।

परिवारका तर्फबाट जारी वक्तव्यमा थापाको निधन भएको उल्लेख गरिएको छ।

‘हाम्रा छोरा, श्रीमान्, दाइ, भाञ्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वलबहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४ः२५ बजे) हामीबीच रहनु भएन,’ वक्तव्यमा लेखिएको छ, ‘हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौं।’

‘उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु, युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ। उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ !,’ वक्तव्यमा भनिएको छ।

उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ। यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ,’ वक्तव्यमा भनिएको छ।

‘अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ,’ वक्तव्यमा भनिएको छ।

प्रकाशित : १८ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल