Logo

समाचार

नेपाल पत्रकार महासंघ युकेको सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित, कहिले तोकियो अधिवेशन?



लण्डन, १५ जेठ – नेपाल पत्रकार महासंघ युकेको आउँदो १३ जुनका लागि तोकिएको पाँचौ महाधिवेशन अगावै विवाद चर्किएपछि केन्द्रले हस्तक्षेप गरेको छ।

केन्द्रीय प्रतिनिधि तथा शाखाका सल्लाहकार भगीरथ योगीले एक पत्रलेखि नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशानुसार मे २९ तारिख शनिबारदेखि लागू हुने गरी निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्।

योगीले शाखाको गत ९ तारिख बसेको बैठकको निर्णय अनुसार १३ जुनमा भर्चुअल माध्यमबाट अधिवेशन हुने पनि जानकारी दिएका छन्।

नेपाल पत्रकार महासंघ युकेका महासचिव सञ्जयभक्त कँडेलले निर्वाचन समितिले शाखाले दिएको म्यान्डेट विपरीत जवरजस्ती पोस्टल भोटिङसहितको कार्यक्रम प्रकाशन गरेको, निर्वाचन समितिको बैठकमा आफूलाई नबोलाइएको र निर्वाचन समितिका संयोजकले आचारसंहिता विपरीत काम गरेकोजस्ता गम्भीर आरोप लगाएका थिए।

त्यस्तै कँडेलले बेलायतमा कोभिड–१९ का कारण सरकारले कडा प्रतिबन्धहरू लगाइ रहेकै अवस्थामा नेपाल पत्रकार महासंघ युकेका सदस्यहरूको जीवन र स्वास्थ्यमाथि नै गम्भीर जोखिम उत्पन्न हुने गरी ‘इण्डियन भेरियन्ट’बाट सबैभन्दा बढी प्रभावित पश्चिम लण्डनको साउथ ह्यारोस्थित एउटा रेस्टुरेन्टलाई निर्वाचनस्थल तोक्ने जस्तो गैरजिम्मेवार कार्य गरेको गम्भीर आरोप लगाएका थिए।

महासचिव कँडेलले उठाएका विषयहरुको कार्यसमिति वा निर्वाचन समितिले अहिलेसम्म कुनै जवाफ दिएको छैन।

तर, शुक्रबार राति शाखाका अध्यक्ष नरेश खपांगीले एक पत्र पठाउँदै शाखाले निर्वाचन समिति भङ्ग गर्ने कुनै निर्णय नगरेको बताउँदै निर्वाचन समितिलाई निर्वाधरुपमा पूर्ववत् आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न भनेका थिए।

केन्द्रीय प्रतिनिधिले आफ्नो पत्रमा नेपाल पत्रकार महासंघ युके शाखाको अधिवेशन तथा निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिको क्षेत्राधिकार, कार्यशैली तथा म्यान्डेटबारे शाखाकै जिम्मेवार पदाधिकारीहरूले गम्भीर प्रश्नहरू उठाएको तथा शाखामा उत्पन्न पछिल्लो विवादले शाखाको एकता र भविष्यमाथि नै संकट उत्पन्न गरेकोबारे नेपाल पत्रकार महासंघ केन्द्रको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका छन्।

‘ब्रिटिश सरकारको पछिल्लो स्वास्थ्य मापदण्डहरूलाई समेत दृष्टिगत गरी नेपाल पत्रकार महासंघ युके शाखाका सदस्यहरूको जीवन र स्वास्थ्यमाथि कुनै पनि किसिमको जोखिम उत्पन्न नहोस् भन्ने उद्देश्यले मिति २९ मे २०२१ देखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि नेपाल पत्रकार महासंघ युके शाखाको सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरिएको नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशानुसार जानकारी गराउँछु,’ पत्रमा उल्लेख छ।

स्मरण रहोस्, नेपाल पत्रकार महासंघ केन्द्रले समयमै हस्तक्षेप नगर्दा एकैदिन नेपाल पत्रकार महासंघ युरोपका दुई ओटा समानान्तर अधिवेशन भएका थिए। कुन समिति वैध हो भन्ने विवाद कायमै छ।

केन्द्रीय प्रतिनिधि समेत रहेका वरिष्ठ पत्रकार योगीले एउटै संस्थाभित्र काम गर्दा कुनै पनि किसिमको मतभेद भए त्यसलाई संस्थाभित्रै छलफल र वार्ताद्वारा समाधान गर्न र सार्वजनिक रुपमा वक्तव्य दिने, सामाजिक सञ्जालमा टिप्पणी गर्ने, अन्तरवार्ता दिने जस्ता कामहरू तत्काल बन्द गर्न शाखाका सबै जिम्मेवार सदस्य तथा पदाधिकारीहरूलाई आग्रह गरेका छन्।

केन्द्रीय प्रतिनिधिको पत्र जस्ताको तस्तैः

मितिः २९ मे २०२१

श्री निर्वाचन समिति

नेपाल पत्रकार महासंघ युके पाँचौं अधिवेशन २०२१

उक्त विषयमा आउँदो १३ जुन २०२१ मा हुन गइरहेको नेपाल पत्रकार महासंघ युके शाखाको अधिवेशन तथा निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिको क्षेत्राधिकार, कार्यशैली तथा म्यान्डेटबारे शाखाकै जिम्मेवार पदाधिकारीहरुले गम्भीर प्रश्नहरु उठाएको तथा शाखामा उत्पन्न पछिल्लो विवादले शाखाको एकता र भविष्यमाथि नै संकट उत्पन्न गरेको बारे नेपाल पत्रकार महासंघ केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ। त्यसैले ब्रिटिश सरकारको पछिल्लो स्वास्थ्य मापदण्डहरुलाई समेत मद्देनजर गरी नेपाल पत्रकार महासंघ युके शाखाका सदस्यहरुको जीवन र स्वास्थ्य माथि कुनै पनि किसिमको जोखिम उत्पन्न नहोस् भन्ने उद्देश्यले आज मिति २९ मे २०२१ देखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि नेपाल पत्रकार महासंघ युके शाखाको सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरिएको नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशानुसार जानकारी गराउँछु।

नेपाल पत्रकार महासंघ युके शाखाको ९ मे २०२१ मा बसेको बैठकको निर्णय अनुसार शाखाको पाँचौं अधिवेशन १३ जुन २०२१ मा भर्चुएल माध्यमबाट आयोजना गरिने पनि पुनः स्मरण गराउन चाहन्छु।

अहिलेसम्म निर्वाचनको तयारीका लागि गर्नु भएको कामका लागि निर्वाचन समितिका संयोजक तथा सदस्यहरुलाई नेपाल पत्रकार महासंघ केन्द्रको तर्फबाट धन्यवाद दिन चाहन्छु।

एउटै संस्थाभित्र काम गर्दा कुनै पनि किसिमको मतभेद भए त्यसलाई संस्थाभित्रै छलफल र वार्ताद्वारा समाधान गर्न र सार्वजनिक रुपमा वक्तव्य दिने, सामाजिक संजालमा टिप्पणी गर्ने, अन्तर्वार्ता दिने जस्ता कामहरु तत्काल बन्द गर्न म सबै जिम्मेवार साथीहरुलाई आग्रह गर्दछु। यो हाम्रो संस्था हो, हामीले नै मिलेर यसलाई अगाडी बढाउने हो। त्यसैले स्थिति बिग्रने खालको कुनै पनि कदम नचाली संयमित र जिम्मेवार भै शाखाको पाँचौं अधिवेशनलाई सफल बनाउन एकताबद्ध हुन पनि म सबै साथीहरुलाई अपील गर्दछु।

भगीरथ योगी
केन्द्रीय प्रतिनिधि तथा सल्लाहकार, नेपाल पत्रकार महासंघ युके

बोधार्थः
श्री अध्यक्षज्यू, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति
श्री महासचिवज्यू, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति
श्री निर्वाचन समिति, नेपाल पत्रकार महासंघ युके पाँचौं अधिवेशन २०२१
श्री अध्यक्षज्यू, नेपाल पत्रकार महासंघ युके
श्री महासचिवज्यू, नेपाल पत्रकार महासंघ युके

रमेश खरेलकाे राजनीतिक यात्रा कसरी? (अन्तरवार्ता)

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल