Logo

आर्थिक

चौधरी फाउण्डेशनको प्रेरणादायी कर्म: वीर अस्पतालमा ‘अक्सिजन प्लान्ट स्थापना’, यी हुन् अन्य योजना



काठमाडौं, ११ जेठ – कोभिड–१९ दोस्रो लहरका कारण मुलुकमा उत्पन्न स्वास्थ्य संकटमा प्रभावकारी योगदान पुर्‍याउन चौधरी फाउन्डेसनले स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्त्व राख्ने केही परियोजनामा काम गर्ने निर्णय गरेको छ।

यसका लागि फाउण्डेशनले अन्तिम तयारी भइरहेको जानकारी दिएको छ। फाउण्डेशनले देशकै जेठो वीर अस्पतालको नयाँ भवनमा १८ शैय्याको आधुनिक आइसियु वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने नेतृत्व लिएको छ। यससम्बन्धमा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (न्याम्स) र फाउण्डेशनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गरिने र त्यसका लागि दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको फाउण्डेशनले जानकारी दिएको छ।

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर प्रतिघन्टा रहने छ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १ सय ५० सिलिन्डर अक्सिजन भर्न सकिने छ।

‘हामीलाई विश्वास छ केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण गर्न र वीर अस्पतालका साथै कर्णाली र सुदूरपश्चिममा हाल विद्यमान अक्सिजन अभाव समस्या समाधान गर्न सफल हुनेछौं,’ चौधरी फाउण्डेशनका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद् विनोद चौधरीले भने।

‘धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्ने बताउँदै चौधरीले त्यसबाहेक तत्काल अक्सिजन कन्सन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

फाउण्डेशनका अनुसार यी कन्सन्ट्रेटरहरू काठमाडौं र बाहिरका अस्पतालमा वितरण गरिनेछन्। आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

अध्यक्ष चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएको भन्दै फाउण्डेशनले एकीकृत योजना अगाडि सारेको जानकारी दिए।

‘अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो। यसका लागि आइसियू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण हुन्, हाम्रो अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ। हामी यही उद्देश्यसाथ कोरोनाविरुद्धको अभियानमा अगाडि बढेका छौं,’ चौधरीले भने।

चौधरी फाउण्डेशनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पिपिई, स्यानिटाइजर, मास्क, भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएको थियो। त्यस्तै केन्द्रीय प्रयोगशाला टेकु र धुलिखेल अस्पतालका लागि १ हजारथान पिसिआर रिएजेन्ट पनि उपलब्ध गराएको थियो।

प्रकाशित : ११ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल