Logo

विचार

कलम चिन्हमा मतदान गरी स्थानीय र प्रदेश तहका अधिकारलाई सुदृढ गरौं: डा. खिमलाल देवकाटा



सिंहदरवारमा केन्द्रित अधिकारलाई हाम्रो संविधानले अङ्गीकार गरेको सङ्घीय शासन प्रणालीको सही कार्यान्वयनद्वारा नागरिकको घर दैलोसम्म पुर्‍याउने अभियानमा म निरन्तर रुपमा समर्पित रहँदै आएको व्यहोरा यहाँहरूका सामु छर्लङ्ग छ। यही प्रणीलाई राष्ट्रियसभामा सशक्त ढङ्गले मुखरित गर्ने उद्देश्यले यही जेठ ६ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा मैले उम्मेदवारी दिएको छु। मेरो उम्मेदवारी स्थानीय र प्रदेशका संविधान प्रदत्त अधिकारलाई स्थापित गर्न र तिनका माध्यम बाट प्रदेश र स्थानीय सरकारले सहज रूपमा काम गर्ने राजनीतिक, प्रशासनिक र वित्तीय वातावरण निर्माण गर्ने मान्यताबाट अभिप्रेरित छ। वित्तीय सङ्घीयता र स्थानीय तथा प्रादेशिक विकास र योजनाका क्षेत्रमा मेरो विज्ञतालाई मैले यिनै प्रयोजनका लागि प्रयोग गर्ने वाचा गर्दछु।

नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानपूर्ण आन्दोलनहरू, (१० वर्षे जनयुद्ध, २०६२।६३ को नागरिक आन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजातिहरू लगायतका विभिन्न आन्दोलन) बाट प्राप्त संविधानले सिंहदरबारको अधिकारलाई प्रदेश र स्थानीय स्तरसम्म पुर्‍याएको छ। तर, सिंहदरबारका शासकहरू स्थानीय सरकार र प्रदेश सरकारलाई नगन्ने संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारलाई कुण्ठित गर्नमा नै तल्लिन रहेको भान हुन्छ।

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहका अधिकार क्षेत्रभित्रका योजना, कार्यक्रम, बजेट र सबै खालका सम्पति लगायतका विषयहरू ६ महिनाभित्र हस्तान्तरण गर्ने भनी लेखिएको छ। तर, चार वर्षसम्म पनि कानूनको यो व्यवस्था राम्रोसँग कार्यान्वयन गरिएको छैन। स्थानीयका अधिकार क्षेत्रमा हस्तक्षेप गर्ने गरी समानान्तर रुपमा जिल्ला जिल्लामा विषयगत कार्यालयहरू खोलिएका छन्। प्रदेशकै सन्दर्भमा, संविधानले एकल अधिकारका रुपमा सिङ्गो प्रदेशको प्रहरी प्रशासन र शान्ति सुरक्षाको अधिकार दिएको छ। तर, अहिलेसम्म प्रदेशलाई यो अधिकार सहज रुपमा प्रयोग गर्न दिइएको छैन। प्रदेशका गृहमन्त्री यतिसम्म निरीह छन् कि उनलाई सिडिओले समेत राम्रोसँग टेर्दैनन्। स्थानीय र प्रदेशको एकल अधिकार क्षेत्रको अवमूल्यन हुने गरी सङ्घद्वारा नियन्त्रित भिन्न परियोजनाहरू धमाधम खोलिँदै छन्। कर्मचारीको न्यूनताले स्थानीय र प्रदेश सरकारले सहज रुपमा काम गर्न सकिरहेका छैनन्। आवश्यक सङ्घीय कानुनको अभावमा प्रदेश लोक सेवा आयोग पङ्गु बनाइएको छ। मैले यी र यस्ता स्थानीय तह र प्रदेशका दर्जनौँ मुद्दाहरू कलमको माध्यमबाट पटक–पटक उठाइरहेको छु।

स्थानीय तह र प्रदेशका पक्षका मेरा कलमका आवाजलाई थप सशक्त बनाउन बागमती प्रदेश सभाको प्रमुख विपक्षी दल ‍माओवादी केन्द्रको प्रस्ताव र अर्को विपक्षी दल नेपाली कांग्रेसको समर्थन र अन्य स–साना राजनीतिक दलको प्रत्यक्ष एवम् परोक्ष सहयोगसमेत हुने गरी मैले राष्ट्रिय सभामा उम्मेदवारी दिएको छु। निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले भर्खरै मेरो अभियानको अभिन्न अङ्गका रुपमा रहेको कलमलाई नै आधिकारिक रुपमा चुनाव चिन्ह प्रदान गरेको छ।

बागमती प्रदेश सभाका माननीय सांसदज्यूहरू र स्थानीय तहका पदाधिकारीज्यूहरूले कलम चिन्हमा मतदान गरी स्थानीय र प्रदेशका पक्षमा सडकबाट मैले उठाएका मुद्दालाई सङ्घीय संसदको बुलन्द आवाजका रुपमा रुपान्तरण गराउन सहयोग गर्नुहुने अपेक्षा गरेको छु। चुनावमा विजय भए पनि नभए पनि सदाझैँ स्थानीय र प्रदेशका पक्षमा निरन्तर बहस तथा पैरवी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु।

डा. सुवर्ण पौडेलले दिए कोरोनाको आयुर्वेद उपचारको उपाय (भिडियाे)

प्रकाशित : २९ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल