Logo

राजनीति

देउवाको त्यो अडान, जसले ओलीलाई सत्ताच्यूत गर्न सांसद्‌बाट राजीनामा दिन तयार भए माधव नेपाल



काठमाडौं, २६ वैशाख – राजनीतिमा शक्तिशाली मानिए पनि वास्तविकतामा अहिले निकै कमजोर हुन पुगेका छन् प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली।

दुईतिहाइ जनमतसहितको प्रधानमन्त्री, शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक अध्यक्ष, ओलीलाई के चिजको कमी थियो र!

तर, राजनीति सधैं सरल रेखाबाट हिँड्दैन। ओलीको झन्–झन् ‘शक्तिशाली’ बन्ने तीव्र चाहनाले आखिरमा उनी एक्लिन पुगेका छन्।

एमाले र माओवादीबीच एकता गर्नुअघि आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘हेपेका’ ओलीले पार्टी एकतापछि आफ्नै हैसियतका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अपहेलित गर्ने कोसिस गरे।

तर, प्रचण्डले त्यो कुरामा क्षमा दिएनन्। र, ओलीको साथ छोडेर माधवकुमार नेपालसहितका नेताहरूलाई समेटेर ‘टिम’ बनाए। त्यति बेला प्रचण्डले जितेको भरोशाकै कारण अहिले नेपाल पक्ष कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट अघि बढ्ने बाटो खोज्न तयार भएको हो।

देउवाको दबाब र ओलीको ‘बिदाई’को रिहर्सल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसद्हरूले शनिबार राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्। सांसद् पदबाट राजीनामा दिने अवस्था सिर्जना चाहिँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अडानबाटै भएको हो।

संसदीय राजनीतिका चतुर खेलाडी देउवाले गतसाता एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको भेटमा प्रष्ट अडान राखे। ‘माधवकुमार नेपालजीको पक्षमा रहेका सांसद्को राजीनामा नआई ओलीलाई हटाउने प्रक्रिया अघि बढाउन नसक्ने’ देउवाको अडानपछि नै नेपाल पक्षीय सांसद्ले राजीनामा दिएका हुन्।

यसैबीच, नेकपा एमाले वरिष्ठ नेता माधकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली नसुध्रिएपछि राजीनामाको विकल्प दिनुपरेको बताएका छन्। वरिष्ठ नेता नेपालले सांसद् पदबाट आइतबार राजीनामा दिने तयारी रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीलाई सुधार्ने प्रयास असफल भएको बताउँदै वरिष्ठ नेता नेपालले भने, ‘उहाँले लचकता नदेखाएपछि हामीसँग अन्य विकल्प भएन।’

नेपाल पक्षका २३ सांसद्ले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्। नेपाल पक्षीय प्रतिनिधिसभामा समानुपातिक सांसद्ले पनि राजीनामा दिने श्रोतले बताएको छ।

नेपाल पक्षका सांसद्हरूमध्ये २२ जना प्रत्यक्ष निर्वाचित र १२ जना समानुपातिक सांसद् रहेका छन्। नेपाल प्रत्यक्ष निर्वाचित हुन्।

राजीनामा दिनुअघि एमाले नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे लगायतले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए।

नेपाली कांग्रेसका नेता गगन थापासँग अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल