Logo

स्वास्थ्य

कस्मेटिक सर्जरी : मान्छे नै परिवर्तन गर्ने होइन, आवरण राम्रो बनाउने मात्रै हो



अनुहार तथा बाहिरी आवरणलाई राम्रो बनाउन गरिने सर्जरी कस्मेटिक सर्जरी हो । यो मानिसले आफ्नो सन्तुष्टिका लागि गर्ने गर्छन् । कस्मेटिक सर्जरीले मानिसमा आत्मविश्वास बढाउने गर्छ ।
व्यक्तिले आफ्नो शरीरका कुनै पनि अंग, विशेषगरी अनुहारमा केही नमिलेजस्तो लाग्यो भने प्लास्टिक सर्जनको सल्लाहमा उनीहरू कस्मेटिक सर्जरीमा जान सक्छन् । कतिपय मानिस अनुहारमा केही नमिलेको अंग भएमा डिप्रेसनमा समेत जाने गर्छन् । अनुहारमा नमिलेको कुनै पनि अंगलाई प्लास्टिक सर्जनले कस्मेटिक सर्जरी गरी मिलाउन सक्छ । प्लास्टिक सर्जनले एकपटक देखाउँदैमा त्यस्ता कतिपय समस्याको समाधान गर्न सकिन्छ ।

कस्मेटिक सर्जरीमा विभिन्न कुरा पर्छन् । उदाहरणका लागि परेला मिलाउने काम कस्मेटिक सर्जरी हो । कतिपयको आँखाको माथिल्लो भागमा रहेको परेला उमेर बढ्दै जाँदा तलतिर झुल्दै–झुल्दै जाने हुन्छ भने कतिपयको आँखीभौँ तल झर्दै जाने समस्या हुन सक्छ । आँखीभौँ तल झरेको मान्छे सधैँ रिसाएर बसेझैँ देखिन्छ । मान्छे ठिकै भए पनि उसको आवरणले रिसाएको भान गराउँछ । परेला बढी भयो भने पनि सर्जरी गर्न सकिन्छ । आँखीभौँलाई माथि उठाउन पनि सकिन्छ । तल्लो परेलामा बोसो फुलेर बसेको, धेरै चाउरी परेको अवस्थामा पनि सर्जरी गर्न सकिन्छ । चाउरी परेको हटाउनका लागि इन्जेक्सन लगाउन सकिन्छ ।

कस्मेटिक सर्जरीमा अर्काे भनेको नाकको सर्जरी हो । नाक आवश्यकताभन्दा धेरै ठूलो वा सानो दुवै भएको अवस्थामा सर्जरी गर्न सकिन्छ । सर्जरीपश्चात् त्यसलाई एउटा उपयुक्त आकार दिन सकिन्छ । सानो नाकलाई साइजमा ल्याउन नपुगेको ठाउँमा कुरकुरे हड्डी आवश्यकताअनुसार राख्ने गरिन्छ । अनुहारलाई सुहाउने गरी वा अनुहारको अनुपातसँग मिल्ने गरी अंगहरूलाई राखिदिनु कस्मेटिक सर्जरीको लक्ष्य हो । कसैको नाक अनुहारअनुसार नमिल्ने हुन्छ भने कसैको अन्य कुनै अंग ।

किन गराउने कस्मेटिक सर्जरी ?

कतिपयले अन्य व्यक्तिले कस्मेटिक सर्जरी गराएपश्चात् यो सर्जरी वास्तवमा राम्रै रहेछ भनेर आफू पनि गराउने गरेको पाइएको छ । त्यसका अतिरिक्त प्लास्टिक सर्जरी गराएर केही न केही फाइदा भने अवश्य हुन्छ । कतिपय पेसामा मानिसको रूपलाई नै पहिलो प्राथमिकता दिने गरेको पनि पाइएको छ । जस्तै, रिसेप्सनको काम, टिभी कार्यक्रम प्रस्तोता, कलाकार, मिडियाकर्मीका लागि ज्ञानका अतिरिक्त रूप पनि राम्रै हुनुपर्ने हुन्छ । त्यसका लागि उनीहरू कस्मेटिक सर्जरीमा जाने गर्छन् ।

विस्तारै उमेर बढ्दै जाँदा छाला लुज हुनेजस्ता समस्या आउने गर्छन् । त्यस्तो अवस्थामा कस्मेटिक सर्जरी गरेमा पहिलेको स्वरूपमा आउन सकिन्छ । कस्मेटिक सर्जरीले मान्छे नै परिवर्तन गर्ने भन्नेचाहिँ होइन । उमेर ढल्कँदै गएपश्चात् पनि युवावस्थामै रहेको बाहिरी सुन्दरतालाई भने कस्मेटिक सर्जरीले कायम राख्न सक्छ । पहिलेको अवस्थामा कसरी ल्याउने भन्नु नै कस्मेटिक सर्जरीको सिद्धान्त हो । त्यसले कस्मेटिक सर्जरी नराम्रो विषयचाहिँ होइन ।

के हुन सक्छन् कस्मेटिक सर्जरीका असर ?

कस्मेटिक सर्जरीपश्चात् ओठमा फिलर्स लगाउने प्रचलन छ । कस्मेटिक सर्जरीका क्रममा ओठलाई मिलाउनका लागि लगाइने इन्जेक्सनलाई फिलर्स भनिन्छ । फिलर्स लगाउँदा डाक्टरले ओठमा त्यसको मात्रा कति हुनुपर्छ भनी मिलाएर हेरेर लगाउनुपर्ने हुन्छ । कतिपय बिरामीको डाक्टरको सल्लाहभन्दा पनि अर्कै तरिकाबाट उपचार गर्ने चाहना हुन्छ । बिरामी र डाक्टरबीच सहमति भएर कस्मेटिक सर्जरी गरिने भए पनि कतिपय अवस्थामा यसका कारण विभिन्न समस्या देखापर्ने गर्छन् । डाक्टरले बिरामीको आग्रहअनुसार काम गर्दा कतिपय अवस्थामा कस्मेटिक सर्जरीका कारण समस्या उत्पन्न हुन सक्छ ।

सर्जरीको एक–दुई महिनापश्चात् सर्जरी गरिएको अंग केही सुन्निने, दुख्नेजस्ता समस्या आउन सक्छन् । कोही–कोहीमा लामो समयसम्म पनि सर्जरी गरिएको अंग दुख्ने, पोल्नेजस्ता समस्या देखिने गरेको पाइएको छ । कतिपयमा सर्जरीका कारण नसामा पनि समस्या देखिन सक्छ । त्यसबाट जोगिन अनुभवी प्लास्टिक सर्जनको आवश्यकता पर्छ । सर्जनले जथाभावी तथा जुनसुकै ठाउँमा सर्जरी गर्नु भएन । नसालाई कसरी जोगाएर सर्जरी गराउने भन्नेमा सर्जन सधैँ तल्लीन रहनुपर्ने हुन्छ ।

कस्मेटिक सर्जरीमा प्रयोग हुने प्रविधि

आधारभूत रूपमा कस्मेटिक सर्जरीमा गरिने भनेको सर्जरी नै हो । अहिले यो विधामा नयाँ–नयाँ प्रविधि आएका छन् । जस्तै, लेजर प्रविधि । कतिपय सर्जरी नै गरिनहाल्नुपर्ने अवस्थालाई लेजरले पनि मिलाउने गर्छ । अर्काे ब्राउलिफ भन्ने प्रविधि छ, जसमा आँखीभौँलाई माथि उठाउने गरिन्छ । पहिले त्यसमा काटेर नै गर्ने प्रचलन थियो भने अहिले सानो दूरवीनको मद्दतले त्यसलाई सर्जरी गरेर मिलाउन सक्ने प्रविधि हामीसँग छ । अहिले उमेर बढ्दै गएपश्चात् पहिलेजस्तै युवा देखिनका लागि अनुहार तन्काउने प्रचलन पनि बढ्दो छ । उमेर बढेसँगै मानिसको छाला पातलो हुँदै जाने गर्छ, जसले गर्दा छालामा भएको बोसोको मात्रा पनि घट्दै जान्छ । त्यसका कारण छाला झुलिन थाल्छ र छालामा चाउरीपनको समस्या देखिन थाल्छ ।

अनुहार तन्काउने प्रविधिमार्फत सर्जरी गर्दा कानको ठ्याक्कै अगाडिबाट मसिनो लाइनबाट काटेर छालालाई तलको मासुबाट उठाउने गरिन्छ । त्यसरी छालालाई उठाइसकेपछि जति बढी भएको छाला छ, त्यसलाई निकालेर नयाँ ठाउँमा सिलाउने काम गरिन्छ । छाला तथा भित्री भागमा रहेको सेतो झिल्लीलाई तानेर अड्काउने गरिन्छ । यस सर्जरीले छालालाई पहिलेकै अवस्थामा रिस्टोर गर्ने गर्छ । प्लास्टिक सर्जरीमा हुने अन्य सर्जरीको तुलनामा यो नेपालमा कमै चलेको सर्जरी हो । उपचारशुल्कको कुरा गर्दा कहाँ गरिन्छ भन्नेमा निर्भर हुन्छ । त्रिवि शिक्षण अस्पतालमा प्लास्टिक रिकन्स्ट्रक्टिभ सर्जरी बढी हुने गर्छ । जस्तै, आगोले पोलेकोमा सर्जरी, क्यान्सरको सर्जरी । त्रिवि अस्पतालमा ९० प्रतिशत यस्तो प्रकारका सर्जरी हुने गर्छन् । यहाँ कस्मेटिक सर्जरी भने कमै मात्र गर्ने गरिएको छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल