Logo

समाचार

नेपालीको शान वसन्त : ४० भन्दा धेरै देशका प्रतिस्पर्धीलाई पन्छाएर उत्कृष्ट ६ मा



गाेकर्ण अधिकारी, टाेकियाे, १७ माघ – जापान सरकारले आयोजना गरेको जापानी खाना बनाउने प्रतिस्पर्धामा नेपाली युवा उत्कृष्ठ सेफ बन्न सफल भएका छन्। जापान सरकार कृषि, वन तथा मत्स्य मन्त्रालयले आयोजना गरेको वासोकु बर्ल्ड च्यालेन्जमा विश्वका ४१ देशका प्रतिस्पर्धीलाई उछिन्दै नेपालका वसन्त राई उत्कृष्ट ६ शेफमा पर्न सफल भएका हुन्।

ब्राजिल, चीन, ताइवान, कुवेत, अमेरिका, भारत, बेलायतसहित ४० देशका १ सय ९९ जना शेफहरूले प्रतिस्पर्धा गरेको जापानको अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा एकमात्र नेपाली प्रतिस्पर्धी उत्कृष्ट बनेका हुन्।

मौलिक जापानी खाना बनाउने प्रतिस्पर्धामा एकपटक पनि जापान नआएका वा भनौं भौतिक रुपमा नदेखेका नेपाली युवा कसरी उत्कृष्ट जापानी खाना बनाउन सफल भए? यस सन्दर्भमा शेफ वसन्त राईसँगको कुराकानी उनकै शब्दमाः

जापान सरकारले छैटौं पटक यो वासोकु वर्ल्ड च्यालेन्ज आयोजना गरेको रहेछ। जापान सरकार तथा जापानी खानामा काम गर्ने सेफहरूले विश्वभर जापानी खाना बनाउने सेफहरू पहिचान गरेर उनीहरूलाई प्रतिस्पर्धामा सहभागी हुन सहयोग गर्दै आएका रहेछन्। प्रतिस्पर्धा बारेमा मैले पनि लिन्क्डइन सामाजिक सञ्जालमार्फत् जानकारी पाएँ। दुबईमा रहेको समयमा त्यो जानकारी पाएपछि मैले पनि जापानी खानाकै सेफको रुपमा काम गरिरहेकाले प्रतिस्पर्धा गर्ने सोच बनाएँ। त्यसका लागि अनलाइनमार्फत् जापानी खाना पान सिरेड सिवास विथ मिसो बटर सस र जापानी फ्युजन सिभिज सलाद तयार पारेर अप्लाई गरेँ।

यसरी खाना बनाउँदा के कुरा कति मात्रामा मिलाएको र कसरी बनाएको विष्तृत जानकारी गराउनु पर्थ्यो। मैले सबै कुरा मागेअनुसार तयार पारेर पठाएँ। जसमा म उत्कष्ट १५ भित्र पर्न सफल भएँ। त्यो खबर पाउँदा म औधी खुशी भएँ।

अब प्रतिस्पर्धा झन कठिन हुने देखियो। मलाई न जापानी भाषा आउने न त म कहिल्यै जापान नै गएको थिएँ। तर, जापानी सेफहरूले मलाई धेरै सहयोग र हौसला दिनुभयो। उत्कृष्ठ १५ बाट सिधै ६ जना छानिने जानकारी पाएँ। यो मेरा लागि कठिन प्रतिस्पर्धा थियो। मैले आफूले जानेको र बुझेजति सबै प्रक्रिया अपनाएर अन्तिम प्रतिस्पर्धामा ग्रिल हामाचिकामा विथ दासी टोमाटो ब्रोथ तयार पारेँ।

अन्तिम ६ का प्रतिस्पर्धीहरूलाई जापानमै बोलाएर खाना तयार पार्न लगाइने भए पनि कोरोना महामारीका कारण लाइभ भिडियोमार्फत् सबै काम गर्नुपर्यो।
खानामा मिसाइने एक–एक मात्रा तथा प्रक्रिया सबै बताउँदै गरेँ। खाना चाखेर मिठो नमिठो स्वाद पाइने भए पनि जापानका उत्कृष्ट सेफहरूलाई अनुगमन र परीक्षा गरेको यो प्रतिस्पर्धामा उहाँहरूले सजिलै खानाको स्वाद भन्न सक्नुहुन्थ्यो।

मैले तयार पारेको खाना प्रस्तुत गरेपछि उहाँहरूले धन्यवाद दिनुभयो। तत्काल रिजल्ट थाहा नहुने रहेछ। अन्य प्रतिस्पर्धीहरूले बनाएको खाना, प्रक्रिया, मिसाइएको मात्रा, पकाउने तथा सजाउने तरिकासहित, राख्ने भाँडा सजावट र सेफको प्रस्तुति समेतलाई हेरेर रिजल्ट तयार पारिएको रहेछ। डिसेम्बर २१ तारिखमा रिजल्ट भएपछि खबर पाएँ। म उत्कृष्ट ६ जना सेफमा पर्न सफल भएछु।

यो प्रतिस्पर्धामा कोरोना महामारीका कारण अन्तिम विजयी भन्ने नभई उत्कृष्ट ६ मा सीमित गरियो। सायद अवस्था सामान्य भएको भए मैले जापानमै गएर आफ्नो कला थप देखाउन पाउने थिएँ होला। तर, म उत्कृष्ट सेफ बन्न सफल भएपछि जापानी सेफहरूले बधाईसहित मलाई निरन्तर सल्लाह र सहयोग गरिरहनु भएको छ। मैले प्रतिस्पर्धामा पाएको सर्टिफिकेटसहित जापानी चक्कु लगायत केही सामान उपहारमा पाएको छु।

प्रतिस्पर्धा उत्कृष्ट सेफ छनौट जजहरूमा ओसाकाको चर्चित काशिवायाका सेफ तथा सञ्चालक हिदेआकी माचुओ, ताइवा गाकुइन एडुकेशन इन कर्पोरेटेडका निर्देशक तथा क्योदो कुलिनरी आर्ट कलेजका अध्यक्ष मासाहिरो नाताका र किनोबु रेष्टुरेण्ट क्योतोका प्रमुख ताकुजी ताकाहासी रहनुभएको थियो।

रोचक के भने म प्रतिस्पर्धा शुरु हुँदा युएईमा थिएँ। फाइनल हुने बेलामा माल्दिभ्स आइसकेको थिएँ। अहिले म माल्दिभ्सको पिनोल्हु रिसोर्टमा रेष्टुरेण्ट इञ्चार्जको रुपमा काम गरिरहेको छु।

अवस्था सामान्य भएपछि जापान आउन आयोजकहरूले भनिरहनुभएको छ। सायद अवस्था सामान्य भयो भने मैले खाना बनाउँदै गरेको देश घुमेर त्यहाँको वास्तविक खाना र देश चिन्ने मौका पाउनेछु।

नेपालमा मोरङ जिल्लादेखि काठमाडौं, मलेशिया, युएई हुँदै अहिले माल्दिभ्ससम्म सामान्य कामदारको रुपमा किचेनमा काम थालेको मैले निरन्तर मेहनत र परिश्रमबाट पाएको यो सफलतापछि सबैबाट पाएको धन्यवाद मायाले आफ्नो सानो कामबाट केही भने पनि नेपाली शिर उचो राख्न सफल भएछु कि भन्ने लागेको छ।

अहिलेसम्म कोही पनि नेपालीले प्रतिस्पर्धा नगरेको, हाम्रोभन्दा भिन्न खाना र पहिचान बोकेको विकसित देशको खाना बनाउने प्रतिस्पर्धामा नेपाली भएर उत्कृष्ट सेफमा छनौट हुन पाएकोमा मलाई पनि गर्व महसुस भएको छ।

नेपालमा बालबालिकादेखि नै सबैलाई डाक्टर, इञ्जिनियर, पाइलट बन्नुपर्ने मात्र दिमागमा घुसाइन्छ। तर, त्यस्तो होइन आफूले जीवनमा सफलता पाउन जुनसुकै पेशामा लागे पनि निरन्तर मेहनत गर्नुपर्छ।

आफ्नो सफलतासँगै देशको नाम चिनाउन होटल, रेष्टुरेण्ट क्षेत्रमा लागेकाहरूले पनि सक्छन् भन्ने उत्कृष्ट उदाहरण पछिल्लो पटक सेफ सन्तोष साहले बेलायतबाट दिइसक्नुभएको छ।

त्यसैले म नयाँ युवा पुस्ताहरूलाई यो खाना पकाउने काम, भान्छे भन्ने भनेजस्तो नेपालमा पहिले हेरिने दृष्टिकोण पनि फेरिइसकेको छ। अध्ययनसँगै आफ्नो क्षमताअनुसार रोजगारी पनि सहज पाइने यो क्षेत्रमा भविष्य पनि उज्ज्वल छ। त्यसैले नेपाली युवाहरूलाई इच्छा भए यो क्षेत्रमा मेहनतका साथ आउन र नेपाली खाना विश्वभर चिनाउन लाग्न समेत अनुरोध गर्दछु।

गगन थापाले केपी शर्मा ओलीलाई किन भारत जान सुझाव दिए?

प्रकाशित : १७ माघ २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल