Logo

खेलकुद

विश्व फुटबलका आदर्श म्याराडोनाको निधन, विश्वभरका फुटबल ‘फ्यान’ स्तब्ध!



अर्जेन्टिना, १० मंसिर – अर्जेन्टिनाका आदर्श फुटबल स्टार डिएगो म्याराडोनाको निधन भएको छ। म्याराडोनाको कार्डिक अरेस्टका कारण ६० वर्षको उमेरमा निधन भएको हो।

म्याराडोनालाई घरमै रहेका बेला हृदयघात भएको थियो। दुई हप्ता पहिले ‘ब्लड कल्ट’ बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको अर्जेन्टिनाका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

म्याराडोना विश्वका सर्वकालीन सर्वोत्कृष्ट फुटबलर हुन्। विस्तारित खेल जीवनमा म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए।

बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलेका म्याराडोनाको निधनले विश्वभरका फुटबल प्रेमी शोकमग्न भएका छन्।

काे हुन् म्याराडाेना?

सधैँ चर्चामा र त्यसभन्दा पनि बढी त विवादमा रहनु सायद डिएगो अर्मान्डो म्याराडोनाको विशेषता हो। पहिले खेलाडीका रूपमा उनी चर्चामा छाइरहन्थे, अहिले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बनेर चर्चा बटुलिरहेका छन्।

त्यसो त बालक छँदैदेखि उनको चर्चा शुरु भएको हो, जतिबेला उनी केवल दश वर्षका थिए। त्यतिबेला म्याराडोनालाई ठूला प्रतियोगिताहरूमा मध्यान्तरका बेला मैदानमा बोलाईन्थ्यो, जहाँ उनी आफ्नो फुटबल सन्तुलन कला देखाएर दर्शकलाई मन्त्रमुग्ध पार्थे।

उनले खेलाउन थालेपछि बल कहिले खुट्टामा, कहिले टाउकामा, कहिले घुँडामा, ढाडमा, काँधमा अनि कहिले तिघ्रामा! बल त खस्नै नपाउने! पछि गएर, म्याराडोनाको यो बल-सन्तुलन कला स्थानीय एटलान्टा रंगशालामा लामो समयसम्म दर्शकको अनुरोधमा परम्पराजस्तै बन्यो।

त्यसैताका १० वर्षे म्याराडोनालाई पहिलोपटक टेलिभिजनले अन्तर्वार्ता लिँदै भविष्यको योजनाबारे सोध्यो। म्याराडोनाले सहज पाराले जवाफ दिँदै भनेका थिए, “राष्ट्रिय टोलीबाट खेल्दै विश्वकप उपाधि जित्नु मेरो कल्पना, सपना र जपना हो।”

नभन्दै २६ वर्षको उमेरमा सन् १९८६ मा उनले झन्डै आफू एक्लैको भरमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताइछाडे। त्यो विश्वकपलाई ‘कोपा म्याराडोना’ अर्थात् म्याराडोनाको विश्वकप भन्ने गरएिको छ।

चार वर्षपछि उनकै नेतृत्वमा अर्जेन्टिना फेरि एकपटक विश्वकपको फाइनलमा पुग्न सफल भएको थियो। स्पेनको बार्सिलोना क्लबमा उनी सधैँ सम्मानित छन्। अझ, उनी लामो समयसम्म आबद्ध रहेको इटालीको नेपोली क्लब त उनलाई आफ्नो भगवान् नै मान्छ।

जीवनमा अनेक उतारचढावहरू आए। तर, उनी जतिबेलासम्म खेले, दिलोज्यानका साथ इमानदारी र समर्पित भावनाले खेले। सन् १९९४ मा अमेरकिामा भइरहेको विश्वकपको लिग चरणको खेलका बेला मूत्र-परीक्षणमा प्रतिबन्धित औषधि पाइएको आरोपमा अपमानजनक ढङ्गले विश्वकपबाट बाहिरएिका म्याराडोना १६ वर्षपछि नयाँ शैली, नयाँ जिम्मेवारी र नयाँ सम्मानसाथ अर्जेन्टिनी टोलीका केन्द्र बनेर विश्वकपमा सहभागी भएका थिए।

सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्याण्डविरुद्ध म्याराडोनाले गरेको दोस्रो गोललाई शताब्दीकै उत्कृष्ट गोल मानिन्छ। तर त्यो पहिलो हाते गोल पनि थियो, जसको चाल रेफ्रीले पनि पाएनन्।

खेलको समाप्तिमा म्याराडोनाको भनाइ थियो, “द ह्यान्ड अफ गड स्कोर्ड द फस्ट गोल…!” अर्थात् ‘यो पहिलो गोल ईश्वरको हातले गरेको गोल हो।’ फुटबल जगत्मा त्यो क्षण र उनको त्यो भनाइ कहिल्यै कसैले बिर्सन नसक्ने प्रसँग हो, अझ खासगरी बेलायती फुटबल समर्थकहरूले।

निःसन्देह, सन् १९८६ को मेक्सिको विश्वकप एकल रुपमा अर्जेन्टिनी ‘जिनियस’ म्याराडोनाको विश्वकप थियो। २२ जून १९८६ मा अर्जेन्टिना र इङ्ल्याण्डबीच क्वार्टरफाइनल खेल यस्तो पृष्ठभूमिमा भएको थियो, जुनबेला चार वर्षपहिले ती दुई देशले फकल्याण्ड टापूको स्वामित्वलाई लिएर संहारकारी युद्ध गरेका थिए।

सैनिक युद्धभूमिमा पराजित भएको अर्जेन्टिना फुटबलको मैदानमा बदला लिन उत्सुक भएको पृष्ठभूमि थियो त्यसको। अर्जेन्टिनाका कप्तानका रुपमा उनले आफ्नो देशलाई सन् १९९० को इटाली विश्वकप फाइनलसम्म पुर्‍याए पनि प्रतिद्वन्द्वी पश्चिम जर्मनीविरुद्ध १-० ले पराजित हुनुपरेको थियो।

६ वर्षको उमेरदेखि नै फुटबलसित नाता जोडेका म्याराडोना धेरैधेरै जनालाई फुटबल खेलप्रति आकर्षित गराउने उत्प्रेरक पनि हुन्। उनले अर्जेन्टिनोज जुनियर्स, बोका जुनियर्स, नेपोली, सेभिलाजस्ता क्लबहरूबाट खेले र ती क्लबहरूलाई अभूतपूर्व सफलता दिलाए।

खासगरी इटालियन क्लब नेपोलीका लागि त उनी भगवान् नै मानिन्छन्। कुल २७ वर्षको आफ्नो लामो र विवादग्रस्त सक्रिय फुटबल जीवनमा उनले जति सुनाम कमाए, त्यति नै बदनामी पनि पाए। जति आकर्षण कमाए, त्यति नै विकर्षण पनि पाए। उनी विश्वमै सम्भवतः एक मात्र त्यस्ता फुटबल खेलाडी हुन्, जसका जति धेरै प्रशंसक-समर्थकहरू छन्, त्यति नै आलोचकहरू पनि।

एक आदर्श फुटबल पुरुषप्रति हार्दिक श्रद्धाञ्जलि!

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : १० मंसिर २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल