Logo

अन्तरवार्ता

‘ओल्ड केयर सञ्चालनको तयारीमा छौं, पाँचतारालाई उद्यमशीलतासँग जोड्छौं’



उद्यमशीलतामा सहकारीलाई जोड्दै देशलाई समृद्ध बनाउने अभियानमा अहिले धेरै सहकारी संस्थाहरू सक्रिय छन्। काठमाडौंको सिनामंगलमा रहेको पाँचतारा साकोसले पनि समुदायको विकास र रोजगारमूलक कार्यलाई निरन्तरता दिइरहेको छ। पाँचताराको आगामी योजना र रणनीतिका सम्बन्धमा सञ्चालक राधा कडरियासँग गरिएको कुराकानीः

सहकारीले गरिरहेका क्रियाकलापहरु के–के हुन्? संस्था कसरी सञ्चालन भइरहेको छ?

–संस्था स्थापना भएको १३ वर्ष भयो। लगभग अहिले ६५ करोडको कारोबार छ। ३५ सय सेयर सदस्य हुनुहुन्छ। क्रियाशील सदस्य २२ सयको हाराहारीमा हुनुहुन्छ। संस्थाको सेयरपूँजी करिव ७ करोड छ, हामी निजी भवनमा छौं। तत्काल संस्थाले बचत ऋणकै कारोबारलाई प्राथमिकता दिएको छ। संस्था महानगरपालिकाभित्र भएको कारणले पनि लगानी अन्य क्षेत्रमा गर्न सकिरहेको छैन। हामीले अब बचत ऋणको मात्र कारोबार गरेर हुँदैन, उत्पादनको क्षेत्रमा पनि केही गर्नुपर्छ भन्ने योजना अघि सारेका छौं। संस्थाले नीति, विधि र प्रक्रियामा काम गरिरहेका छौं। हामी यही लक्ष्मीपूजाको दिन एटिएम उद्घाटन गर्दैछौं। एसएमएस लगायत प्रविधिमैत्री रुपमा सबै सदस्यहरुसामू पुग्ने वातावरण बनाएका छौं।

हाम्रो संस्थामा करिब १६ महिला सदस्यहरु हुनुहुन्छ। महिलाहरुको सक्रियता यस सहकारीमा रहेको छ। सञ्चालक समितिमा समेत हामीले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गरेका छौं। महिलाहरुको जीवनस्तर उकास्ने कामका लागि संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। उद्यमशीलताका, उद्घोषणकला लगायतका तालिमहरु सञ्चालन गर्दै आएका छौं। अचार उत्पादन, बेकरी तयार गर्ने जस्ता उद्यमशीलतासँग जोडिएका गतिविधिमा संलग्न गराएका छौं। केही–केही समस्या भए पनि निरन्तरको प्रयासबाट सदस्यहरुलाई व्यवसायिक बनाउने अभियानमा अग्रसर गराएका छौं।

संस्थाले सदस्यहरुलाई ७–८ प्रतिशतमा लगानी गर्न सक्ने अवस्था छ। ‘तपाईहरुले उत्पादनमात्र गर्नुहोला बजारमा लगेर बेच्ने काम हामी गर्छौँ’ भनेर प्रोत्साहित गर्ने गरेको भए पनि महिलाहरुको सक्रियतामा केही कमी आएको छ। हामी हाम्रा उद्यमी महिला दिदीबहिनीहरुलाई उत्पादनमा जोड दिन्छौं र बजार प्रवर्द्धनका लागि संस्थाले नै व्यवस्थापन गर्छौं।

संस्थाले लगानी गर्न चाहेका क्षेत्रहरु के–के हुन्?

–हामीलाई अलिकति कार्यक्षेत्रको कुराले पनि काम गर्न दिएको छैन। हाम्रो पाँचवटा वडा र कागेश्वरी मनोहरा दुईवटा क्षेत्र हाम्रो कार्यक्षेत्रमा पर्दछ। भक्तपुर, ललितपुर नै जान पाउँदैनौं। अब हामी चाँडै उपत्यकाभित्रको कार्यक्षेत्र थप लिँदै छौं। ‘ओल्ड केयर’का लागि हामी प्रयास गरिरहेका छौं। हामीले संस्थाका सदस्यहरुलाई बृद्ध अवस्थामा आबद्ध भएर बस्नको लागि सहज होस् भनि नियमित बचत गर्ने सदस्यहरुलाई त्यहाँ निःशुल्क बसोबासको व्यवस्थापन गर्ने अभियान अघि बढाएको छ।

कृषि र उद्योगमा लगानी गर्ने अवस्था कस्तो छ?

–कृषि क्षेत्रमा लगानी गर्ने हाम्रो ठूलो चाहना हो। केही–केही सदस्यहरुलाई कृषि उत्पादनका लागि सस्तो ब्याजदरमा लगानी गरेका पनि छौं। जसको ब्याजदर ११ प्रतिशत छ। अब हामीले ९ प्रतिशतमा कृषि कर्जा उपलब्ध गराउने योजना अघि सारेका छौं। केही महिलाहरुको अवस्था नाजुक थियो, जसको आर्थिक अवस्था उकास्नका लागि हामीले गरेको लगानी सार्थक भएको छ। थुप्रै उदाहरणीय कामहरु भएका छन्। यसलाई निरन्तरता दिने अभियानमा हाम्रा योजनाहरु तय भएका छन्।

कोरोना महामारीमा के–के गर्नुभयो?

–कोरोनाको प्रकोपमा समेत हामीले सुरक्षा मापदण्ड अपनाएर कार्यालय सञ्चालन गर्‍यौं। र, सदस्यहरुलाई सेवा प्रदान गर्‍यौं। समुदायमा आधारित संस्था भएकोले निरन्तर सदस्यहरुको नजिक रहेर काम गर्‍यौं। हामीसँग ३५ लाख भल्भ इन्स्योरेन्स थियो। तर, पचास लाखसम्म नगद राखेर सदस्यहरुको मागलाई सम्बोधन गर्न सक्यौं। हामीले नै पहिलोपटक सदस्य ऋणीहरुलाई दश प्रतिशत ब्याजमा छुट दिने काम गर्‍यौं। समस्यामा परेका सदस्यहरुलाई राहत दिने लगायतका काम गरेका छौं।

दोहोरो सदस्यताले कस्तो असर पारेको छ?

–एक व्यक्ति, एक सहकारीको कुरालाई परिपालना गर्नु पर्दछ। हरेक सदस्यले आफूलाई मन पर्ने सहकारी छानेर कारोबार गर्नु पर्‍यो। संस्थाले पनि एउटै मात्र सहकारीको सदस्य बन्न प्रेरित गर्नु पर्‍यो। एक व्यक्ति एक सहकारीलाई कायम गर्नु पर्दछ। तर, यसका लागि केही समय दिनु पर्दछ। आजको भोलि नै कार्यान्वयन हुन्छ भनेर भन्ने हो भने सम्बन्धित निकाय असफल हुन्छ। तर, राज्यको कानून नियमलाई सबैले पालना गर्नु पर्दछ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल