Logo

धर्म

आज विजयादशमी, टीका लगाउने उत्तम साइत १०:१९ बजे



काठमाडौं, १० कात्तिक – नेपालीहरूको महान चाड विजयादशमीको आज मुख्य दिन। मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ।

आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिएका हुन्।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि गौतमले बताए। तर, राज्य सञ्चालकले पनि साइतै टीका लगाउनु पर्ने धर्मशास्त्रविद प्रा. डा. गौतम बताउँछन्।

‘राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ धर्मशास्त्रविद गौतमले भने।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ। कतिपय जिल्लामा आज एक दिनमात्रै र कतिपय जिल्लामा आजदेखि कोजाग्रत पूर्णिमासम्म टीका थप्ने चलन छ।

गुरू पुरोहित, हजुरबुवा, हजुरआमा, बुवा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्त्वपूर्ण दिन हो।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ।

कोरोना संक्रमणको जोखिम रहेकाले टीका लगाइदिने र टीका थाप्ने व्यक्ति दुवैले मास्क लगाउनु पर्ने जनस्वास्थ्यविदहरुले सुझाव दिएका छन्। साथै आ–आफ्नो घरमै बसेर दसैं मनाउन पनि उनीहरुले आग्रह गरेका छन्।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : १० कार्तिक २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल