Logo

राजनीति

‘प्रधानमन्त्रीज्यू, संवेदनशील बन्नुस्, महामारीमा नगर्ने भए उपचार किन चाहियो सरकार?’



काठमाडौं, ४ कात्तिक – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवेदनशील बन्न आग्रह गरेको छ। साथै सरकारले गरेको निर्णय सच्याउन पनि कांग्रेसले माग गरेको छ।

कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परिक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई नेपाली कांग्रेसले अत्यन्तै गैरजिम्मेवार व्यवहारका रूपमा लिएको छ।

नेपाली कांग्रेसका प्रवक्ता तथा सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी कोरोनाले जनताको आर्थिक जिवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकार रहेको स्मरण गराएका हुन्।

‘संक्रामक रोग उपचारको कानूनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन, सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ? भन्ने प्रश्न उब्जिएको छ,’ शर्माले भनेका छन्।

कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरू तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव व्यवस्थापनमा सम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको शर्माको भनाइ छ।

‘उपचारको दायित्वबाट पन्छिए पश्चात् त ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्दत रहेको पुष्टि भएको छ,’ उनले भनेका छन्।

सांसद विकास कोष, दशैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य रहेको उल्लेख गर्दै शर्माले कर्तव्य आत्मसात गरेर कार्य गर्न चेतावनी दिएका छन्।

‘कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन विशेष संवेदनशीलताका लागि प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल