Logo

अन्तरवार्ता

‘सिद्धान्तमा जनवाद, व्यवहारमा केन्द्रीयता लाद्ने काम भयो, नेकपा नेतृत्व सच्चिनुपर्छ’



सामाजिक र आर्थिक रुपान्तरणमा सानै उमेरदेखि होमिएका मुकुन्दबहादुर पहरीले अलग इतिहास निर्माण गरेका छन् । पहरी समुदायबाट इतिहासमा पहिलोपटक निर्वाचित वडा अध्यक्ष भएका मुकुन्द जनजाति महासंघका केन्द्रीय कोषाध्यक्ष पनि हुन् । गोदावरी नगरपालिकाको विपद व्यवस्थापन समिति संयोजक तथा गोदावरी नगरपालिका–४ का वडाध्यक्ष पहरीसँग गुरु खतिवडादीपकबहादुर बुढाले लिएको अन्तरवार्ताः

कोभिड–१९ प्रकोपमा वडाध्यक्षको भूमिकामा तपाई कसरी सक्रिय हुनुहुन्छ ?

–गोदावरी नगरपालिका–४ को वडाध्यक्षको जिम्मेवारीमा रहेकाले जनतासँग जोडिएका विषयहरू र विकास निर्माणको काममा व्यस्त छु । यसैगरी, पहरी जातिको नेपाल पहरी संघको राष्ट्रिय अध्यक्ष, जनजाति महासंघको केन्द्रीय कोषाध्यक्षको रुपमा जनजाति अभियन्ता भएको नाताले जनजाति अभियानमा पनि त्यतिकै खटिरहेको छु । समितिको संयोजक वर्तमान अवस्थामा कोरोना संक्रमणको प्रभावबाट न्यूनिकरण गर्नका लागि नै जुटिरहेको छु ।

गोदावरी नगरपालिकामा कोरोनाको संक्रमणको अवस्था के छ ?

–हालसम्म हेर्दा १५ जना जति पोजिटिभ देखिए पनि सबै वडामा संक्रमण फैलने क्रम जारी छ । वडा नम्बर–४ मा मात्र ९ जना जति संक्रमण, ६ जना जति निको भएको र ३ जना आइशोलेसनमा रहेका छन् । गोदावरी नगपालिकाको विपद व्यवस्थापन समितिको संयोजक भएको हैसियतले यस काममा म निकै खटेको छु । गोदावरी नगरपालिकाका हामै्र वडामा मात्र आइशोलेसनको व्यवस्था गरेको छु । उहाँहरूलाई खानेबस्ने व्यवस्था सबै हामीले नै गरेका छौँ ।

तपाईले पहरी जातिको उत्थानको के–कस्तो पहल गर्नु भएको छ ?

–गोदावरी नगरपालिकाको १४ वडामा १ लाखभन्दा बढी जनसंख्या रहेको छ । यो नगरपालिकामा ७ वडामा पहरी जातिको बाहुल्य रहेको छ । कार्यपालिकामा ३ जना पहरीको प्रतिनिधि छन् । म वडा अध्यक्षमा निर्वाचन हुनुभन्दा अघि महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएको थिएँ । राजनीति, आर्थिक र सामाजिक रुपमा पछाडि परेका पहरी जातिको पहिचान, पहुँच र प्रतिनिधित्वका लागि पहल गरिरेको थिएँ । हाम्रो छुट्टै भाषा, संस्कृति, पेशा, धर्म, भेषभुषा रहेको छ । तर, पहिलेदेखि अहिलेसम्मका सरकारले पनि खासै उचित स्थान दिन सकेको छैन । प्रतिनिधित्वको रुपमा कुनै पनि पार्टीले उचित स्थान दिएको छैन ।

पहरी समुदायको हकअधिकार र जातीय मुक्तिको प्रसंगमा के–कस्ता काम भइरहेका छन् ?

–जबसम्म पहरी जातिको मानिस पहुँचमा नपुग्दासम्म खासै मुक्ति हुँदैन रहेनछ । हिजो मलाई नेकपा माओवादीले समानुपातिकमा राखे पनि सिफारिस गरेन । प्रदेशमा पनि समेटिएन । अहिले नेकपामा हुँदा पनि जिल्ला तहको नेतृत्वमा पनि सिफारिस गरिएको छैन । पार्टीले पहरी जातिको उचित मूल्यांकन गर्नै सकेको छैन । बागमती प्रदेशमा करिब ५० हजारभन्दा बढी हाम्रो भोट रहेको छ । यदि यही पाराले हेप्ने हो भने कुन पार्टीलाई जिताउने र हराउने भन्ने हाम्रो हातमा रहेको छ । मौका आएमा हामीले हाम्रो महत्त्व देखाइदिन्छौं । यसैगरी गोदावरी नगरपालिकामा पनि करिब ५ हजार पहरीले आफनो तागत देखाइदिन्छौं । गोदावरी नगरपालिकाको एउटा मात्र वडा हो ४ नं वडा पुरै प्यानल माओवादीले जितेको । हाम्रो उचित मूल्यांकन पार्टीले गर्नै सकेको छैन । अहिले यही वडाको कारण गोदावरी नगरपालिकाको इज्जत राख्ने काम गरेको छु । जनजाति अभियानको केन्द्रीय तहको राजनीति गर्दा पनि ललितपुर जिल्ला पार्टीले मलाई साह्रै अन्याय गरेको छ । म यहीबाट पार्टीको केन्द्रीय अध्यक्षलाई अपिल गर्न चाहन्छु । ममाथि न्याय हुनुपर्छ । सिद्धान्तमा जनवादको कुरा गर्ने व्यवहारमा केन्द्रीयता लाद्ने काम भएको छ ।

सरकारले कस्तो पहल गरेको पाउनु भएको छ ?

–सरकारले पहुँच हुने जनजातिको बारेमा गरेको होला । तर, पहरी जातिबारे खास केही गरेको छैन । बुझेको छैन । ठोस नीति तथा कार्यक्रम नै गरेको छैन । पहरी जातिका लागि गोदावरी नगरपालिले कहिल्यै ध्यान दिएको छैन । प्रदेश र संघीय सरकारले पनि खासै ध्यान दिएको छैन । यो सरकार र पार्टी दुवैका लागि प्रतिउत्पादक हुनसक्छ ।

तपाई स्थानीय सरकार प्रमुखमा निर्वाचित पहरी जातिको उत्थानका लागि के गर्नुभयो ?

–गोदावरी नगरपालिकाको ७ वटै वडामध्ये वडिखेलमा ६० प्रतिशत पहरी बस्छन् । तर, उनीहरूको सरकारी निकायमा कतै पनि पहुँच छैन । जनप्रतिनिधिको रुपमा आएपछि टनेल खेती, जाली, पानी, बिउ, कृषिस्रोत केन्द्र स्थापना गरेको छु । मल, बिउ, बाख्रा, कुखुराको चल्ला, बेतबाँसको काम गर्ने प्रत्येकको घरधुरीलाई २० हजारका दरले बाँडे । शीप विकास र जीविकोपार्जनको कामबारे तहमा हुने काममा विशेष पहल गरिरहेको छु ।

स्थानीयस्तरमा रोजगार सिर्जना तथा अर्गानिक कृषिका लागि के गर्नु भएको छ ?

–म निर्वाचित भइसकेपछि केही काम गरेको छु । वडा नम्बर–४ लाई अर्गानिक हबमा रुपान्तरण गर्न लागि परेको छु । म आउनुभन्दा पहिले ३० वटामात्र टनेल थिए । अहिले लगभग २ सय ८० वटा तरकार टनेल खेती तयार भएका छन् । अर्गानिक खेतीको तालिम दिएका छौं । मलबिउ, ट्रयाक्टर र बजार पनि बनाएका छौँ । बिउ बैंक तयार गरेका छौं । नगरपालिको एउटै मात्र बिउ बैंक यही वडामा खोलेका छौं । तर, नगरपालिका र प्रदेश सरकारले बजेट दिएको छैन ।

वडाका सहकारीको अवस्था के छ ?

–वडामा थुप्रै सहकारी सञ्चालनमा छन् । तर, सहकारीहरू वडा कार्यालयको सम्पर्कमा आएका छैनन् । वडा कार्यालयसँग समन्वय गरी काम गरेका छैनन् । कतिपय सहकारीले कार्यशैली ठिक छैन । सहकारीको नाममा केही झुण्डले दैनिक मजदुरी गरेर कमाएको रकम सहकारीमा जम्मा गर्ने, विभिन्न नाममा सेवाशुल्क लिने, जनताको लगानी संकलन गरेर घरजग्गामा लगानी गर्ने काम व्यापक भएको सुनिन्छ । सहकारीको सिद्धान्त अनुसार चल्ने सहकारी निकै कम छन् । सरकारले अनुगमन र नियन्त्रण गरेकै छैन । स्थानीय तहलाई जिम्मा दिने हो भने हामी नियमन गर्छौं ।

जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि गरेका उल्लेखनीय काम के–के गर्नु भयो ?

–म आउनुभन्दा अगाडि यहाँको अवस्था निकै नाजुक थियो । बस्ने वडा कार्यालय नै थिएन । मेरो पहिलो काम पक्की आठकोठे वडा कार्यालय हो । गोदावरी नगरपालिका घोषणा भएपछि नगरपालिकाकै पहिलो वडा कार्यालय निर्वाचित भएपछि बनाएँ । यसैगरी, वडा कार्यालय नजोड्ने बाटो पीच गरेँ । ३, ४, र ५ नम्बर जोड्ने बाटो खोलियो । यस वडाका सबैतिर ट्रयाक खोल्ने काम गरियो । ढल निकाशा र व्यवस्थापन गर्ने काम भयो । बाटोमा ग्राभेल गर्ने काम भयो । पानीको व्यवस्थापन गरियो । यहाँको माध्यमिक विद्यालयमा ५ लाख लिटरको ट्यांकी राखियो । फिल्टरको व्यवस्था गरियो । ग्वालिन्दा खानेपानीको डिपिआर तयार गरियो । चण्डोल खाने पानीको ट्यांकी निर्माण र व्यवस्थापन, सार्वजनिक खानेपानी, विभिन्न चोक र मन्दिरहरूको पनि निर्माण गर्ने काम पनि भएको छ । यसैगरी, गोदावरीको नमुना र प्रमुख धार्मिक पर्यटकीयस्थल तपेश्वर धार्मिक ट्रस निर्माण, बाटो निर्माण गर्न डिपिआर आइई सकिएको छ ।

गोदावरी नगरपालिका प्राकृतिक हिसावले उपत्यकाकै सम्पन्न मानिन्छ, कति सदुपयोग गर्नुभएको छ ?

–गोदावरी नगरपालिकाको ढुंगाखानीलाई सही रुपले उत्खनन गर्ने हो भने उपत्यकालाई नै पुग्ने ढुंगा र गिटी उत्पादन गर्न सकिन्छ । गोदावरी नगरपालिकाको सम्पदा स्थानीय निकायको पहुँचमा छैन । सबै पार्टीका गुण्डा र दलालहरूको कारण माथिबाटै सिधै हस्तक्षेप हुन्छ । नगरपालिकाले रोकेको खण्डमा प्रहरी आएर खोल्छ । हामीले खोल्दा प्रहरी आएर बन्द गर्छ । यत्रो प्राकृतिक स्रोत दोहोन गर्दा वन मन्त्रालय र सिडिओ कार्यालय निदाएको छ । दर्ता नै नभएका कैयन खानीहरू सञ्चालनमा छन् । गोदावरी–६ वडाको पहरी समुदायको बस्ती सिखर्पा पुरै पहिरो जाने अवस्थामा छ ।

गोदावरीबासीसँग कस्तो अपेक्षा राख्नु भएको छ ?

–म जनप्रतिनिधि भएको हुनाले जनताको सेवामा सधैं समर्पित हुनेछु । तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने काम भए नगरबासीले सिधै सम्पर्क गर्न सक्नुहुन्छ । नगरपािलकाले तय गरेका नीति, नियम र कानूनलाई पालना गर्नु सबैको दायित्व हो । साथै हामीले गरेका ठिक कामलाई प्रोत्साहन र हौसला प्रदान गरिदिनुहोला । गोदावरी नगरपालिकालाई देशभरिकै हराभरा, वातावरणमैत्री, अर्गानिक नगरपालिका बनाउन आ–आफ्नो ठाउँबाट पहल गर्न अपील गर्दछु ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल