Logo

विज्ञान/प्रविधि

एनआरएन विश्व ज्ञान सम्मेलनमा सगुनको चर्चा, संस्थापक गोविन्द गिरीले के भने?



काठमाडौं, २५ असोज – शुक्रबारदेखि शुरु भएको एनआरएन दोश्रो विश्व ज्ञान सम्मेलनमा अमेरिकामा मुख्यालय रहेको सोसल ई–कमर्स कम्पनी, सगुनका संस्थापक गोविन्द गिरीले सगुन नेपालको अर्थतन्त्रको विकासका लागि विश्वव्यापी अवसरको खोजी गर्न प्रतिबद्ध रहेको बताएका छन्।

‘विश्वभरि अहिले झन्डै ३ अर्ब ८० करोड मानिसहरूले कम्तिमा एउटा सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन्, तर तीमध्ये कसैले पनि सामाजिक सञ्जाल प्रयोग गर्दैगर्दा किनमेल पनि गर्न मिल्ने सुविधा दिएका छैनन्, त्यही ग्याप पूर्ति गर्न सगुन जन्मिएको हो,’ गिरीले भने।

‘इनोभेसन्स एण्ड स्टार्ट अप्स’ भन्ने शत्रमा बोल्दै गिरीले भने, ‘परिवार र साथीहरुबीच एउटा सार्थक सम्बन्धको विकास होस् भन्ने हाम्रो भिजन हो।’

झन्डै ४५ लाख प्रयोगकर्ताहरूले सगुन एपमा रहेको स्टोरी बोर्डमा ३० करोडभन्दा बढी पटक आफ्ना भावनाहरू, संगीत, खेलकुद, समाचार र जोक इत्यादि शेयर गरिसकेको उनले बताए।

त्यस्तै सगुनले ल्याएको सोसल स्मार्ट कार्ड प्रयोग गरेर प्रयोगकर्ताहरुले किनमेल गर्न सक्ने तथा एक अर्कालाई उपहार पठाउन सक्छन्। हाल यो सुविधा नेपाल र भारतमा मात्रै उपलब्ध छ।

सगुनले भर्खरै विकास गरिरहेको अर्को फिचर हो मुड टक, जसको माध्यमबाट प्रयोगकर्ताहरुले आफ्ना भावनाहरू आफ्ना साथीहरु वा परिवारका सदस्यसँग साट्न सक्छन्।

२४ घण्टा पछि ती अभिव्यक्तिहरू आफै मेटिएर जान्छन्। ह्वाट्सएपमा जस्तै तेस्रो पक्षले यी संदेशहरू पढ्न सक्दैनन्।

‘हामीले नेपालमा कर तिरेका छौं, सानो संख्यामै भए पनि रोजगारी सिर्जना गरेका छौं, र समाचारपत्रहरूलाई आम्दानी गर्न सघाएका छौं,’ उनले भने।

पछिल्लो तथ्यांक अनुसार नेपालमा झन्डै २ करोड जनताले इन्टरनेट सेवा उपयोग गर्छन्, ती मध्ये झन्डै एक करोड १० लाखले फेसबुक चलाउँछन्।

‘अहिले विभिन्न सामाजिक सञ्जालहरूले नेपालबाट वर्षेनी २२ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्ने गरेको अनुमान छ, तर त्यस वापत नेपाल सरकारले १ रुपैयाँ पनि आम्दानी गर्दैन, हामी त्यो पैसा नेपालमै रहोस भन्ने चाहन्छौं,’ गिरीले भने।

यदि नेपाल सरकारले युवा उद्यमीहरूलाई प्रोत्साहित गर्दै स्टार्टअप कम्पनीहरुलाई काम गर्नका लागि उपयुक्त वातावरण निर्माण गरिदिए यसले नेपालमा रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रामा आम्दानी पनि हुने उनले बताए।

‘सगुनले नेपालमा गरेको आम्दानी नेपालमै खर्च गर्ने छ, रोजगारी सिर्जना गर्ने छ, र एउटा नयाँ डिजिटल बजारको विकास गर्ने छ। यो अभियानमा हामीलाई तपाईं सबैको सहयोगको खाँचो छ,’ उनले भने।

सगुनका अनुसार यसका प्रयोगकर्ताको संख्या ८१ लाख नाघेको छ। तीमध्ये अधिकांश प्रयोगकर्ता भारत र नेपालमै छन्। सगुनले आफूलाई विश्वमा दक्षिण एसियाली प्रोडक्टका रुपमा चिनाउन चाहेको संस्थापक गिरीको भनाइ छ।

भारत र नेपालमा कार्यालय स्थापना गरेर आफ्नो बजार विस्तार गरिरहेको सगुनले सन् २०२३ सम्ममा न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत हुने लक्ष्य बोकेको छ।

प्रकाशित : २५ आश्विन २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल