Logo

राजनीति

‘डा. केसीका माग सम्बोधन नभए त्यसबाट आउने दुष्परिणामको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ’



काठमाडौं, १९ असोज – नेपाली कांग्रेसका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मासहितको टोलीले २२ दिनयता आमरण अनशनमा रहेका डा. गोविन्द केसीका माग र उनको जीवनरक्षाको माग गर्दै टिचिङ अस्पताल परिसरमा धर्ना दिएको छ।

सोमबार बिहान डा. केसीको स्वास्थ्य अवस्था बुझ्न गएका प्रवक्ता शर्माले केसीलाई भेटेपछि सरकारको ध्यानाकर्षण गराउन अस्पताल परिसरमा २२ मिनेट धर्ना दिएका हुन्।

धर्नापछि प्रवक्ता शर्माले डा. केसीले उठाएका मागहरू सरकार आफैंले विगतमा गरेका सम्झौता नै भएकाले पूरा गर्नुपर्ने बताएका छन्। साथै २२औं दिनसम्म पनि सरकारले एउटा वार्ता कमिटी गठन नगर्नुले नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील नभएको स्पष्ट हुने बताए।

‘कांग्रेसको तर्फबाट जुम्लादेखि सुरु भएको अनशनमा ऐक्यबद्धता थियो, अहिले पनि छ, हिजो हाम्रो सभापति शेरबहादुर देउवाले पनि वक्तव्य निकालेर वार्ता गर्न, जीवनरक्षा तथा माग पूरा गर्न अपिल गर्नुभएको छ,’ शर्माले भने।

प्रवक्ता शर्माले आफू प्रचार विभागका तर्फबाट मात्रै सिंगो पार्टी र जनताको तर्फबाट डा. केसीको जीवन रक्षाको मागका लागि आएको जानकारी दिए। कांग्रेस प्रवक्ता शर्माले डा. केसीको घर सिंगो देश र देशका जनताका उनको परिवार भएको बताए। ‘तपाईहरूलाई थाहा छ, उहाँको आफ्नो कुनै घर छैन। तर, सिंगो देश नै उहाँको घर हो, तपाईहरूलाई थाहा छ, उहाँको परिवार छैन, तर हामी जनता नै उहाँको परिवार हौं,’ उनले भने।

सिंगो देशका नागरिकको स्वास्थ्यका लागि उठाइएका मुद्दा सरकारले पूरा नगरे अब त्यो मागभित्र समेटिने सबै जनता सडकमा आउनुपर्ने अवस्था आएको बताए। ‘म सरकारलाई आग्रह गर्न चाहन्छु, यदि सिंगो जनता नै सडकमा आए भने त्यसपछिको परिणाम स्वयम् सरकारले नै व्यहोर्नुपर्ने हुन्छ,’ प्रवक्ता शर्माले भने।

प्रवक्ता शर्माले अनशनको अठारौं दिनमा सरकारका तर्फबाट डा. केसीको अनशनबारे दिइएको अभिव्यक्ति आपत्तिजनक भएको बताए। अहिलेको अनशन समय सुहाउँदा नभएको भन्ने अभिव्यक्तिले सरकारले केसीका मागबारे कुनै चासो नदिएको प्रष्ट हुने दावी गरे।

‘१८औं दिनमा सरकारका तर्फबाट यो अनशन समय सहाउँदो नभएको भन्ने अभिव्यक्ति आयो, त्यसो भए समय सुहाउँदो के हो त?, शम्भु सदाहरू छट्पटाएर अस्पतालको चहार्दै उपचार नपाउँदै गर्दा, खाडीमा बसेका नागरिकले देश फर्किन नपाउँदै गर्दा, अस्पताल अस्पताल दौडाएर आमाको मृत्यु हेर्दै गर्दाको दृश्य छोराछोरीले हेर्दैगर्दा बालुवाटारमा सत्ताका लागि द्वन्द्व भएको थियो के त्यो समय सुहाउँदो थियो?,’ प्रवक्ता शर्माले भने।

कोरोना उपचारका नागममा भएको भ्रष्टाचार, सांसद अपहरण, कात्रोमासमेत भ्रष्टाचार भएको खबर आइरहँदा के समय सुहाउँदो थियो भन्दै प्रवक्ता शर्माले प्रश्न गरे। उनले जायज मागहरु सम्बोधन गर्नुको साटो समय सुहाउँदो छैन भन्दै डा. केसीलाई चुनौती नदिने सरकारसँग आग्रह गरेका छन्।

‘यदि समयमै सम्बोधन गर्न सकिएन भने त्यसपछिको जे दुष्परिणाम हुन्छ, त्यसको जिम्मेवार सरकार र सम्मानीय केपी शर्मा ओली हुनुहुन्छ,’ शर्माले भने।

साथै कांग्रेस सरकारमा हुँदा नै डा. केसीका अधिकांश माग पूरा भएको, चिकित्सा अध्ययनमा ७५ प्रतिशत छात्रवृति लागू भएको स्मरण गराउँदै त्यसबेला पाएका उपलब्धि पनि खोस्ने काम नगर्न सरकारसँग आग्रह गरे।

गतवर्ष सरकार आफैले गरेका सम्झौता कार्यान्वयन गरेर भए पनि केसीको जीवन रक्षागरी देशमा लोकतन्त्र भएको आभाष दिलाउन प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसका तर्फबाट प्रवक्ता शर्माले आग्रह गरेका छन्।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल