Logo

राजनीति

‘प्रधानमन्त्रीज्यू, हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद होइन’



काठमाडौं – नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले गरेको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरू गर्ने विषयमा ‘आफूलाई संलग्न गराउने’ निर्णय गरेको विषयमा आपत्ति प्रकट गरेको छ।

कांग्रेस प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको टिप्पणी गरेका हुन्।

प्रवक्ता शर्माले लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्त्व, मर्म एवं मूल्य हुने र यो कायम रहनुपर्ने बताएका छन्। ‘यसलाई सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन,’ विज्ञप्तिमा भनिएको छ।

संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरिएको उल्लेख गर्दै प्रवक्ता शर्माले भनेका छन्, ‘अध्यादेशमार्फत् संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस बीचमा गरियो, नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरू गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ।’

संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजग गराउँदै सार्वजनिक रुपले अपील र आग्रह गरेको छ।

प्रकाशित : ८ आश्विन २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल