Logo

राजनीति

‘भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ’



काठमाडौं, २८ भदौ – पूर्व राष्ट्रपति डा. रामवरण यादवले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणालीलाई व्यवस्थित गर्दै आमूल रुपमै सुधार गर्नुपर्ने बताएका छन्।

अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनलाई ‘जुम’मार्फत् सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सकेमा भ्रष्टाचार नियन्त्रण हुने धारणा राखेका हुन्।

डा. यादवले निर्वाचनको निष्पक्षतासँग प्रजातान्त्रिक विधि गाँसिएको बताए। निर्वाचन प्रक्रियामा सुधारको आवश्यकता औंल्याउँदै डा. यादवले निर्वाचनप्रति गम्भीर बन्न सम्बन्धित सबैमा आग्रह गरेका छन्।

यादवले नेपाललाई बलियो र समृद्ध बनाउन तथा नेपालको प्रजातान्त्रिक प्रणालीलाई सुधार गर्दै लैजान देशबाहिर रहेका नेपालीहरूले रचनात्मक सहयोग गर्नुपर्ने बताए।

संविधानमा लेखिएका विषयहरूमा ज्यान भर्ने र देश तथा जनताको हितमा काम गर्ने जिम्मेवारी दलहरूले सुधारका काममा ध्यान पुर्‍याउनपर्ने उनले बताए।

पूर्वराष्ट्रपति डा. यादवले पटक–पटक सुशासनको चर्चा गरिए पनि यसका लागि आधार बनाउन नसकिएको जनताको हक अधिकारको रक्षा र जनजीविकाको सवालमा राज्य र दलहरू गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।

‘पात्र’कै कारण निर्वाचन पद्धतिमै असरः पोखरेल

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा राज्यको भूमिका, दलहरूको अवस्था, उम्मेदवारहरूका व्यवहार र मतदाताको चेतनास्तरले प्रभाव पार्ने बताएका छन्।

हरेक निर्वाचन प्रणालीभित्र राम्रा र नराम्रा विषयहरू रहने पोखरेलको धारणा थियो। उनले प्रणालीका कारणभन्दा पनि पात्रका कारण निर्वाचन पद्धतिमै असर पर्ने गरेको देखिएको उल्लेख गरे।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदाताको अपेक्षासमेत व्यक्तिगत सहयोगका लागि केन्द्रित हुने गरेकाले जनप्रतिनिधिको भूमिका र मतदाताको बीचमा हुनुपर्ने सम्बन्ध पनि अन्य विषयमा फस्ने गरेको बताए।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले परिवर्तनलाई संस्थागत गर्ने संवाहकको रुपमा रहेको निर्वाचन पैसा, बल र शक्तिका कारण प्रभावित हुने अवस्था आउनु दुःखको विषय भएको बताएकी छिन्।

आयोजक केन्द्रका अध्यक्ष डा. राजन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा राजनिति शास्त्री प्रा.डा. कृष्ण खनालले संवैधानिक निकायहरूमाथिको राजनीतिक हस्तक्षेप रोक्नुपर्ने धारणा राखेका छन्।

पत्रकार भगीरथ योगीको सहजीकरणमा सम्पन्न कार्यक्रममा कांग्रेसका नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला, एनपी साउद, चन्द्र भण्डारी, कमला पन्त, सुरेन्द्रराज पाण्डे, रत्ना शेरचन, सरिता प्रसाई, प्रदीप पौडेल, प्रमिला राई, अर्थशास्त्री डा सुरेन्द्रराज देवकोटा, डा. आमोद पोखरेल, पत्रकार युवराज घिमिरे, तरुण पौडेल, डा. सुमन पराजुलीलगायतले नेपालमा निर्वाचनको क्रममा बढ्दै गएको बेथितिलाई जति सक्दो चाँडो अन्त्य गर्नका लागि सामूहिक प्रयासको खाँचो औँल्याएक छन्।

कार्यक्रममा नेपालको निर्वाचन प्रणाली, लोकतन्त्रको सवलीकरण लगायतका विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल