Logo

राजनीति

जनताले सरकार छ भन्ने महसुस गर्न सकेका छैनन्ः कांग्रेस नेता पौडेल



काठमाडौं, २६ भदौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कार्यकर्तालाई प्रशिक्षण दिएका छन्। तनहुँको व्यास नगरपालिका– ६ सिसाघाटमा कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता पौडेलले सामाजिक दूरी कायम गर्दै कार्यकर्तालाई प्रशिक्षण दिएका हुन्।

‘पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण जताततै संक्रमण फैलदै गएको छ। यो महामारीबाट जोगिन पनि भीडभाड गर्नु हुँदैन, सामाजिक दूरी कायम गर्नुपर्छ, त्यसैले कुनै कोठा तथा सभाहलभित्र प्रशिक्षण दिँदा संक्रमणको जोखिम बढ्ने भएकाले सामाजिक दूरी कायम गरी खुल्ला चौरमा प्रशिक्षण गरेका हौं,’ उनले भने ‘खुल्ला चौरमा प्रशिक्षण गर्दा संक्रमणको जोखिम पनि कम हुन्छ।’

पौडेलले बिहीबार नेकपा परित्याग गरी आएका ४५ जनालाई कांग्रेसमा भित्र्याएका हुन्। नवप्रवेशीलाई फुलमाला र टिका लगाएपछि नेता पौडेलले कांग्रेसलाई थप मजवुद बनाउन युवापिँढी एकजुट हुनुपर्नेमा जोड दिए। ‘देशमा दुई तिहाईको सरकार छ, यो बेलामा जनतालाई राहत दिनुपर्ने हो, तर जनताले सरकार छ भन्ने कति पनि महसुस गर्न सकेका छैनन्, कोरोना संक्रमण देशभर फैलँदै गएको छ, तर सरकारले ठोस निर्णय लिन सकेको छैन’ नेता पौडेलले भने ‘बहुमतको सरकार छ, यो बेलामा जनतालाई राहत दिनुपर्ने हो, तर जनताको समस्या बुझ्नुपर्ने बेलामा सरकार मौन छ, किसानले मल नपाएर सास्ती खेपिरहेका छन् तर उनीहरूको समस्या समाधानमा सरकार चुकिरहेको छ। किन सरकारले कृषकको समस्या बुझ्दैन, उनले भने।

कांग्रेसले प्रधानमन्त्री कोषमा रहेको रकम स्थानीय सरकारलाई दिनुपर्छ भन्ने माग गरेको भए पनि सरकारले अटेर गरेको उनले आरोप लगाए। नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका छविलाल विकले दुई तिहाईको सरकारलाई भोट दिएर जिताए पनि जनताको पक्षमा हित हुने काम नगरेकाले पार्टी परित्याग गरेको बताए।

नेकपा परित्याग गरीआएकालाई नेता पौडेल र जिल्ला सभापति वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा दोसल्ला, अबिर तथा कांग्रेसको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए।

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल