Logo

राजनीति

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय, खतिवडा अर्थमन्त्री नरहने



काठमाडौं, १८ भदाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने भएको छ।

बिहीबार दिउँसो बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभामा रिक्त रहेको एक पदमा मनोनयन गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएका हुन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बैठकमा गौतमलाई राष्ट्रियसभामा मनोयनका लागि राष्ट्रपतिसमक्ष पठाउने निष्कर्षमा सरकार पुगेको जानकारी गराएका हुन्।

नेकपा सचिवालयको यो निर्णयसँगै अर्थमन्त्री डा. युवराज खतिवडा २० भदौसम्म मात्रै अर्थमन्त्री रहने भएका छन्। प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा दोहोर्‍याएर अर्थमन्त्रीमा निरन्तरता दिन चाहेको भए पनि पार्टी भित्रको शक्ति सन्तुलन र विवाद मिलाउनका लागि गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने भएका हुन्।

यसअघि केही दिनदेखि प्रधानमन्त्री ओलीले खतिवडालाई नै पुनः राष्ट्रियसभामा लैजाने गरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। अर्थमन्त्रीको रूपमा खतिवडाले राम्रै काम गरिरहेको तर, उनलाई व्यक्तिगत रूपमा नरुचाउने केही व्यापारी र पार्टी भित्रका स्वार्थ समूहले आलोचना गरिरहेको विश्लेषण प्रधानमन्त्री र उनका निकटस्थको थियो। खतिवडालाई रोक्न चाहने नेकपाभित्रकै समूहले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमलाई उचालेको बालुवाटारको बुझाइ छ।

पार्टी भित्रको विवाद समाधानका लागि ओली अन्तिम समयमा आएर खतिवडालाई छाडेर प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएका गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्न सहमत भएका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका डा. युवराज खतिवडाको कार्यकाल गत २० फागुन २०७६ मा सकिएको थियो। राष्ट्रियसभा सदस्यको पदावधि कायम हुने गोला प्रथामा खतिवडालाई दुई वर्षको कार्यकालको गोला परेको थियो।

राष्ट्रियसभा सदस्य पद नरहने भएपछि गत फागुन २० मा उनले प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका थिए। ओलीले खतिवडालाई पुनः अर्थमन्त्री पदमा नियुक्त गरेका थिए। २१ फागुनमा अर्थमन्त्री पदको दोस्रोपटक सपथ ग्रहण गरी सोही दिन पद बहाली गरेका खतिवडाको ६ महिने कार्यकाल २० भदौमा सकिँदैछ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल