Logo

समाचार

बागलुङको बाढी प्रभावित क्षेत्रकाे निरीक्षणमा गएका गृहमन्त्री घटनास्थल नपुगी फर्किए



काठमाडौं, १८ भदौ – बागलुङको ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र नपुगी फर्किएको छ। गृहमन्त्री थापा नेतृत्वको टोली मौसमका कारण घटनास्थलमा जान नसक्ने भन्दै नजिकै पुगेर हेलिकप्टरबाट पोखरा फर्किएका हुन्।

बागलुङको ढोरपाटन नगरपालिको वडा नं ७, ८ र ९ का क्षेत्रमा बाढीका कारण ८ जनाको शव भेटिएको छ भने १३ जना अझै बेपत्ता छन्।

पहिरोको स्थलगत निरीक्षण र क्षतिको अवस्था बुझ्न गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमार्फत बागलुङ उडेका थिए। बाढीको अवस्था बुझ्न घटनास्थल नै जाने भनेर गएको भए पनि मौसमका कारण जान नसकिएको गृहमन्त्रीसँगै गएका बागलुङका सांसद तथा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आफू घटनास्थलतर्फ गइरहेको र गृहमन्त्री थापासहितको टोली मौसमका कारण पहिरो स्थलमा पुग्ने अवस्था नभएपछि फर्किएको जानकारी पाएको बताए ।

‘अहिले घटनास्थलतर्फ जाँदैछौं । गृहमन्त्रीको हेली मौसमका कारण फर्किएछ,’ सीडीओ न्यौपानेले भने, ‘घटनास्थल सदरमुकामबाट झण्डै १ सय ४० किलोमिटर दूरीमा पर्छ। पानी परिरहेको छ, हुस्सु लागिरहेको छ। बाढी अझै कम भइसकेको छैन।’

घटनास्थलमा उद्दार टोली बिहानैदेखि खटिइरहेको सीडीओ न्यौपानेले जानकारी दिए।

सुकुर्दुङस्थित भुजी खोलाको बाढीले १३ घर बगाएको हो। बाढीले जलविद्युत आयोजना, सडक, विद्यालय, पुलमा पनि क्षति पुर्‍याएको छ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल