Logo

समाचार

कोरोना प्रकोपविरुद्धको लडाइँमा सरकारलाई यसरी सहयोग गर्नसक्छ निर्वाचन आयोगले



काठमाडौं (जीएनएन), १८ भदाै – निर्वाचन आयोगले सरकारले आग्रह गरेमा कोरोना विरुद्ध जुध्न आफूसँग रहेको जनशक्ति खटाउन कुनै समस्या नरहेको बताएको छ।

ग्लोबल नेप्लिज न्युज नेटवर्कसँग कुरा गर्दै निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले सरकारले अनुरोध गरेमा आयोगसँग रहेको जनशक्ति परिचालन गर्न कुनै समस्या नरहेको बताएका हुन्।

अद्यावधिक निर्वाचन हुन अझै डेढ वर्ष बाँकी रहेकाले अहिले कोभिड १९ को महामारीमा आफ्नो जनशक्ति परिचालन गर्न आयोगलाई समस्या नहुने श्रेष्ठले प्रष्ट पारे।

‘सरकारले अनुरोध गरेमा आयोगले नकार्दैन, सकारात्मक रुपमा लिएर सरकारलाई सहयोग गर्छौं,’ उनले भने।

निर्वाचन आयोगका जिल्लास्थित कार्यालयहरुमा ६ सय ७१ कर्मचारी कार्यरत छन्। उनीहरुसहित थप केही कर्मचारीलाई परिचालन गर्न सकिने श्रेष्ठले बताए।

‘थप समय र थप काम गर्न सकिन्छ, संकटको बेलामा नै अतिरिक्त काम गर्नुपर्ने हो, सरकारको प्रस्ताव आएमा कति समय काम गर्ने भन्ने विषयमा आयोगले निर्णय लिन्छ,’ उनले भने।

श्रेष्ठले प्रकोप व्यवस्थापनमा खटिने कार्यलाई अवसरकै रुपमा लिने प्रष्ट पारे। उनका अनुसार आयोगले अहिले निर्वाचनपूर्वका काम गरिरहेको छ। निर्वाचनपूर्व आवश्यक ऐन कानून बनाउने, मापदण्ड निर्माण गर्ने तथा व्यवस्थापकीय पक्षको विषयमा आयोगले काम गरिरहेको छ।

निर्वाचन आयोग दक्ष जनशक्ति र साधन श्रोतसम्पन्न संवैधानिक निकाय हो। सरकारले आयोगलाई कोभिड १९ महामारीमा आफ्नो जनशक्ति परिचालन गर्न अनुरोध गर्नसक्ने धारणा विज्ञहरुले राखेका छन्।

चर्चित नेत्र चिकित्सक डा. सन्दुक रुइतले हालै गणेशमान सिंह एकेडेमीद्वारा आयोजित एक छलफलमा बोल्दै कोरोना संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरूलाई पहिचान गर्ने काम अर्थात् कन्ट्याक्ट ट्रेसिङमा सघाउन निर्वाचन आयोगसँग जनशक्ति र प्राविधिक पूर्वाधार रहेकाले सरकारले आयोगलाई अनुरोध गर्नुपर्ने सुझाव दिएका थिए।

सबै निकायसँग सहकार्य हुन्छः स्वास्थ्यमन्त्री

यसैबीच सरकारले कोरोना प्रकोप व्यवस्थापनमा सबै निकायसँग समन्वय गरेरै अघि बढ्ने प्रष्ट पारेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै निकायहरुसँग समन्वय हुने बताए।

‘हामीले सबै संयन्त्र परिचालन गरेका छौं, आवश्यक पर्दा संवैधानिक निकाय तथा अन्य क्षेत्रलाई पनि प्रकोप व्यवस्थापनमा एकाकार गर्ने छौं,’ जीएनएनसँग कुरा गर्दै मन्त्री ढकालले भने।

कोरोना प्रकोप तीव्र गतिमा फैलिँदै

तेश्रो चरणको निषेधाज्ञा शुरु हुनै लाग्दा काठमाडौं उपत्यकासहित देशैभर कोरोना संक्रमणको दर दैनिक शतप्रतिशत बढिरहेको छ। कोरोना संक्रमितको मृत्युदर पनि दैनिकप्रति दुई घण्टामा एक जनाको दरले बढ्दो छ।

सरकारले लामो लकडाउन गरे पनि काठमाडौं, भक्तपुर र ललितपुरसहित देशका अधिकांश जिल्लामा कोरोना प्रकोप तीव्र गतिमा फैलिरहेको छ। सरकारले स्वास्थ्य क्षेत्रका सबै संयन्त्रलाई परिचालन गरिरहेको बताए पनि सरकारी दावीको प्रभावकारिता खासै देखिएको छैन।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल