Logo

प्रदेश-१

आयुर्वेद स्वास्थ्य केन्द्र सदरमुकाममा नसार्ने राँकेबासीको माग, सारिए आन्दोलन गर्ने चेतावनी



पाँचथर, १५ भदौ – राँके बजारबासीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरलाई सदरमुकाममा नसार्न माग गरेका छन्।

प्रदेश सरकारले आयुर्वेद स्वास्थ्य केन्द्र राँके बजारबाट फिदिममा सार्ने निर्णय गरेपछि स्थानीयबासीले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन्।

स्थानीयबासी विपीन बस्नेतका अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र करिब ३ दशकदेखि राँके बजारमै रहेको छ।

तर, प्रदेश नम्बर–१ सरकारले राँके बजारबाट सदरमुकाम फिदिम बजारमा सार्ने निर्णय गरेपछि स्थानीयबासी आक्रोशित भएको बस्नेतले बताएका छन्।

कोरोना प्रकोप फैलिरहेका बेला आयुर्वेद स्वास्थ्य केन्द्रलाई अझै प्रभावकारी बनाउनु पर्ने बेलामा सार्ने निर्णय गरिनु दुःखद र गलत रहेको बस्नेतको भनाइ छ।

‘राँके बजारमा अहिलेसम्म सञ्चालन भएको आयुर्वेद स्वास्थ्य केन्द्रलाई हठात सार्ने निर्णय गरेर सरकारले ठिक गरेन,’ बस्नेतले भने, ‘प्रदेश सरकारको निर्णय नसच्चिए आन्दोलन गर्न बाध्य हुने छौं।’

गाउँमा रहेको सेवा सुविधालाई सरदमुकाममा केन्द्रीकृत गर्न खोजिएको बस्नेतको टिप्पणी छ। उनले आयुर्वेद स्वास्थ्य केन्द्रबाट लाभ लिइरहेका इलाम र पाँचथरका नागरिकलाई पनि यसले असर पार्ने बताए।

‘इलाम र पाँचथरका धेरै मानिस अहिले यो आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिइरहेका छन्, फिदिममा अर्को स्वास्थ्य केन्द्र बनाउने र राँके बजारको आयुर्वेद स्वास्थ्य केन्द्रमा जनशक्ति थप गर्नुपर्छ, हाम्रो माग यही हो,’ बस्नेतले भने।

आयुर्वेद अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिने अस्पताललाई सार्नु गर्ने कुनै कारण नरहेको तर्क गर्दै बस्नेतले स्तरबृद्धिका लागि बजेट दिन प्रदेश सरकारसँग माग गरेका छन्।

राँके बजार पाँचथर र इलामको सीमावर्ती क्षेत्र हो। आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुवै जिल्लाका नागरिकलाई स्वास्थ्यसेवा उपलब्ध भइरहेको जानकारी स्थानीय रामकुमार लिम्बूले दिएका छन्।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल