Logo

राजनीति

अनेरास्ववियू सहसंयोजक तामाङको उद्‍घोष, ‘विद्यार्थी, राष्ट्रियता र न्यायका पक्षमा बोलिरहन्छु’



काठमाडौं, १५ भदौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङले विद्यार्थी, राष्ट्रियता र न्यायका पक्षमा आफ्ना आवाज कसैले रोक्न नसक्ने उद्घोष गरेका छन्।

सहसंयोजक तामाङले न्याय र समानता तथा ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्नलाई कसैको अनुमति नचाहिने पनि प्रष्ट पारेका छन्। नेकपाका युवा नेता तामाङको सक्रियताका सन्दर्भमा विद्यार्थी संगठन अनेरास्ववियूकै एउटा समूहले आलोचना गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

‘विद्यार्थीको पक्षमा बोल्दा, राष्ट्रियताको पक्षमा बोल्दा, जनजीविकाको पक्षमा बोल्दा, न्याय र समानताको पक्षमा बोल्दा, ठिकलाई ठिक, बेठिकलाई बेठिकभन्दा, कसैको आपत्ति हुन्छ भने, कसैले विरोध त के मेराविरुद्ध आत्मदाह नै गर्छ भने पनि मेरो आवाज रोकिने छैन,’ सामाजिक सञ्जालमा सहसंयोजक तामाङले लेखेका छन्।

यसअघि, भदौ १२ गते अनेरास्ववियूका तर्फबाट सहसंयोजक तामाङले एसइई ग्रेडिङ मापदण्ड स्थगित गर्नुपर्नेसहित २१ सूत्रीय माग राखेर शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए।

इमेलमार्फत् बुझाइएको ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्बन्धित ११ वटा र विश्वविद्यालय शिक्षासँग सम्बन्धित १० वटा माग प्रस्तुत गरिएको छ।

यही विषयमा असन्तुष्ट अनेरास्ववियूको एक समूह खुलेरै सहसंयोजक तामाङको आलोचनामा लागेको छ। कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षामन्त्री पोखरेलसँगको टेलिफोन संवाद गरी इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त पत्र पोखरेलले ग्रहण गरिसकेका छन्।

के–के छ अनेरास्ववियूका माग

शैक्षिकसत्र कुनै हालतमा खेर जान नदिन, वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाइ सहजीकरण निर्देशिका २०७७ को समीक्षा तथा अनुगमन गरी त्यसलाई शैक्षिक सत्रकै अंग बनाउन माग गरेको छ।

कक्षा ११ मा भर्ना हुनका लागि यस वर्ष तय गरिएको एसइई ग्रेडिङ मापदण्डलाई स्थगित गरी गत वर्षको मापदण्डअनुसार नै भर्ना गर्न माग गरिएको छ।

अनलाइन शिक्षा लगायतका विशेष शिक्षाको लागि विशेष योग्यता भएका जनशक्तिलाई करारमा भर्ती गर्न र स्वयंसेवक शिक्षकको व्यवस्था गर्नुपर्ने माग पनि अनेरास्ववियूका तर्फबाट सहसंयोजक तामाङले माग गरेका छन्।

अनेरास्ववियूले विद्यालय तहका विद्यार्थीको भर्ना अभिलेख राख्न र कक्षान्नोत्ति गर्न तथा होम सेन्टरको व्यवस्था गरी कक्षा १२ को परीक्षा चाँडोभन्दा चाँडो गर्न माग गरेको छ।

शैक्षिक वातावरण बनाउन आइसोलेसन र कोरेन्टिनहरू रहेका विद्यालयहरूमा डिसइन्फेक्सन गर्न तथा क्वारेन्टिनहरुको वैकल्पिक व्यवस्था गर्नसमेत माग गरिएको ज्ञापनपत्रमा सेमेस्टर प्रणालीमा चलेका कक्षाहरुको हकमा स्वतः सेमेस्टर अपग्रेड गर्ने र सहज भएको समयमा क्रमशः बाँकी रहेका सबै समेस्टरहरूको परीक्षा गराउन माग गरिएको छ।

नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल लगायत सम्पूर्ण व्यवसायिक परिषदबाट लिइने लाइसेन्स परीक्षाहरु वैकल्पिक प्रणालीबाट सञ्चालनको व्यवस्था गर्नसमेत माग गरिएको छ।

साथै विद्यार्थीलाई लक्षित गरी सबै शिक्षण संस्थाहरुमा वाइफाई तथा विद्यार्थीहरूलाई सुपथ रुपमा नेपाल टेलिकम तथा एनसेल डाटाप्याकको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल