Logo

प्रदेश-१

गोरु काटेको विषयले कामाटाेली तनावग्रस्त, प्रहरीको गाेलीले एकको मृत्यु, सद्‍भाव कायम राख्न स्थानीयको माग



नारायण कडरिया, झापा, १० भदौ – मुश्लिम बहुल क्षेत्रमा गोरू काटेको विषयको विवाद उत्कर्षमा पुग्दा झापामा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ।

गोरू काटेको अभियोगमा स्थानीय दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि शुरु भएको प्रदर्शन नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरीको गोलीले एक व्यक्तिको मृत्यु भएको हो।

झापा जिल्लाको दक्षिणी झापा गाँउपालिका–३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागेर कामाटोलीका ३८ वर्षीय रफिक मियाको मृत्यु भएको हो।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका मियाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल उपचारका क्रममा साँझ साढे ७ बजे मृत्यु भएको हो।

कसरी भयो घटना?

कामाटोली मुश्लिम बहुल क्षेत्र हो। त्यहाँ बुधबार गोरू काटेको जानकारी पाएपछि परिचालित प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको थियो।

प्रहरीको टोलीलाई स्थानीयले प्रतिकार गर्न थालेपछि सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थानीय ताजमुल मियाँ र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरी स्राेतका अनुसार प्रहरी टोलीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा गोली चलाएको छ।

‘सुरक्षाका लागि खटिएको दुई जना प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको हो, स्थानीयबासी प्रदर्शनमा उत्रिएर प्रहरीमाथि नै आक्रमण हुन थालेपछि स्थिति सम्हाल्न फाइरिङ गर्नुपर्ने परिस्थिति आइलाग्यो,’ प्रहरी स्राेतले एशिया सञ्चारसँग भन्याे।

प्रहरीका अनुसार मृतक मियाको ढाडमा २ गोली लागेको छ। साथै घटनास्थल कामाटोली वरपर व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।

जातीय सद्भाव नखल्बलियोस्ः स्थानीयबासी

सशस्त्र प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि अहिले कामाटोलीबासी त्रसित र भयभित छन्। कोरोना प्रकोपको आतंकले त्रसित रहेका स्थानीयबासी प्रहरीको गोली लागेर छिमेकीको ज्यान गएपछि अझै सन्त्रासयुक्त स्थितिमा बस्न बाध्य भएका हुन्।

यसैबीच, स्थानीयबासी एवं जनता समाजवादी पार्टी नेपालका प्रदेश सदस्य गौरीमान राईले मुश्लिम बहुल इलाकामा भएको घटनालाई जिम्मेवारीपूर्ण ढंगले समाधान गर्न माग गरेका छन्।

‘यो मुश्लिम बहुल क्षेत्र भए पनि यहाँ सबै समुदायबीच सद्भाव छ, यो सद्भाव नखल्बलिने गरी समाधान खोजिनु पर्छ,’ राईले भने, ‘आज अप्रिय घटना भयो, तर अब संवेदनशील र विवेकपूर्ण ढंगले यो समस्याको निराकरण गरिनुपर्छ।’

यसैबीच, दिउँसो तनावग्रस्त भएको कामाटोलीमा स्थानीयबासी, सुरक्षा निकाय, प्रशासनका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवालाहरूबीच छलफल भइरहेको छ।

बैठकमा घटनाको गाम्भीर्यता र जातीय सद्भावको मर्म बुझेर निकास निकाल्नेबारे छलफल भइरहेको छ।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल