Logo

खेलकुद

युरोपेली च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिकलाई



काठमाडौं, ७ भदाै – युरोपेली च्याम्पियन्स लिगको उपाधि जर्मन च्याम्पियन बायर्न म्युनिकले जितेको छ। बायर्नले स्टार खेलाडीले भरिएको फ्रान्सको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई प्रतिस्पर्धात्मक खेलमा १-० गोल अन्तरले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको हो।

बायर्नको जीतमा मिडफिल्डर किङ्ग्सले कुम्यान नायक सावित भए। लेवनडोवस्कीको क्लब बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो। 

बायर्नको लागि यो छैटौं च्याम्पियन्स लिग उपाधि हो। २०१३ पछि पहिलोपटक जित्न सफल भएको हो। लेवनडोवस्कीले पछिल्लो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको पनि त्यतिबेला नै हो।

तर, त्यतिबेला उनी बोरुसिया डर्टमन्डमा थिए। डर्टमन्डबाट बायर्नमा अनुबन्ध भएपछि लेवनडोवस्की चार पटक सेमिफाइनलबाट बाहिरिएका थिए। 

‘‘असफल हुदैमा सपना देख्न छोड्नु हुदैन। हरेस खानु हुदैन। लक्ष्य प्राप्तिका लागि कडा मिहिनेत गर्नुपर्छ,’’ ट्रफी अगाडि राखेर पोल्यान्डको झन्डा बोकेको फोटोसहित ३२ वर्षे फरवार्ड लेवनडोवस्कीले ट्वीट गरेका छन्। 

किङ्सले कोम्यानले ५९औं मिनेटमा हेडमार्फत गरेको गोल बायर्नलाई छैटौं पटक च्याम्पियन बनाउन पर्याप्त भयो। यससँगै बायर्न च्याम्पियन्स लिगको ११ खेल नै जित्ने पहिलो टीम बन्यो। 

लेवनडोवस्कीले जारी सिजन च्याम्पियन्स लिगमा पहिलोपटक गोल गर्न असफल रहे। यसअघि उनले १० खेलमा १५ गोल गरेका थिए। उनी क्रिष्टियानो रोनाल्डोले २०१३/१४ मा बनाएको कीर्तिमानबाट दुई गोलले मात्र पछाडी रहे। रोनाल्डोले उक्त सिजन १७ गोल गरेका थिए। 

लेवनडोवस्कीले बायर्नबाट च्याम्पियन्स लिगमा ५० गोल गरिसकेका छन् भने समग्रमा ६८ गोल गरेका छन्। उनीभन्दा धेरै गोल गर्नेमा रोनाल्डो (१३०), लियोनल मेसी (११५) र राउल गोन्जालेज (७१) मात्र छन्। 

खेल सकिएको अन्तिम सिटी बजेपछि बायर्नका खेलाडीले जर्सी परिवर्तन गरे। नयाँ टिसर्टमा लेखिएको थियो, ‘च्याम्पियन अफ यूरोप’ अर्थात यूरोपको विजेता। 

बायर्नले बिनादर्शकको रंगशालामा उपाधिको खुशी मनाएको थियो। बेनफिकाको रंगशालामा सयको संख्यामा केही दर्शकलाई प्रवेश गर्न दिइएको थियो। 

कतारका धनाढ्हरूले १ अर्ब अमेरिकी डलर लगानी गरेको पीएसजी उपाधि नजिक पुगेर बञ्चित भयो। नेइमार, केलियन एमबाप्पे र एन्जेल डी मारियालाई मात्र पीएसजीले ५० करोड अमेरिकी डलर खर्च गरेको छ। पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सफल भए पनि उपाधि उचाल्न भने सफल भएन। 

बायर्नले भने यस सिजन तीन उपाधि जितेर सिजनको अन्त्य गर्‍यो। बायर्नले घरेलु प्रतियोगितामा जर्मन बुन्डेसलिगा र जर्मन कपको उपाधि जितेको थियो।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल