Logo

राजनीति

मालीमा सैनिक विद्रोह, सेनाले बन्धक बनाएपछि राष्ट्रपति र प्रधानमन्त्रीले दिए राजीनामा



माली (बीबीसी), ३ भदौ – अफ्रिकी देश मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटाले आफ्नो पदबाट राजीनामा दिएका छन्। मालीको सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिमको राजीनामा पुष्टि गरेको हो।

टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति इब्राहिमले संसद तथा सरकार पनि भंग गरेको र पदबाट राजीनामाको घोषणा गरेका हुन्।

राष्ट्रपति इब्राहिमले आफूले रक्तपात नचाहेको प्रष्टीकरण दिएका छन्। ‘म चाहँदिन मेरो शासनकालमा कुनै रक्तपात होस्, यदि हाम्रै सैनिक बलका केही मानिसले मेरो शासनमा दखल राख्न खोज्छन् भने मेरो भन्नु के छ र, मेरो बिकल्पै के छ र!,’ उनले भनेका छन्।

यो घोषणाको केही समयअघि नै मालीका विद्रोही सैनिक बलले राष्ट्रपति बुबाकार र प्रधानमन्त्री बोबु सिसेलाई नियन्त्रणामा लिइसकेको थियो।

राजधानी बामाको नजिकै एक सैनिक क्याम्पमा ठूलो विष्फोटको आवाज सुनिएसँगै देशमा सैनिक विद्रोहको शुरुवात भएको थियो।

मालीमा केही समयदेखि राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्किएको थियो। मंगलबार केही असन्तुष्ट सैनिकहरूले राजधानीदेखि १५ किलोमिटर टाढा रहेको एउटा सैनिक क्याम्पमा आफ्ना कमाण्डरहरुलाई नियन्त्रणमा लिएका थिए। लगत्तै सहरमा युवाहरुले सरकारी भवनमा आगजनी शुरु गरे।

विद्रोहीसँगको लामो समयको युद्ध र आफ्नो सेवासुविधाका विषयमा यहाँको सैनिक जत्था पहिलादेखि नै असन्तुष्ट थियो।

राष्ट्रपति इब्राहिमले २०१८ मा दोस्रोपटक पनि चुनाव जितेर सत्तामा आएका थिए। तर, इब्राहिमको शासन कालमा भ्रष्टाचार र साम्प्रदायिकता बढेको र देशमा आर्थिक व्यवस्था कमजोर भएको आरोप लागिरहेको छ।

विद्रोही समूहको नेतृत्व गरिरहेका इमाम मोहम्मुद डिकोको नेतृत्वमा विपक्षी गठबन्धनल संयुक्त सरकार गठनको माग गर्दै आएका बेला सेनाले विद्रोह गरेको हो।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल