Logo

अन्तरवार्ता

‘सरकारको प्रयासका बाबजुद कोरोना प्रकोपका कारण पर्यटन क्षेत्रमा ५० अर्ब क्षति’ (अन्तरवार्ता)



कोरोना प्रकोप नभएको भए अहिले नेपालमा पर्यटकको भीड हुने थियो । सरकारले भ्रमण वर्ष २०२० मनाउन भव्य तयारी गरेको थियो । तयारी मात्रै होइन, पर्यटकहरूलाई आकर्षित गर्न विश्वभरि नै प्रचारप्रसार अभियान तीव्र पारिएको थियो । तर, कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण नेपालको अर्थतन्त्र अस्तव्यस्त भयो । पर्यटन वर्ष मनाउनका लागि गरिएको लगानी खेर गयो । यसबीचमा पर्यटन क्षेत्रमा परेको असर, अर्थतन्त्रलाई सवल बनाइराख्न सरकारले गरेको प्रयास र अबको योजनाका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग एशिया सञ्चारका लागि ऋषि थपलियाले गरेको कुराकानीः

कोरोना भाइरसको महामारीले पर्यटन क्षेत्र अस्तव्यस्त भएको छ । यस्तो अवस्थामा पर्यटन क्षेत्रमा संलग्न व्यवसायी, श्रमिक र अन्य सरोकारवालाहरूलाई राहत दिने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय के गरिरहेको छ ?

–कोरोना भाइरसका कारण उत्पन्न प्रकोपको नकारात्मक असर पर्यटन क्षेत्रमा परेको छ । उड्डयन क्षेत्र र पर्यटकहरूको भ्रमण ठप्प भएपछि पर्यटन उद्योग धरासायी हुने नै भयो । साथै भ्रमण वर्ष २०२० को तयारी गरेका थियौं, जस अन्तर्गत २० लाखभन्दा बढी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको थियो । त्यसका निम्ति सरकार र निजी क्षेत्रको लगानी पनि भइरहेको थियो । पर्यटन पूर्वाधारको निर्माण साथै सेवा प्रदान गर्ने होटल, ट्राभल, एयरलाइन्स जस्ता क्षेत्रहरूमा ठूलो मात्रामा लगानी पनि गरिरहेको थियो । र, अहिले नेपालमा सरकारी क्षेत्रबाट हेर्ने हो भने पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा करिब १५ खर्बको लगानी देखिन्छ । नेपालमा पर्यटन क्षेत्रबाट झण्डै ४–५ लाख प्रत्यक्ष रोजगारी देखिन्छ । करिब ९ लाख अप्रत्यक्ष रोजगारी पनि यसमा जोडिएको छ । विदेशी मुद्रा आर्जनको हिसाबले हेर्ने हो भने झण्डै ५७ प्रतिशत हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ। गत सालको तथ्याङ्क अनुसार ८६ अर्ब विदेशी मुद्रा पर्यटन क्षेत्रबाट आर्जन भएको छ ।

त्यो कुल विदेशी मुद्रा आर्जनको ७० प्रतिशत हो । पछिल्लो दिनमा लगानी पनि एकपछि अर्को गर्दै पर्यटन क्षेत्रमा थपिँदै थियो । त्यसैगरी, पाँचतारे होटलहरू, मनोरञ्जन पार्क, केबलकार, हवाई क्षेत्र र एयरलाइन्सहरूमा ठूलो मात्रामा लगानी बढ्दै थियो । अहिले यी सबै क्षेत्रहरु सिथिल मात्रै होइन ठप्प नै भएको अवस्था छ । कोरोनाका कारण पर्यटन क्षेत्रले झण्डै ५० अर्बको क्षति व्येहोरिसकेको छ । अब हाम्रो अमुक मन्त्रालयको अमुक मन्त्रीको मात्रै नियन्त्रणमा यो सब थिएन । त्यसकारण विश्वव्यापी प्रभावमा हामी पर्‍यौँ । जसले गर्दा पर्यटन क्षेत्र एकदमै दुःखद् अवस्थामा छ । यो अवस्थाबाट फेरि हामी फर्किन्छौं कि फर्किंदैनौं एउटा गम्भीर प्रश्न पर्यटन बजारमा उठिराखेको छ । कतिपयले भन्छन्, अब हामी यो अवस्थामा फर्किन सक्दैनौं, हामी तहसनहस भयौं आदि इत्यादि । तर, मलाई के लाग्छ भने मानव जातिले सबै चुनौतीलाई पार गर्दै यहाँसम्म आइपुगेको हो । कोरोना भाइरसले सिर्जना गरेको चुनौतीलाई पनि हामी नेपाली जनताले विश्व समुदायसँग मिलेर सिंगो मानव जातिले यो चुनौतीबाट पार पाउन सक्छौँ ।

त्यसो भए यो अवस्थाको अन्त्य र पर्यटन क्षेत्रमा अपेक्षाकृत सुधार कहिलेबाट हुन्छ ?

–अहिले हामीले भनिरहेका छौं, २०२० कोरोना प्रकोपसँग संघर्ष गर्दै जान्छ । २०२१ मा केही सहज होला । र, २०२२ मा हामी पुरानै लयमा फर्किन्छौं । तसर्थ अझै झण्डै डेढ वर्ष निकै कठिन परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।

अनि, सरोकारवालाहरूसँग समन्वय तथा अबको डेढ वर्ष महामारीसँग जुध्ने योजना चाहिँ कस्तो छ ?

–यस सम्बन्धमा नेपाल सरकारका तर्फबाट व्यवसायीहरूलाई काउन्सिलिङ गरिरहेका छौं । नआत्तिन भनेका छौं, परिस्थितिलाई नजिकबाट नियाल्नका निम्ति अनुरोध गरेका छौं । परिस्थितिलाई अनुकुल बनाउन प्रयास गर्न भनेका छौं । दोश्रो कुरा, पर्यटन क्षेत्रका कामदार र श्रमिकहरू सडकमा आउनुपर्ने स्थिति नबनोस् भन्नका निम्ति सरकार, पर्यटन व्यवसायी र मजदुरहरूका बीचमा त्रिपक्षीय समझदारीबाट अहिले केही अस्थायी समाधान खोजौं भन्नका निम्ति केही समझदारी भएका छन् । तेस्रो कुरा, कोरोना भाइरसबाट संक्रमितलाई उपचार गरेर घर फर्काउने भनेका छौं । त्यसकारण मान्छेको जीवनरक्षा र स्वास्थ्यलाई हामीले प्राथमिकतामा राखेका छौं । त्यसकारण हाम्रो बजेटको ठूलो हिस्सा औषधि उपकरण, जनशक्ति परिचालन लगायतमा खर्च हुन्छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पहिलेभन्दा शतप्रतिशत भत्ता र पारिश्रमिक दिइराखेका छौं । त्यसकारण अहिले चाहेर पनि बजेट अन्यक्षेत्रमा खर्च गर्नसक्ने अवस्था छैन ।

पर्यटन व्यवसायी र श्रमिकलाई सरकारले राहत दिन कस्तो प्याकेज ल्याउँदै छ ?

–कोरोना प्रकोपका कारण बजेट स्वास्थ्यक्षेत्रमै केन्द्रित गर्नु परिरहेको छ । तर, मेरो पहलमा मन्त्रालयका तर्फबाट प्रधानमन्त्रीसँग कुरा गर्‍यौँ । अर्थमन्त्रीसँग कुरा गर्‍यौं । नेपाल राष्ट्र बैंक, पर्यटन व्यवसायीसँग कुरा गरेका छौँ । उक्त छलफलमा बजेट र नीति तथा कार्यक्रमको माध्यमबाट तथा राष्ट्र बैंकबाट हालैमात्र जारी भएको मौद्रिक नीतिका माध्यमबाट व्यवसायीहरूलाई यो बीचमा के–कस्ता सेवा सुविधा र सहुलियत दिन सकिन्छ भन्ने विषयमा विमर्श भयो । व्यवसायीहरूको कर्जाको ब्याज घटाउने अन्तःशुल्क र जरिवाना लगायतलाई छुट दिने, व्यवसाय चलाउन सस्तो ब्याजमा ऋण दिने भन्ने लगायतका नीति मन्त्रालयले अघि सारेकोे छ । साथै, अन्तर मन्त्रालय तथा निजी क्षेत्रको समन्वयमा हामीले काम गरिरहेका छौं ।

श्रमिकको अवस्था त बेहाल छ नि मन्त्रीज्यू । श्रमिकका लागि चाहिँ के गरिरहनु भएको छ ? कस्तो योजना ल्याउँदै हुनुहुन्छ ?

–सबै श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भएका छैनन् । होटल तथा अन्य व्यवसायीलाई आफ्ना कामदारलाई सुरक्षा कोषमा आबद्ध गर्नका निम्ति हामीले भनेका छौं । त्यसो हुँदा, सामाजिक सुरक्षा कोषको एउटा निश्चित रकम नेपाल सरकारले व्येहोर्छ । र, श्रमिकहरुलाई केही राहत पुग्छ । साथै, होटल सञ्चालकले मन्त्रालयको समेत सहयोगमा श्रमिकको जीविकोपार्जनका लागि केही सम्झौता भएका छन् । उहाँहरूसँग न्यूनतम पारिश्रमिक दिएर अघि बढ्ने भन्ने सहमति भएको छ । यसले तत्कालको समस्या समाधान हुन्छ ।

धेरै नेपाली अहिले पनि विभिन्न देशमा अलपत्र छन् । उनीहरूलाई स्वदेश फर्काउनका लागि सरकारले कस्तो तयारी गर्दैछ ?

–कोरोना प्रकोपका कारण देशबाहिर रहेका नेपाली नागरिकहरू अलपत्र परेको यथार्थ हो । उहाँहरूको उद्दार गर्नुपर्ने छ । र, अहिले विभिन्न देशहरूबाट ४० हजार नेपालीलाई स्वदेश फर्काएका छौँ । देश फर्किनका लागि अझै पनि लाखौंको संख्यामा नाम टिपाउनु भएको छ ।

सरकारले भदौ १ गतेदेखि नियमित उडानमार्फत विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याउने निर्णय गरेको थियो । तयारी के छ ?

–भदौ १ गतेदेखि नियमित उडान सुचारु गर्ने भन्ने सोचका साथ नेपाल सरकारले निर्णय गरेको हो । त्यसको तयारी गर्न विभिन्न प्रोटोकलहरू मन्त्रालयले जारी गरेको छ । विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काए कोरोनाको फैलावट अझै बढ्ने खतरा हुन्छ । र, समुदायस्तरमै पनि महामारीको जोखिम बढ्न सक्छ ।

स्वास्थ्य मन्त्रालयसँग समन्वय तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनाको सवालमा कतिको ध्यान दिइरहनु भएको छ ?

–स्वास्थ्य मन्त्रालयको गाइडलाइन हेर्ने हो भने अहिले नै यातायात तथा उडानहरू खोल्नु हुँदैन । स्वास्थ्य मन्त्रालयले पनि यही भनिरहेको छ । यस सन्दर्भमा हामी फेरि नेपाल सरकार मन्त्रिपरिषद् बैठकमा यस विषयमा छलफल गर्छौं । उडान गर्नुपर्ने भए पनि हामी अति सुरक्षित हिसाबले मात्र उडान गर्छौं । किनभने मानव जातिको स्वास्थ्यभन्दा ठूलो कुरा अरु केही होइन । उडान गर्दा पनि प्लेनमा आउने यात्रुहरूको अनिवार्य पिसिआर परीक्षण गर्नुपर्छ । र, रिपोर्ट नेगेटिभ भएकालाई मात्रै प्लेनमा यात्रा गर्न दिइने छ । नेपालमा आएपछि उहाँहरू सरकारले तोकेअनुसार निश्चित समय क्वारेन्टिनमा बस्नुपर्छ । र, फेरि पनि उहाँहरूको परीक्षण गरिन्छ । यसो गर्न किन आवश्यक छ भने, उहाँहरूका कारणले परिवार र समुदायमा संक्रमण नफैलियोस् ।

भदौ १ गतेदेखि नियमित उडान सञ्चालन हुन सकेन भने सरकारले कस्तो निर्णय गर्छ ?

–यदि भदौ १ बाट नियमित हवाई उडान गर्न सक्ने अवस्था भएन भने सरकारले आवश्यक निर्णय लिन्छ । तत्काललाई उडान स्थगित गरेर केही समयपछि मात्रै नियमित उडान गर्छौं । त्यसका लागि सम्पूर्ण तयारीमा हामी जुट्ने छौँ ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल