Logo

समाचार

कोरोना संक्रमण बढेपछि सवारीसाधनमा जोरबिजोर लागू, गृह मन्त्रालयले दियो कडा निर्देशन (निर्णयसहित)



काठमाडौं, २१ साउन – सरकारले बिहीबारदेखि निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय सार्वजनिक गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले प्रेस विज्ञप्ति जारी गरी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २ सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोरबिजोर लागू जानकारी दिएका हुन्।

‘काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै यात्रुबाहक सवारीसाधनहरूलाई साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने,’ प्रवक्ता बुढाले विज्ञप्तिमा भनेका छन्, ‘काठमाडौं उपत्यका र कोभिड–१९ को २ सयभन्दा बढी सक्रिय संक्रमण केस भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनहरू भोलिदेखि लागू हुनेगरी जोरबिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने।’

साथै यस वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्लाभित्र समेत बेलुका ९ बजेदेखि आवागमन बन्द गर्ने निर्णय पनि गृह मन्त्रालयले गरेको छ।

प्रवक्ता बुढाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने–गराउने निर्णय भएको बताए।

‘मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने, जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सोको सञ्चालक समेतलाई कारबाही गर्ने निर्णय भएको छ,’ बुढाले भने।

सहसचिव बुढाका अनुसार कोभिड–१९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र तथा स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने र कोभिड–१९ को थप परीक्षणको व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ।

साथै, सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाईका साथ निषेध गर्ने र होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्यमा गृह मन्त्रालयले निषेध गरेको छ।

सरकारले गएको २६ असारदेखि निजी यातायातका साधनमाथिको जोरबिजोर हटाएको थियो।

साथै, उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो। भदौ १ गतेदेखि लामो दुरीको सवारी चलाउन दिने निर्णय पनि सरकारले गरेको थियो।

कसरी भयो नवजात शिशुमाथि यत्रो षड्यन्त्र ? को हुन् शिशुकी आमा ?

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल