Logo

समाचार

कोरोना भाइरसको संक्रमणबाट विभिन्न देशमा १ सय ८९ जना नेपालीको मृत्यु



जीएनएन, लण्डन, १८ साउन – कोरोना भाइरसको संक्रमणका कारण नेपाल बाहिर अहिलेसम्म १ सय ८९ जना नेपालीको ज्यान गएको छ ।

गैर आवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार नेपाल बाहिर विभिन्न मुलुकमा बसोबास गर्ने १ सय ८९ जना र नेपालमा ५६ जना गरी २ सय ४५ जना नेपालीको मृत्यु भएको हो।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ संक्रमणका कारण गतसाता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको संघले उल्लेख गरेको छ।

संघका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै अहिलेसम्म २५ जना नेपालीको ज्यान गएको छ। एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या २५ पुगेको पुष्टि भएको बताए।

‘अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्सेज नयाँदिल्लीमा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन्,’ सापकोटाले भने।

यस्तै, गतसाता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ। साउदी अरबमा दुई जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ।

लक्जेमबर्गमा ३५ नेपाली संक्रमित

युरोपेली मुलुक लक्जेमबर्गमा बसोबास गर्ने ३५ जना नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन्। एनआरएनए स्वास्थ्य समितिका अनुसार एक वैवाहिक वर्षगाँठमा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ।

एनआरएनएका अनुसार अहिलेसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन्। जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतार लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन।

यसैबीच नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ। शनिबारसम्म नेपालमा २० हजार ८६ जनामा कोरोना संक्रमण देखिएको छ। १४ हजार ४ सय ९२ जना कोरोना मुक्त भएका छन्।

नेपालीलाई सचेत रहन आग्रह

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ।

समितिले स्पेन, बेल्जियम, बेलायत, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई सचेत रहन आग्रह गरेको छ।

समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भावना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा मानिसहरु भेला हुने अन्य स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ।

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल