Logo

समाचार

पाल्पाली संगमको अन्तर्राष्ट्रिय समन्वय संयोजकमा सतिश चापागाई



काठमाडौं, ११ साउन – पाल्पाली संगमको अन्तर्राष्ट्रिय समन्वय संयोजकमा अमेरिकामा रहेका पत्रकार सतिश चापागाई मनोनित भएका छन्।

विभिन्न देशमा रहेका पाल्पालीहरूलाई देश अनुसार संगठित गर्दै विश्वभरका पाल्पालीहरूलाई एउटै सञ्जालमा जोड्ने प्रयास स्वरुप चापागाईलाई संयोजक तोकिएको संगमले जानकारी दिएको हो।

आपसी सहयोग र पाल्पाको विकासका लागि समन्वयकारी भूमिका खेल्न संगमलाई विश्वव्यापी बनाउने वर्तमान कार्यसमितिको परिकल्पना अनुसार सामाजिक अभियन्ता एवं पत्रकार चापागाईलाई संयोजकमा नियुक्त गरिएको अध्यक्ष पदम न्यौपानेले जानकारी दिएका हुन्।

न्यौपानेले चापागाईलाई दिएको मनोनयन पत्रमा अधिकभन्दा अधिक देशमा पाल्पाली संगमको संगठन विस्तार गर्न सफलता मिल्ने विश्वास व्यक्त गरिएको छ।

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर–१० का स्थायी बासिन्दा चापागाई अहिले अमेरिकामा सपरिवार बसोबास गर्दै आएका छन्।

गैरआवसीय नेपाली संघ अमेरिकाको सञ्चार संयोजक रहेका चापागाई नेपाली डायस्पोरा अनलाइन र जोगसंजोग अनलाइन टिभी कार्यक्रम पनि चलाउँदै आएका छन्।

संगमको केही दिन पहिले बसेको बैठकले विभिन्न देशहरूमा रहेका पाल्पालीहरूलाई संगठित गर्ने, पाल्पाली संगमको सम्पर्कमा ल्याउने, विदेशमा पाल्पाली संगमको शुभेच्छुक पाल्पाली संस्थाहरू गठन गर्ने तथा स्थापना भइसकेका पाल्पाली संस्थाहरूको सवलीकरण गर्ने कामका चापागाईलाई अन्तर्राष्ट्रिय समन्वय संयोजकमा मनोनयन गर्ने निर्णय गरेको संगमका महासचिव विष्णु खत्रीले जानकारी दिए।

संयोजक मनोनयन भएपछि चापागाईले आफूलाई महत्त्वपूर्ण जिम्मेवारी आएको बताए। उनले संसारभर छरिएका पाल्पालीहरुलाई संगठित गर्ने अभियान चलाउने बताएका छन्।

बैठकले पाल्पाली संगमको वेभसाइटलाई व्यवस्थित गरेकोमा सचिव तथा वेभसाइट समिति संयोजक जीवन भण्डारीलाई धन्यवाद दिँदै प्रकाशन योग्य सामग्रीहरू सबैले संकलन गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, पाल्पाली बहुआयामिक व्यक्तित्व स्व. विनय कसजु स्मृति कोषलाई विधान बनाएर दर्ता गर्न संगमका अध्यक्ष पदम न्यौपाने र सचिव जीवन भण्डारीलाई जिम्मेवारी दिने निर्णय संगमले गरेको छ।

संगमको स्थापना दिवसमा प्रकाशन गर्ने निर्णय गरिएको पाल्पा दर्पण आगामी दशैतिहारको अवसरमा प्रकाशन गर्नेगरी तयारी गर्ने निर्णय पनि गरिएको छ।

बैठकमा लकडाउनको बेलामा काठमाडौंमा रहेका १६ परिवारलाई राहत वितरण, पाल्पामा अप्ठ्यारोमा परेका श्रमिकहरूको दुई समूहलाई उद्दार, पाल्पा र पाल्पालीसँग सम्बन्धित सूचनाहरूको संप्रेषण, भर्चुअल कवि गोष्ठी, वेभसाइटको अपडेट, रेडियो मदनपोखरासँगको साझेदारीमा कोरोनासम्बन्धी सचेतनामूलक सूचना प्रशारणलगायतका कार्यहरु गरिएको जानकारी दिइएको थियो।

विभिन्न पेशा व्यवसाय र अध्ययनका लागि काठमाडौंमा रहेका पाल्पालीहरूले २०३२ देखि अनौपचारिक छलफल र भेटघाटवाट शुरु गरेर २०३८ सालमा संगमको गठन गरेका थिए। यसले आफनो प्रकाशनको रुपमा २०३९ सालदेखि नै पाल्पा दर्पण प्रकाशन गर्दै आएको छ।

विक्रम संवत् २०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत दर्ता भएको संगम पाल्पाभन्दा बाहिर रहेका पाल्पालीहरूको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो संस्था मानिन्छ।

यो पनि हेर्नुहोस्ः कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीमाथि उठाए प्रश्न

प्रकाशित : ११ श्रावण २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल