Logo

विश्व

इंग्ल्याण्डमा शुक्रबारदेखि ‘फेस मास्क’ अनिवार्य



लन्डन (जीएनएन) – लकडाउन खुकुलो पार्दै जाँदा संक्रमण फैलन सक्ने खतरा कम गर्न इंग्ल्याण्डमा शुक्रबारदेखि ‘फेस मास्क’ प्रयोगलाई अनिवार्य गरिएको छ।

सरकारले स्टोर, बैंक, सुपरमार्केट, शपिङ सेन्टर लगायतका स्थानहरुमा फेसमास्क प्रयोग गर्नु पर्ने नियम लागू गरेको छ।

बेलायतको स्वास्थ्य र सामाजिक सेवा विभागले फेसमास्कको प्रयोगसम्बन्धी नियम बिहीबार सार्वजनिक गरेको थियो ।

सरकारले ब्यापार तथा सेवाप्रद कम्पनीहरुलाई आफ्ना ग्राहकहरुलाई फेसमास्क लगाउन प्रोत्साहन गर्न अनुरोध गरेको छ।

जस अनुसार इंग्ल्याण्डका स्टोरहरु, बैंक, हुलाक, टेकअवे, शपिङ सेन्टर, बस स्टप, एयरपोर्ट लगायतका सार्वजनिक स्थलमा फेसमास्क अनिवार्य गरिएको छ । त्यस्तै सार्वजनिक बस तथा रेलहरुमा केही अघिदेखि नै मास्कको प्रयोग अनिवार्य गरिएको थियो।

नयाँ नियमावली अनुसार सार्वजनिक स्थलहरुमा फेसमास्कको प्रयोग नगर्नेहरुलाई १ सय पाउन्ड सम्म जरिवाना गर्न बताइएको छ। उक्त जरिवाना १४ दिनभित्र बुझाइए ५० पाउन्ड मात्रै लाग्नेछ।

अनिवार्य फेसमास्कको नियम खाने पिउने स्थलहरु रेष्टुरेन्ट, पब, जीम, सलून, थिएटर लगायतमा भने लागू नहुने बताइएको छ, तर सामाजिक दुरी कायम गर्नु पर्ने छ।

एडिनबरा विश्वविद्यालयमा ग्लोबल पब्लिक हेल्थकी प्राध्यापक देवी श्रीधरले भनिन्, “मास्कले हामी बोल्दा, खोक्दा वा हाच्छिउं गर्दा निस्कने हावाका कणहरु रोक्दछ। यसले कोरोनाको प्रसार रोक्न मद्दत पुग्छ। यो गाह्रो काम पनि होइन। त्यसैले मास्क लगाउनु एकदमै बुद्धिमत्तापूर्ण काम हो।”

फेसमास्क प्रयोगले संक्रमित व्यक्तिबाट अन्यमा संक्रमण फैलिने जोखिम कम हुन्छ भन्ने तथ्य स्थापित भइसकेको भन्दै सरकारले फेसमास्क अनिवार्य गरेको हो।

लन्डनका मेयर सदिक खानले भने, “अनुहार छोप्ने मास्क लगाउने जस्ता कामबाट हामीले कोभिड – १९ को संक्रमण रोक्न सक्छौं भने अनगिन्ति जीवन जोगाउन आफ्नो भूमिका पनि निर्वाह गर्न सक्छौं।”

११ वर्षमुनिका बालबालिका एवम् मेडिकल कारणले असमर्थ हुनेको लागि यो नियम अनिवार्य हुने छैन। ग्राहक तथा सेवाग्राहीलाई फेस मास्क अनिवार्य गरिएका स्थानमा त्यहाँ कार्यरत कर्मचारीलाई बाध्यकारी बनाइएको छैन।

प्रकाशित : ८ श्रावण २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल