Logo

समाचार

‘कोरोना प्रकोपमा नेपाल विश्वकै रोलमोडल बन्ने अवसर थियो, हामीले त्यो अवसर गुमायौं’



जीएनएन, लण्डन, १७ असार – जनस्वास्थ्यविद डा. दिनेश न्यौपानेले नेपालले कोरोना नियन्त्रण गर्ने सुनौलो अवसर गुमाएको बताएका छन्।

न्यौपानेले नेपालले अरु कयौं मुलुकहरूभन्दा चाँडै लकडाउन गरेपनि सीमा नाकाबाट भित्रिने नेपालीहरू व्यवस्थापन राम्रोसँग गर्न नसक्दा अहिले स्थिति थप गम्भीर हुँदै गएको बताएका हुन्।

विगत १० वर्षदेखि नेपालको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष अनुसन्धान गर्दै आएका अनुसन्धानविज्ञ डा. न्यौपानेले कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइन र आइसोलेसनलाई प्रभावकारी बनाउन सकिएको भए नेपाल विश्वकै रोल मोडल बन्ने अवसर नेपालले गुमाएको बताए। ‘तर, हामीले अहिले त्यो अवसर गुमायौं,’ उनले भने।

विश्वभरिको कोरोना संक्रमण र विस्तारको अनुगमन गरिरहेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयसँग न्यौपानेले भने, ‘महामारीलाई नियन्त्रण गर्न भएका प्रयासहरुलाई बोर्डर क्षेत्रमा भएका लापरबाहीहरूले गर्दा दुर्भाग्यवश नेपालका सबै जिल्लामा संक्रमण फैलियो, पर्याप्त तयारी विना लकडाउनलाई खुकुलो बनाउने प्रयास तथा विभिन्न विरोध प्रदर्शनहरुले समस्यालाई अझ गम्भीर बनाउँदै लगेको छ।’

‘अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले टेस्टले देखाएभन्दा संक्रमितहरूको संख्या दश गुनाबढी भएको अनुमान लगाएको छ, यसर्थ नेपालको परिप्रेक्षमा हाल सरकारी तथ्यांक भन्दा संक्रमितहरुको संख्या निकै धेरै हुन सक्ने भएकाले कोरोना संक्रमणबाट नागरिकहरुलाई जोगाउन कुनै पनि कसर नराखी सरकार र सम्बन्धित निकायहरु लाग्नु पर्ने देखिन्छ,’ उनले भने।

‘विदेशबाट आउनेहरूसँग कुनै सम्पर्कमा नभएकाहरू पनि संक्रमित देखिनुले यो महामारी अब समुदायस्तरमा पुगिसकेको देखिन्छ, अहिले मुख्य गरेर भारतबाट ह्वात्तै नेपाल प्रवेश गरेकाहरू क्वारेन्टाइनमा छन् र उनीहरू लक्षित टेस्टहरु गरिएको छ। त्यसैले गर्दा अधिकांश संक्रमितहरू विदेशबाट आएका देखिए पनि देशभित्रै धेरै संक्रमितहरु छन्, जसलाई कसरी रोग सर्‍यो भनेर कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएको छैन,’ उनले भने।

क्यानडाको लोभलाग्दो जीवनशैली र जागिर छोडेर किन आए नेपाल?

डा. दिनेश न्यौपानेका पाँच सुझाव

कोरोना भाइरसको औषधी बन्दैन वा कोरोना भाइरसको खोप बन्दैन वा यो भाइरस आफै नहराएसम्म यो संक्रमण संसारबाट पूरै निर्मुल हुने सम्भावना नदेखिने न्यौपानेले बताएका छन्।

वुहानबाट फर्काइएका नेपालीहरुलाई जस्तै व्यवस्थित हिसाबले भारत र अन्य देशबाट आउने नागरिकहरूलाई पनि क्वारेन्टाइनमा राख्न सकिएको भए कोरोना नियन्त्रण गर्न अत्यन्त प्रभावकारी हुने उनको धारणा छ।

न्यौपानेले नेपाल सरकार वा सम्बद्ध अधिकारीहरूसँग अहिलेसम्म आफ्नो यस विषयमा कुनै प्रत्यक्ष सम्पर्क नभएको पनि बताए। कोरोना नियन्त्रण गर्न नेपाल सरकारलाई तपाईंको सुझाव के छ? भन्ने प्रश्नमा उनले पाँच बुँदे सुझाव दिएका छन्।

१. गुणस्तर तथा परिमाणको हिसाबले क्वारेन्टिन केन्द्रहरुको तत्काल सुधार गर्ने,

२. पालिका तह सम्म कन्ट्याक्ट ट्रेसिङको विस्तार गर्ने। अलि अलि कर्मचारीहरुको संख्या बढाएर मात्रै खास लाभ हुँदैन ।

३. पीसीआर परिक्षणका लागि श्रोतकोभन्दा पनि पद्धतिको अभाव देखिएको छ, त्यसैले त्यसलाई सम्बोधन गरी पीसीआर परिक्षण क्षमता बढाउने।

४. कोभिड–१९ को संक्रमणले गर्दा गम्भीर स्थितिमा पुगेका बिरामीहरूका लागि मात्रै भेन्टिलेटर, आइसोलेसन वार्ड, पर्याप्त पीपीई तथा एम्बुलेन्ससहितका अस्पतालहरु तयार गर्ने।

५. सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने तथा पटक पटक मिची मिची साबुन पानीले हात धुने लगायतका प्रतिकारात्मक व्यवहार अपनाउन समुदायको चेतना बढाउने र यसको कार्यान्वयन गर्ने।

प्रकाशित : १८ असार २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल