Logo

विचार

भावपूर्ण बिदाइ इरफान भाइ !



समसामयिक चलचित्र जगतका श्रेष्ठतम् अभिनेता इरफान खानको ५३ वर्षको युवा वयमै हिजो मुम्बईको एक अस्पतालमा निधन भयो। दुई वर्ष पहिले नयाँ किसिमको, आम रूपमा देखा परिनसकेको क्यान्सर रोगबाट पीडित भई उपचार गराइरहेका यी प्रतिभाशाली कलाकारको मृत्यु भने कोलाइटिसबाट भएको थियो।

साहबजादे इरफान अली खानको जन्म सन् १९६७ मा जोधपुर, राजस्थान भारतमा भएको थियो। उनले अभिनयलाई आफ्नो कला-साधनाको माध्यम बनाउने अठोट गरेर नयाँ दिल्लीको प्रख्यात राष्ट्रिय नाट्य विद्यालय (National School of Drama) बाट डिप्लोमा गरेका थिए। त्यस विद्यालयमा तालिम लिँदा उनी नेपाली कलाकार सुनील पोखरेलका सहपाठी र अनुप बरालका एक ब्याच वरिष्ठ थिए।

आफ्नो अतिसामान्य अनुहार र कदकाँठीका कारण इरफान हरेक किसिमका चरित्र-भूमिकाका लागि उपयुक्त साबित हुने कलाकारमा पर्दथे। अभिनय क्षमता त गज्जबको थियो नै उनमा। उनको आवाज भने त्यति प्रभावोत्पादक थिएन तर त्यस कमीलाई उनले विशिष्ठ भाव सम्प्रेषण, त्रुटिरहित शारीरिक भङ्गिमा र सम्वाद सम्प्रेषणको प्रभावशाली तरिकाबाट पूर्ति गर्ने गरेका थिए।

चाणक्य जस्तो लोकप्रिय टेलिसिरियलमा काम गरेर काँचको पर्दाको दुनियाँमा प्रवेश गरेका इरफानले आफ्नो फिल्मी कलाकारिताको यात्रा प्रख्यात इण्डो-केनेडियन निर्देशक मीरा नायरको फिल्म ‘सलाम बम्बे’ बाट शुरू गरेका थिए। त्यस फिल्ममा सानो भूमिकाबाट शुरू भएको फिल्मी कलाकारका रूपमा उनको सफर ३० वर्ष लामो रह्यो। आफ्नो ३ दशक लामो कला-यात्रामा इरफानले हासिल, मकबूल, लाइफ इन अ मेट्रो, पानसिंह तोमर, लञ्चबक्स, तलवार, पिकु, करीव करीव सिङ्गल, हिन्दी मेडियम, अंग्रेजी मेडियम जस्ता लगभग सबै नै उल्लेख्य र उत्कृष्ट हिन्दी फिल्महरूमा काम गरेर र आफ्नो बेजोड अभिनय क्षमता प्रमाणित गरिदिएका थिए।

इरफान खान।

उनले हलिउडका नेमसेक, लाइफ अफ पाइ, अमेजिङ स्पाइडरम्यान, इन्फेर्नो र जुरासिक वर्ल्ड गरी ५ वटा फिल्ममा काम गरेका थिए उनको कामबाट हलिउडका प्रख्यात निर्देशकहरू प्रभावित भएका थिए। उनले ४ पटक फिल्म्फेयर पुरस्कार, एक पटक राष्ट्रिय पुरस्कार र पद्मश्री पाएका थिए। इरफानको विवाह एनएसडीको बेलाकी सहपाठी मित्र र लेखिका सुतपा सिक्दरसँग भएको थियो। त्यस दम्पतिका २ छोरा छन्।

इरफानको असामयिक निधनले हिन्दी सिने-जगतका गुरुदत्त पादुकोण (३९ वर्षमा) मधुबाला देहल्वी (३६ वर्षमा) गीता बाली कपूर (३५ वर्षमा) गीता रोय दत्त (४१ वर्षमा) मीनाकुमारी “नाज” (३८ वर्षमा) सञ्जीवकुमार जरिवाला (४५ वर्षमा) बिमी (३४ वर्षमा) स्मिता पाटिल बब्बर (३१ वर्षमा) इन्द्रकुमार (४२ वर्षमा) आदि युवा-वयमै मृत्यु भएका ती धेरै कलाकारहरूको सम्झना भयो। यस सन्दर्भमा म इरफानका साथै ती सबै कलाकारहरूलाई पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल