Logo

समाचार

बेलायतको प्रतिष्ठित विश्वविद्यालयद्वारा प्रा. सुवेदीलाई महाविद्यावारिधि प्रदान



लन्डन, २७ चैत (जीएनएन) – प्रा. सूर्यप्रसाद सुवेदीलाई बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको छ।

सुवेदीले प्राज्ञिक क्षेत्रमा र खासगरी अन्तर्राष्ट्रिय कानून र मानव अधिकार कानूनको विकासमा दिएको योगदानको कदर गर्दै उक्त विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको हो।

उपकुलपतिबाट सोसम्बन्धी पत्र पाउँदा आफू हर्षित भएको प्रा. सुवेदीले बताए। उक्त विश्वविद्यालयबाट करिव ३० वर्षअघि प्रा. सुवेदीले विशिष्ट श्रेणीमा प्रथम भइ अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गरेका थिए।

त्यसपछि सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए। गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले दुई वर्ष लगाइ उनका सबै प्रकाशित कृतिको मूल्यांकन गरी महाविद्यावारिधि उपाधि प्राप्त गर्न उपयुक्त ठहराइ सो उपाधि प्रदान गरेको थियो।

यस वर्ष अक्सफोर्डले प्रा. सुवेदीको नाममा स्नातक तह र विद्यावारिधिमा गरी दुईवटा वार्षिक पुरस्कार स्थापना गरेको थियो।

यसरी बेलायतका दुई वटा प्रतिष्ठित विश्वविद्यालयबाट दुई वटा महाविद्यावारिधि पाउने व्यक्ति विद्याको खानी भनेर जानिएको मुलुक बेलायतमै विरलै छन्।

लमजुङबाट ल क्याम्पस हुँदै बेलायतको अक्सफोर्ड र हल विश्वविद्यालयमा अध्ययन गरेका प्रा. सुवेदीले संसारका ५ वटा देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन्।

उनले नेपाल र बेलायत सरकारका अतिरिक्त अन्य देश लाई पनि कानूनी सल्लाह दिएका छन्। उनका आठवटा अन्तर्राष्ट्रियस्तरका ग्रन्थ र थुप्रै प्राज्ञिक लेखहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन्।

उनका कृतिहरु चिनियाँ र फारसी भाषा लगायतका विदेशी भाषामा अनुवाद भइ प्रकाशित भएका छन्। हाल उनी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनको प्राध्यापकका रुपमा कार्यरत छन्।

प्रकाशित : २७ चैत्र २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल