Logo

राजनीति

नेपाली कांग्रेसद्वारा कोरोना स्व-परीक्षण वेबएप सार्वजनिक, घरमै कोरोनाको लक्षण जाँच्न सकिने



काठमाडौँ, २४ चैत – नेपाली कांग्रेसले विशेषज्ञ चिकित्सकहरुको परामर्शमा सोमबार कोभिड १९ परीक्षणसम्बन्धी एउटा वेबएप जारी गरेको छ।

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइटमार्फत वेबएप जारी गरेको हो। वेबएपमार्फत घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परीक्षण गर्न सकिने छ।

नेपाली कांग्रेसका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कसैमा कोरोना संकेत देखिए भौतिक परिक्षण र उपचारका लागि प्रेरित गर्ने र नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने छ यो वेबएपले।’

नागरिक पंक्तिमा कोरोना जोखिम बारेको सचेतना थप अभिवृद्धि गराउनका लागि एप जारी गरिएको शर्माले बताएका छन्। ‘भौतिक रुपले परिक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने छ,’ शर्माले भनेका छन्।

संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्‍याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने विश्वास नेपाली कांग्रेसले लिएको छ।

वेबएप निर्माण गर्न नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा. अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएसनका उपाध्यक्ष डा. अनिलविक्रम कार्की र फोक्सो रोग विशेषज्ञ डा. अशेष ढुंगानासँग परामर्श गरिएको थियो।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सका पूर्व केन्द्रीय सदस्य शशांकश्री न्यौपाने र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सका पूर्व महासचिव दीपेश बिष्टले वेबएप निर्माण गरेका हुन्।

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल