Logo

राजनीति

‘प्रधानमन्त्रीज्यू, कोरोना संक्रमण रोकथाम गर्न सर्वदलीय समिति गठन होस्’



स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न निर्देशिका जारी गरियोस्ः सरिता गिरी

काठमाडौं, १७ फागुन – समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीले सर्वदलीय समिति गठन गरी कोरोना संक्रमण रोकथामका लागि जुट्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

समाजवादी पार्टी संसदीय दलकी उपनेता गिरीले सोमबार प्रेस विज्ञप्ति जारी गरी क्वारेन्टाइन र आइसोलेसनमा रहेका जनताको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नका लागि तत्काल निर्देशिका जारी गर्न सरकारसँग माग गरेकी हुन्।

‘कोरोना भाइरसको संक्रमणको आशंकामा अहिलेसम्म तीन जना नेपालीको मृत्यु भइसकेको छ, उनीहरू सरकारले निर्धारण गरेका स्थानमा बस्दा ज्यान गएको छ, तीन जनामध्ये एक जनाको पोखराको क्वारेन्टाइनमा मृत्यु भएको छ, एक जना बुटवलको क्वारेन्टाइनमा एक जना पाटन अस्पताल काठमाडौंमा ज्यान गुमाएका छन्, तीनै जनाको मृत्युको कारणबारे केही निश्चित रुपले भनिएको छैन, पाटन अस्पतालमा आइसियूमा राख्दा पनि बिरामीको रोगको जाँच हुन नसकेको देखिन्छ,’ गिरीले विज्ञप्तिमा भनेकी छिन्।

तीनै जनाको नमूना उनीहरुको मृत्युपछि संकलन गरी टेकु अस्पतालमा पठाइएको सम्बन्धित सरकारी अधिकारीहरुको भनाइ रहेको र अर्थात् मर्नुभन्दा अघि उनीहरुको रोग पत्ता लगाउन उनीहरुको मेडिकल जाँच नभएको देखिने गिरीले बताएकी छिन्।

आशंकाको आधारमा क्वारेन्टाइन वा आइसोलेसनमा वा आइसियूमा उनीहरुलाई राखेको प्रष्ट भएको बताउँदै गिरीले तीन जनाको मृत्युको कारणबारे सरकारले मौनता धारण गरेको टिप्पणी गरेकी छिन्।

‘यसले सरकारको स्वास्थ्यसेवा व्यवस्थाबारे धेरै प्रकारको शंका–उपशंका जनताको मनमा उत्पन्न गराएको छ, यस्तो परिणााम सरकारका लागि नैतिक जिम्मेवारीको विषय पनि हुनुपर्छ किनभने मानिसहरू बिना उपचार ज्यान गुमाएका छन्,’ उनले भनेकी छिन्।

‘कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समितिको गठन उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको अध्यक्षतामा लगभग २ महिनाअघि भएको थियो, तर उक्त समिति विफल भइसकेको छ, साथै कोरोना संक्रमणको रोकथामका लागि चीनबाट सरकारले खरीद गरेको सामान अत्यन्त ढिलो खरीद गरी नेपालमा ल्याएको र त्यसमा पनि ठूलो आर्थिक घोटाला भएको समाचार सर्वत्र आइरहँदा स्वास्थ्यमन्त्रीले त्यसबारे जवाफ लिन आवश्यक नरहेको भनेपछि ठूलो नैतिक संकट सिर्जित भएको छ,’ गिरीले भनेकी छिन्।

सामानहरु तीन दिनअघि मात्र आएको र हिजोको जानकारी अनुसार प्रदेश स्तरमा टेस्ट सेन्टर स्थापनाका लागि अझ एक हप्ता लाग्ने हुनाले सरकारले अत्यन्त आवश्यक समयमा कोरोना संक्रमणको शका लागेका व्यक्तिहरुलाई जाँच गराउने सुविधा सुनिश्चित गराउनमा असफल भएको उनको तर्क छ।

‘कोरोना संक्रमण रोकथामको विषय सम्पूर्ण नेपाली जनताको जीवन र स्वास्थ्यसम्बन्धी नैंसर्गीक र मौलिक अधिकारको विषय हो, तर संविधानले सुनिश्चित गरेको जनताको स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको रक्षा गर्नमा विफल रहेको देखिन्छ,’ विज्ञप्तिम भनिएको छ, ‘समिति सदस्य रहेका स्वास्थ्यमन्त्री पनि आर्थिक अनियमितता सम्बन्धी विवादमा परिसकेको हुनाले यस समितिको औचित्य समाप्त भइसकेको छ।’

त्यसैले यो समितिलाई विघटन गरी सर्वदलीय ‘कोरोना संक्रमण रोकथाम समिति’ गठन गर्न गिरीले प्रधानमन्त्री केपी ओलीसँग माग गरेकी छिन्।

सांसद गिरीले आइतबार सप्तरीको बलानबिहुल गाँउपालिका–३ का हरेकृष्ण साह र चन्द्र यादवलाई औषधि खरीद गरी गाउँ फर्किने क्रममासशस्त्र प्रहरीले गरेको ज्यादतीको छानवीन र दोषीलाई कारबाही गर्न पनि उनले माग गरेकी छिन्। पीडितहरुलाई क्षतिपूर्ति दिन उनको माग छ।
सशस्त्र प्रहरी बलको मानसिक स्वास्थ्य जाँच गर्न पनि गिरीले गृहमन्त्रीको ध्यानाकर्षण गराएकी छिन्। ‘हिजोको घटनाको जिम्मेवारी स्वीकार गर्दै गृहमन्त्रीले पीडित पक्षसँग माफी माग्नपर्छ,’ नेतृ गिरीले भनेकी छिन्।

प्रकाशित : १७ चैत्र २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल