Logo

राजनीति

गाजियावादमा अलपत्र नेपालीहरूको यथाशीघ्र उद्दार गरियोस्: अर्जुननरसिंह केसी



काठमाडौं, १३ चैत – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भारतको नयाँदिल्लीनजिकै रहेको गाजियावादमा अलपत्र रहेका ८० जना नेपालीको उद्दार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेता केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मुम्बईबाट नेपाल फर्किएका नेपालीहरूको उद्दार गर्न माग गरेका हुन्। ‘मुम्बईबाट स्वदेश फर्किनका लागि रेलमा आएका करिब ८० जना नेपालीहरू भोकै–प्यासै बीच बाटोमा अलपत्र र उपायहीन अवस्थामा रोकिएको र हालसम्म उनीहरूको कतै–कसैबाट उद्धार नभएको स्थितिप्रति अत्यन्त दुःखित छु,’ केसीले विज्ञप्तिमा भनेका छन्।

डेढमहिनाको बच्चासहितकी सुत्केरी महिला पनि रहेको र भोकभोकै रहेको बच्चाले आमाको दूध पनि खान नपाएको हृदयविदारक, कारुणिक अवस्था देखिएको उल्लेख गर्दै उनले तत्कालै उद्दार गर्न केसीले माग गरेका छन्।

एकातिर कोरोना भाइरस महामारीको संकट, अर्कातिर सर्वत्र सुनसान परिस्थितिमा यी नागरिकहरू बसिरहेको होटलबाट निकालिएर सडकमा अलपत्र अवस्थामा रहनु साह्रै गम्भीर अन्याय र शारीरिक तथा मानसिक यातना भएको केसीको भनाइ छ।

‘अघिल्लो महिना चीनको वुहानमा कष्टकर अवस्थामा रहेका एक सय ७० नेपाली नागरिकहरूलाई जसरी सरकारले आफ्नै विमान पठाएर स्वदेश ल्याउने स्वागतयोग्य काम गरेको थियो,’ केसीले भनेका छन्, ‘संकटको यस अवस्थामा स्वदेश फर्किन चाहने तर उपयहीन अवस्थामा अलपत्र परेका आफ्ना नागरिकहरू जहाँ भए पनि स्वदेश फर्काउन सरकारले यसैगरी विशेष प्रबन्ध मिलाउनुपर्छ भन्ने मेरो दृढ मान्यता र जोडदार माग छ।’

नेपालमा जस्तै भारतमा लकडाउनको कारण अलपत्र परेका ती नागरिकहरूले चाहेर पनि स्वयं प्रबन्ध मिलाएर नेपाल फर्किन सक्ने अवस्थामा नभएकोले आफ्ना नागरिकहरूप्रति जिम्मेवारी लिनुपर्ने राज्यको अनिवार्य दायित्व रहेको केसीले बताएका छन्।

केसीले यो संकटपूर्ण अवस्थामा तिनीहरूको यथाशीघ्र उद्दार गरी स्वदेश ल्याउन र आवश्यकता अनुसार क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाउन ढिलाई नगर्न सचेत गराएका छन्।
‘यसका लागि नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा जो चाहिने निर्देशन तत्काल दिइयोस् भनी म नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु,’ उनले भनेका छन्।

यो संघर्ष समग्र नेपाली र कोरोनाबीचको रहेका उल्लेख गर्दै केसीले भनेका छन्, ‘हामी नेपाली मात्र हौं धनी, गरीब, जाति धर्म, क्षेत्र र राजनीतिबाट माथि उठेर यो महामारीसँगको संघर्षमा एक भएर समर्पित हुनु यस परिस्थितिमा हाम्रो साझा कर्तव्य हो।’

लकडाउनलाई पूर्ण राष्ट्रिय समर्थन रहेको भए पनि हरेक दिन काम गरेर परिवारको पालनपोषण गर्नुपर्नेहरुको दुर्दशा पूर्ण अवस्थाको समाधान गर्न तुरुन्त राहत प्याकेजको व्यवस्था गर्न केसीले माग गरेका छन्।

चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका निमित्त पीपीई, परीक्षण कीटको अझै अभाव रहेको बताउँदै केसीले परीक्षण व्यापक बनाउँदै हरेक जिल्लामा केन्द्र तोकेर साधनस्रोत, दक्ष जनशक्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले दैनिक आवश्यकीय सामग्रीको माग, आपूर्ति र बजार व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई सचेत गराएका छन्।

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल