Logo

राजनीति

संघीय मञ्च अध्यक्ष कुमार लिङदेनको प्रश्न, ‘सरकारले जनताको मृत्यु पर्खिएको हो?’



‘सरकार भएको अनुभूति जनतालाई होस्, नत्र आन्दोलन’

काठमाडौं, ५ चैत – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले कोरोना भाइरसको विश्वव्यापी संक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले इच्छाशक्ति नदेखाएको बताएका छन्।

अध्यक्ष लिङदेनले तत्काल सबै अन्तर्राष्ट्रिय नाकाहरू बन्द गरेर नागरिकको जिउँज्यानको सुरक्षा गर्न सरकारसँग माग गरेका छन्।

स्वदेश फर्किन चाहने बाहेक सबै विदेशी पर्यटकको आगमन तत्काल बन्द गर्न र अन्तर्राष्ट्रिय नाकाहरूमा प्रभावकारी कडाइ गर्न लिङदेनले सरकारलाई सचेत गराएका छन्।

‘कोरोनाको संक्रमणबाट अहिलेसम्ममा एक सय ६५ देश प्रभावित बनिसकेका छन्, एक लाख ९८ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, सात हजार ९ सय ८८ जनाको ज्यान गएको छ, र ८२ हजार ७ सय ६२ जना निको भएर घर फर्किएका छन्,’ अध्यक्ष लिङदेनले प्रश्न गरे, ‘सरकार किन रमिता हेरिरहेको छ?’

भारतको केरलास्थित श्री चित्र तिरुनाल इस्टिच्यूट फर मेडिकल साइन्स एन्ड टेक्नोलोजी अस्पतालमा कार्यरत ४३ जना डाक्टरलाई कोरोना भाइरसको संक्रमण पुष्टि तथ्य प्रस्तुत गर्दै लिङदेनले भारतसँगका नाकाहरूमा थप कडाइ र सुरक्षा सतर्कता अपनाउन सुझाव दिएका छन्।

‘कि केपी ओली नेतृत्वको सरकारले नागरिकको मृत्युको प्रतिक्षा गरेको हो?, होइन भने विश्वव्यापी संक्रमणको त्रासमा जनता रहेका बेला प्रभावकारी कदम किन चाल्न सकिरहेको छैन,’ उनको प्रश्न छ।

‘रोम जलिरहेको निरोले बाँसुरी बजाइरहे’ भन्ने उखानसँग सरकारको कार्यशैली मिलेको लिङदेनको टिप्पणी छ। ‘जनताले अनुभूति गर्न सक्ने गरी काम भएको छैन, सरकारले कहिले बुझ्छ?,’ उनले भने।

कोरोना संक्रमणको त्राससँगै कालोबजारी बढेको टिप्पणी गर्दै अध्यक्ष लिङदेनले कार्यविधि बनाएर बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

‘सरकार भएको अनुभूति जनतालाई होस्, त्रासको वातावरणबाट मुक्त गराइयोस्, होइन भने सशक्त आन्दोलनको उद्घोष गर्नुको विकल्प रहँदैन,’ लिङदेनले भने।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल