Logo

आर्थिक

किसानलाई क्षमताका आधारमा अनुदान सहयोग दिनुपर्नेमा जोड, भक्तपुरका किसान स‌ंगठित



काठमाडौं – किसानलाई उनीहरूको कामको क्षमताको आधारमा अनुदान वितरण गर्नुपर्ने, सही र व्यावसायिक किसानको पहिचान हुनुपर्ने, नीतिमा भन्दा व्यवहारमा वितरण गरिएको कृषि अनुदानले मात्र उत्पादनलाई प्रभावकारी बनाउने बताइएको छ।

‘राज्यले कृषकलाई नारा होइन, व्यवहारले सहयोग गरौँ’ भन्ने नारा स्थापित गर्दै काठमाडौं र भक्तपुरका किसानहरूले एक कार्यक्रमको आयोजना गरी साक्षात्कार गरेका छन्। देशका विभिन्न स्थानमा व्यवसायीक पशुपालन तथा कृषकहरूको समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा भक्तपुरको निलबाराहीमा भेला भएका सहभागीहरूले सामुहिक रूपमा आफ्ना धारणा राखेका हुन्।

कार्यक्रममा बागमती प्रदेश सांसद् मनीराम फुँयालले किसानहरुको योग्यता र उत्पादन क्षमताका आधारमा प्रदेश सरकारले अनुदान वितरण गर्दै आएको दाबी गरे। उनले सरकारले किसानको घरदैलोमा पुगेर उनीहरूको कामको मुल्यांकन गरी सरकारी अनुदान र प्राविधिक सेवा उपलब्ध गराउनुपर्ने बताए।

कार्यक्रममा पशु सेवा विभागका उपमहानिर्देशक डा. दिरकदेव भट्टले अझै पनि किसानहरूका घरदैलोमा प्राविधिकहरू सहज रूपमा पुग्न नसकेको तर आगामी दिनमा स्थानीय निकायमार्फत् प्राविधिकहरूले पशुपंक्षी पालक किसानहरूलाई सेवा प्रदान गर्ने बताए। पशुपंक्षी बीमालाई प्रभावकारी बनाउन किसानहरूमा सचेतनाको आवश्यकता भएको उनको भनाई थियो।

कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख निर्मल गदालले किसानका खास समस्या समाधानका लागि ज्ञान केन्द्रले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए। कृषि अनुदानको विषयलाई औंल्याउँदै उनले भने, ‘कतिपय अवस्थामा अनुदान आह्वानमा थोरै बजेटले धेरै किसानलाई सहयोग गर्न नसकेकोले किसानहरुको गुनासो आउने गरेको छ।

पर्याप्त कार्यक्रममा बजेट विनियोजन गर्न नसक्दा भनेजति किसानहरुलाई अनुदान सहयोग उपलब्ध गराउन नसकिएको बताए । उनले आगामी बर्षदेखि किसानको घरदैलोमा पुगेर नै अनुदान सहयोग बितरण गर्ने भन्ने बिषयमा मन्त्रालय र विभागमा छलफल चलिरहेको जानकारी दिए।

कार्यक्रममा नयाँ कृषि अभियान सहकारीका मिनप्रसाद गैरे, पशुसेवा विभागका प्रबक्ता चन्द्र ढकाल लगायतले किसानका समस्या र चुनौतिका विषयमा विचार ब्यक्त गरेका थिए।

कार्यक्रममा किसानहरुले सहकारीको माध्यमबाट संगठीत भएर देशको आर्थिक बिकासमा योगदान दिन र निर्बाहमुखी खेती प्रणालीलाई ब्यवसायीकरण गरी आधुनिक प्रणालीमा रुपान्तरण गरेमा मात्र कृषि र किसानको भविश्य सुनिश्चित हुने बताईएको छ ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय किसानहरुले किसानका समस्या र सरकारी अनुदान रकमको पहुँच तथा बजार व्यवस्थापनमा सरकारले खेल्नु पर्ने भूमिकाको बिषयमा आवाज उठाएका थिए । उनीहरुले सरकारी अनुदान पहुँच र पावरका भरमा वितरण गरिएकोले वास्तविक किसानले पाउन नसकेको प्रति गुनासो समेत गरेका छन ।

चम्पादेवी कृषक समूह कागेश्वरी मनोहरा, काठमाडौ र नव निलबाराही मिश्रित कृषि समूह, मध्यपुरथिमी, भक्तपुरको संयुक्त आयोजनामा तय गरिएको अन्तक्र्रिया तथा बनभोज कार्यक्रममा काठमाडौ र भक्तपुर जिल्लाका करिब एक सय ब्यवासायीक किसानहरुको सहभागिता रहेको थियो । कार्यक्रम चम्पादेवी कृषक समूहका अध्यक्ष तारा भण्डारी तथा सञ्चालन शान्ता कार्कीले गरेकी थिईन । कार्यक्रममा स्थानीय कलाकारहरुले सांगितिक मनोरञ्जन प्रदान गरेका थिए ।

व्‍यावसायिक किसानहरु संगठित

भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नं. ७ र ८ मा विभिन्न गाईपालन, बाख्रा तथा पंक्षी पालनमा संलग्न र तरकारी खेती व्‍यवसायमा क्रियाशील किसानहरुले समूह गठन गरी सामुहिक अभियान सञ्चालन गर्दै आएका छन् ।

चम्पादेवी कृषक समूहमा तीस जना भन्दा बढी व्‍यावसायिक किसानहरुको संलग्नता रहेको छ भने नव निलबाराही मिश्रित कृषि समूहमा करिब चालिस किसानहरुको आवद्धता रहेको समूहको कोषाध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिए ।

किसानहरुले समुहगत रुपमा किसानका समस्याका बिषयमा स्थानीय स्तरमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको यो क्षेत्रमा पहिलो भएको यमन पशुपंक्षी तथा कृषि फार्मका सञ्चालक घमण्डबहादुर श्रेष्ठ बताउँछन । यहाँ किसानहरुले साझा रुपमा एक किसान हित कोषको स्थापना गर्ने समेत जनाएका छन्।

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल