Logo

समाचार

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि, यसरी गरिँदैछ तयारी



काठमाडौं, २० फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेबाट शुरु गरिने चिकित्सकहरूले बताएका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. अरुण सायमीका अनुसार मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा भएको छ।

बिहान ९ बजे शुरू हुने मिर्गौला प्रत्यारोपण चार घण्टाभन्दा धेरै चल्ने छ। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न नेपाली चिकित्सक टोली खटिने छ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणअघि डायलाइसिस मंगलबार गरिएको छ। सोमबार अस्पताल भर्ना भएका ओलीको मिर्गौला प्रत्यारोपणअघि मंगलबार डायलासिस गरिएको हो।

मंगलबार बिहान १० बजे मिर्गौला डाइलासिस गरिएको त्रिवि शिक्षण अस्पताल का निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका हुन्। उनका अनुसार प्रत्यारोपण अघि गरिने स्वास्थ्य परीक्षण भइरहेको छ।

ओलीलाई उनलाई भाञ्जी नाता पर्ने समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला प्रदान गर्दैछिन्। मिर्गौला प्रत्यारोपण गर्नुअघि रगतमा हुने टक्सिन निकाल्न ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरिएको छ।

प्रधानमन्त्री ओलीलाई मंगलबार राति १० बजेदेखि आहार नदिने अस्पताल स्रोतले बताएको छ। झण्डै १२ वर्षअघि ओलीका दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साल साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको बताएका थिए।

अस्पताल जानुअघि ओलीले आफ्नो सिङ्गो जीवन कहिले निरङ्कुशताविरुद्ध लोकतन्त्रका लागि सङ्घर्ष, कहिले राष्ट्रियहित तथा स्वाभिमानका लागि सङ्घर्ष, त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेसँगको सङ्घर्षलगायत कुनै न कुनै किसिमको सङ्घर्षमा बित्दै आएको उल्लेख गरे।

मुलुकमा व्याप्त यसप्रकार विविध समस्यासँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न बाध्य हुन पुगेको उनले बताए।

ओलीले मिर्गौला प्रत्यारोपणपछि केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कने विश्वास व्यक्त गरेका छन्।

मिर्गौला पुनः प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुनुअघि भिडियो सन्देश जारी गरी उनले भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर आफू अलप नहुने बताए।

‘कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौँ, त्यसलाई ब्युँत्याउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईहरु सबैले आफूलाई उभ्याउनुभयो, यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौँ, जसरी खेलका बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न, संसारमा कोही पनि अजम्बरी छैन, मेरो यो सङ्कल्प पनि अजम्बरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ, म पुनःएक पटक आग्रह गर्दछु मेरो स्वास्थ्यलाई लिएर यहाँ ढुक्क रहनुस्,’ ओलीले भने।

प्रकाशित : २० फाल्गुन २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल